• १२ साउन २०८१, शनिबार

धन्यवादका लागि उम्मेदवारहरु मतदाताको घरमा

blog

बेलिना थापा

लमजुङ, जेठ ११ गते । लमजुङका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु चुनावपछि पनि मतदाताको घर पुग्न छाडेका छैनन् । निर्वाचनअघि प्रतिवद्धताका साथ मतदाताको घर घरमा पुगेका उहाँहरु निर्वाचन पछि धन्यवाद दिनका लागि घरमा पुगिरहेको बताउनुभएको छ ।

चुनाव जितेपछि नेताले वास्ता गर्दैनन् भन्ने नागरिकको गुनासालाई चिर्दै जनप्रतिनिधिहरु नागरिकलाई भेट्न पुगेको दावी गर्नुभएको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा निर्वाचित जनप्रतिनिधिहरुले गाउँ गाउँ पुग्ने, मतदातालाई धन्यवाद दिने र उनीहरुको पिरमर्का बुझ्ने गरिरहनुभएको छ । 

बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ लगायतको टिम गाउँमा पुगेको छ । नव–निर्वाचित प्रमुख अर्यालले नागरिकलाई चुनावअघि मात्र नभएर चुनावपछि पनि भेट्न गएको बताउनुभयो । 

‘उम्मेदवारहरु गाउँ जाँदा चुनाव जित्नकै लागि गाउँ आयो । जितेर गएपछि वास्ता गर्दैनन् भन्ने चलन छ । तर, हामीले त्यस्तो गरेनौं । चुनाव अघि जति महत्वकासाथ गयौं, अहिले पनि सोही महत्वकासाथ गयौं’ उहाँले भन्नुभयो । 

उपप्रमुख पद्मा गुरुङले स्थानीय तह निर्वाचन २०७९ मा अमूल्य मत दिएर बिजयी गराएको भन्दै मतदातालाई धन्यवाद ज्ञापन गर्न गाउँ पुगेको बताउनुभयो । चुनाव अघि गरेका प्रतिवद्धता पूरा गर्ने उहाँले पुनः दोहो¥याउनुभयो ।  

सुन्दरबजार नगरपालिकाका नव–निर्वाचित प्रमुख कृष्णप्रसाद कोइरालाले नगरपालिका भित्रका गाउँँ पुगेको बताउनुभयो । चुनावअघि भोट माग्न र चुनाव पछि धन्यवाद दिन आफूहरु त्यहाँ पुगेको बताउनुभयो । नगरपालिकाका सबैजसो गाउँमा पुगेर धन्यवाद दिएको उहाँले बताउनुभयो । 

उपप्रमुख भवानी केसीले भोट दिएर बिजयी गराउनेलाई गाउँमै पुगेर धन्यवाद दिएको बताउनुभयो । मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा पनि घरदैलो अभियानमा हुनुहुन्छ । 

नौ वटा वडा रहेको गाउँपालिकाका गाउँमा पुग्ने गरेको अध्यक्ष गुरुङले बताउनुभयो । ‘चुनावमा विभिन्न एजेण्डा लिएर गएका थियौं । त्यसलाई मन पराएर हामीलाई जिताउनुभयो । अमूल्य मतको सम्मानका लागि गाउँ जाने, धन्यवाद दिने, रमाइलो गर्ने, दुःख सुःखका कुरा सुन्ने गरेका छौं’ उहाँले भन्नुभयो, ‘हामीले गरेका प्रतिवद्धता अवश्य पूरा गरेर छाड्नेछौं । नागरिकलाई दुःखी बनाउने छैनौं ।’

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले मतदातालाई धन्यवाद दिनका लागि गाउँघर जाने अभियानमा व्यस्त रहेको बताउनुभयो । नागरिकको माया र प्रेमले चुनाव जित्न सफल भएको भन्दै मतदाता भेट्न पुगेको बताउनुभयो । आफूले गरेका प्रतिवद्धता पूरा नभएमा झकझकाउन पनि अनुरोध गरेको जानकारी दिनुभयो । नागरिकको आवश्यकता र माग अनुसार नै अघि बढ्ने उहाँको भनाई छ ।  

कव्होलासोंथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले मतदातालाई भेट्न गाउँ पुग्ने कार्यमा लागेको बताउनुभयो । बिजयी भएपछि मतदातालाई धन्यवाद दिनुपर्ने भन्दै गाउँघर पुग्ने, नागरिकको घर पुग्ने, समस्या बुझ्ने गरेको बताउनुभयो । 

मतदातालाई चुनावअघि दिएका आश्वासन पूरा गर्ने उहाँले बताउनुभयो । अन्य पालिकाका प्रमुख–अध्यक्ष, उपप्रमुख–उपाध्यक्ष लगायत पनि मतदातालाई धन्यवाद दिन गाउँ पुगेका छन् ।