• ६ माघ २०८१, आइतबार

घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी

blog

प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको उद्घाटन कार्यक्रमका अतिथिहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, माघ ५ गते । दाङको घोराहीमा ‘प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघेमेला–२०८१’ सुरु भएको छ । मगर समुदायको मौलिक कला संस्कृतिको संरक्षणसँगै भवन निर्माणका लागि स्रोत जुटाउने उद्देश्यले आयोजना गरिएको सो माघेमेला शनिवारदेखि सुरु भएको हो । 

नेपाल मगर संघ, घोराही नगर कार्यसमितिको आयोजनामा घोराही उपमहानगरपालिका –१४ झिंगौरामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्दै मगर समुदायको भाषा, कला, संस्कृति संरक्षणसँगै समुदायको पहिचान बचाउन ध्यान दिनुपर्ने बताउनुभयो । 

नगर प्रमुख चौधरीले जनजातिको भाषा, कला, संस्कृति समुदायको मात्र नभई राज्यको सम्पत्ति भएकाले यसको संरक्षण र प्रवर्धनमा स्थानीय सरकारले ध्यान दिने बताउनुभयो ।  

समुदायको पहिचान स्थापित गर्न र व्यावसायिक बनाउन मेला, महोत्सवको अत्यन्त ठुलो महत्व रहने भन्दै नगर प्रमुख चौधरीले भन्नुभयो, ‘माघे मेलाले मगर समुदायको कला, संस्कृति उजागर गर्दै संरक्षणका लागि टेवा दिने विश्वास छ ।’ मगर समुदाय भाषा, कला, संस्कृतिको धनी भएको भन्दै मेला महोत्सवका माध्यमबाट समुदायको पहिचान बाहिर ल्याउन र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो ।  

हरेक ठाउँमा बसोबास गर्ने समुदायको आफ्नै पहिचान हुने भन्दै घोराहीमा थारु र मगर समुदायको बाहुल्यता रहेको भन्दै दुवै समुदायको भाषा, संस्कृति जोगाउन र अरु समुदायमा पुगाउन घोराही उपमहानगरपालिकाले सरकारी कामकाजको भाषाका रुपमा स्थापित गरेको बताउनुभयो । उहाँले माघ पर्व थारु र मगर समुदाय विशेष महत्व बोकेको पर्व भएको भन्दै समुदायको सम्मानका लागि स्थानीय विदाका रुपमा पुस २९ गते विदा दिएको बताउनुभयो ।

‘थारुको आफ्नै भेषभूषा छ । मगरको पनि आफ्नै भेषभूषा छ । यसलाई संस्थागत गर्न थारु भाषाको किताब तयार पारेको छ । पाठ्यक्रम र पुस्तक तयार पारेर विद्यालयमा पठनपाठनका लागि लागू गरेको छ’ उहाँले भन्नुभयो, ‘मगर खाम भाषाको विकासका लागि पनि घोराहीले पाठ्यपुस्तक तयार पार्दैछ । आउने शैक्षिक सत्रबाट पठनपाठन गर्ने तयारी छ । मगरखाम भाषा बोल्नेलाई यसले सघाउने विश्वास छ भने अरुका लागि पनि खोज अनुसन्धानको सामग्री बन्नेछ ।’

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जीत रोकामगरले मगर समुदायको कला, संस्कार र संस्कृतिको संरक्षणसँगै सम्बद्र्धनका लागि सम्बन्धित निकायहरुले विशेष जोड दिनुपर्ने बताउनुभयो । 

माघ ५ गतेदेखि ११ गतेसम्म चल्ने मेलाको आम्दानीबाट घोराही नगर समितिले बहुउद्देश्यीय मगर संग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । 

प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलामा मगर जातिसँग सम्वन्धित विभिन्न खानाका परिकारसँगै भेषभुषा, बाल उद्यान, पिङलगायत मनोरञ्जनका साधनहरु राखिएको आयोजक नेपाल मगर संघ घोराहीका अध्यक्ष देवबहादुर बुढाले जानकारी दिनुभयो ।