• १२ असार २०८१, बुधबार

मटिहानी नगरमा वारुणयन्त्र खरिद तथा कक्षा ११ का छात्रालाई साइकल दिने

blog

मटिहानी नगरपालिका प्रमुख हरिरप्रसाद मण्डल , तस्विर –महेशकुमार दास

महेशकुमार दास 

जलेश्वर, जेठ ११ गते । मटिहानी नगरपालिकामा दोस्रो पटक प्रमुखको पदभार ग्रहण गर्नु भएका हरिप्रसाद मण्डलले पहिलो निर्णयमा वारुणयन्त्र खरिद गर्ने र कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गर्नुभएको छ ।  

बुधबार दोस्रो कार्यकालको जिम्मेवारी लिँदै प्रमुख मण्डलले दुई वटा निर्णयमा हस्ताक्षर गरी स्वीकृत गर्नुभएको हो ।

ती दुई निर्णय मध्ये नगर क्षेत्र भित्र हुने आगलागिका घटना न्युनिकरण गर्न वारुण यन्त्र खरिद गर्ने र नगर क्षेत्र भित्रका कक्षा ११ मा अध्ययनरत सम्पुर्ण छात्राहरुलाई साइकल वितरण गर्ने निर्णय गरिएको नवनिर्वाचित प्रमुख मण्डलले बताउनुभएको छ । 

पहिलो कार्यकालको मूल्यांकन गरेर यहाँका मतदाताले दोस्रो पटक पनि प्रमुख पदमा मतदान गरेर विजयी गराएकाले नगरक्षेत्र भित्रको विकास नै दोस्रो कार्यकाल पनि प्रमुख प्राथमिकता रहने उहाँले स्पष्ट पार्नुभयो । 

नगर प्रमुखको पदस्थापन पश्चात् बुधबार नै मटिहानी नगरपालिकाको नौ वटै वडाका अध्यक्षहरुलाई शथपग्रहण गराएर पदस्थापना गराइएको प्रमुख प्रशासकीय अधिकृत राजेश शर्माले बताउनुभयो ।