• १३ साउन २०८१, आइतबार

दैलेखमा जिसस गठन गर्न गठबन्धनको प्रयास

blog

कमल शर्मा

दैलेख, जेठ ११ गते । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भए सँगै जिल्ला समन्वय समिति गठनका लागि कुनै पनि पार्टीको एकल बहुमत नपुग्ने भएको छ ।

कुल ११ स्थानीय तहमा रहेको दैलेखमा दुई नगरपालिका प्रमुख÷उप प्रमुख, दुई गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष र एक नगरपालिका उपप्रमुख र एक गाउँपालिका उपाध्यक्ष जित्दै २२ प्रमुख पदमध्ये नेकपा एमालेले १० पदमा विजयी भएको छ ।

नेपाली काँग्रेसले एक नगरपालिका प्रमुख÷उप प्रमुख, दुई गाउँपालिका प्रमुख, उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्षमा विजयी हँुदै नौ पदमा विजयी भएको छ । माओवादी केन्द्रले दुई गाउँपालिका उपाध्यक्ष र एकीकृत समाजवादी पार्टीले एक पालिका उपाध्यक्षमा विजयी भएको छ ।

नेपाली काँग्रेसले पाँच स्थानीय तहमा नौ पालिका प्रमुख–उपप्रमुख र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १० वटा प्रमुख–उपप्रमुख जितको भए पनि दुवै दलले जिल्ला समन्वय समिति गठन गर्न बहुमत नपुग्ने भएपछि जिल्ला समन्वय समितिको नेतृत्वका लागि दैलेखमा नेकपा माओवादी (केन्द्र) निर्णायक भूमिकामा देखिएको छ ।

जिल्ला समन्वय समितिका लागि एमाले र काँग्रेसको प्रस्ट बहुमत नदेखिएकाले माओवादी केन्द्रले कसरी र कसलाई समर्थन गर्छ भन्ने विषय प्रमुख देखिएको छ । पाँच दलीय गठबन्धनको निर्णय विपरीत एकीकृत समाजवादी पार्टीसँग छुट्टै गठबन्धन गरेर निर्वाचन जितेको माओबादीले नेपाली काँग्रेस संग सहकार्य नगर्ने सम्भावना बढ्दै गएको छ ।

नेकपा (माओवादी केन्द्र) दैलेखका संयोजक प्रेम कटुवालले जिल्ला समन्वय समिति दैलेखको नेतृत्वका लागि सकेसम्म गठबन्धनका दलहरूबिच सहमति गरेर टुङ्ग्याने विषयमा आफूहरू तयार रहेको बताउनुभयो ।

उहाँले काँग्रेसले माओवादीले प्रमुख जितेका स्थानमा सहयोग गर्ने वातावरण तयार गरेपछि समन्वयमा नेतृत्व टुङ्ग्याउन सहज हुने कटुवालले बताउनुभयो । भगवतीमाई र नौमुलेमा काँग्रेसले हामीलाई सरकार सञ्चालनका लागि सहयोग गरेको खण्डमा जिल्ला समन्वयको नेतृत्व गठबन्धनबाटै टुङ्गिन सक्छ ।  

एकीकृत समाजवादी पार्टीका नेता जङ्गबहादुर शाहीले जिल्ला समन्वयमा नेपाली काँग्रेससँग गठबन्धन हुने सम्भावना कम भएको बताउनुभयो । उहाँले काँग्रेसले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनको निर्णय विपरीत उम्मेदवारी दर्ता गरेको बताउँदै नेकपा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने सम्भावना रहेको बताउनुभयो ।

नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले गठबन्धनका दलहरूबिच जिल्ला समन्वय समितिको नेतृत्व बाँडफाड हुने बताउनुभयो  । उहाँले माओवादीले प्रमुख जितेका पालिकाहरूमा स्थानीय सरकार सञ्चालनका लागि कार्यपालिकामा काँग्रेसले सहयोग गर्ने कुराको वार्ता भइरहेको बताउँदै सभापति रेग्मीले भन्नुभयो, ‘‘माओवादी केन्द्रलाई जिल्ला समन्वय समितिको उपप्रमुख दिएर जान सकिने सम्भावना रहेको छ ।’’

एमाले दैलेखका उपाध्यक्ष प्रेमबहादुर बुढाले समन्वयको नेतृत्वका लागि अहिलेसम्म कसैसँग कुनै छलफल नभएको बताउँदै समन्वय  प्रमुख वा उपप्रमुख दिएर जान सकिने कुरामा एमाले तयार रहेको बताउनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत प¥याएर जिल्ला समन्वय गठन गरेको थियो ।