• ८ माघ २०८१, मङ्गलबार

सोह्र गुणा बढ्यो चिनी आयात

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, माघ ८ गते । भारतबाट नेपालगन्ज हुँदै भित्रिने चिनीको आयात अत्यधिक बढेको छ । विगतमा चिनीसहित चामल, दाल र सुती कपडाको आयात घटेकोमा अहिले बढ्न थालेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा नेपालगन्ज नाकाबाट यी सबै वस्तुको आयातमा उल्लेख्य वृद्धि भएको हो । 

गत वर्ष सबैभन्दा धेरै घटेको चिनीको आयात समीक्षा महिनामा सोह्र गुणाले वृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार गत आव २०८०/८१ को छ महिनामा ८४ लाख ७३ हजार रुपियाँको चिनी आयात भएकोमा चालु आवको सोही अवधिमा सोह्र गुणाले वृद्धि भई १४ करोड १२ लाख ९२ हजार रुपियाँको चिनी आयात भएको छ । 

गत आवको छ महिनामा चिनी आयातबाट ३९ लाख ८९ हजार रुपियाँ राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा छ करोड २३ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन भएको पनि कार्यालयले जनाएको छ ।

चामल आयात पनि बढेको कार्यालयले जनाएको छ । गत आवको छ महिनामा दुई अर्ब २६ करोड ८९ लाख ९० हजार रुपियाँको चामल आयात भएकोमा चालु आवको सोही अवधिमा दुई अर्ब ९२ करोड १७ लाख ९४ हजारको चामल आयात भएको छ । 

चामल आयातबाट २५ करोड ९८ लाख २९ हजार रुपियाँ राजस्व सङ्कलन भएकोमा चालु आवमा ३० प्रतिशतले वृद्धि भई ३३ करोड ८१ लाख ९२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । 

दालको आयात पनि बढेर ८२ करोड १० लाख १५ हजार रुपियाँ पुगेको छ । गत आवको छ महिनामा यो नाकाबाट ७१ करोड ५५ लाख ५० हजार रुपियाँको दाल आयात भएको थियो । नेपालगन्ज नाकाबाट आयातमा वृद्धि भएका चिनी, चामल, दाल र सुती कपडा सबैभन्दा बढी अवैध आयात हुने सामानमा पर्छन् । 

चालु आवमा तस्करी र अवैध आयातमा कडाइ गरिएकाले वैध आयात वृद्धि भएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

सङ्घका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओलीले अवैध आयात बढेपछि वैध आयात घट्ने गरेको जनाउँदै अहिले वैध आयात बढ्नुको अर्थ अवैध आयात घटेको नै मान्नुपर्ने बताउनुभयो । उहाँले त्यसका साथसाथै माग र खपत बढ्दा पनि आयात वृद्धि हुने गरेको बताउनुभयो ।