काठमाडौं, माघ ५ गते । प्रतिनिधि सभाका सांसद एकनाथ ढकाल शनिबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । यही जनवरी २० मा अमेरिकाको वाशिंगटन, डीसी आयोजना हुने अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सांसद ढकाल अमेरिका जानुभएको हो ।
सांसद ढकालसँगै उहाँकी श्रीमती ब्लेसी गाडन ढकाल पनि हुनुहुन्छ । पूर्वमन्त्रीसमेत रहनुभएका सांसद ढकाललाई नेपाल परिवार दलका वरिष्ठ उपाध्यक्ष विनोद डाँगी, महामन्त्री प्रकाशबाबु थापाका साथै केन्द्रीय सदस्यहरु निला श्रेष्ठ कामना भुसाल, अधिवक्ता विष्णु गिरीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।
सो क्रममा सांसद ढकालले विश्वकै शक्तिशाली राष्ट्रको राष्ट्रप्रमुखको शपथ ग्रहणमा सहभागी हुने अवसरको रुपमा प्रयोग गर्दै नेपाल अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्ने बताउनुभयो ।
सांसद ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुनुका साथै नेपाल–अमेरिका संसदीय मैत्री समूहमा समेत आबद्ध हुनुहुन्छ ।