• १३ साउन २०८१, आइतबार

विना गणना थन्किए मतपेटिका, भारतमा पुगे मतदाता

blog

धाँधलीपछि सुरक्षित मत प्रयोग गरेका बूढीगङ्गा १० का मतदाता । तस्बिर शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, जेष्ठ ११ गते । बाजुराको बूढीगङ्गा नगरपालिका अधिकांश वडाका मतदाताले सुरक्षित तरिकाले मतदान गरेको भए पनि मतगणना नहुँदा  मतदाताहरु अन्येलमा परेका छन् ।

निर्वाचन भएको १३ दिन बितिसक्दा सुरक्षित मतदान भएका वडाको नतिजा नआएपछि मतगणनाको विषयमा मतदाता अन्येलमा परेका हुन् ।

निर्वाचन आयोगको २०७९ साल जेष्ठ ५ गतेको विज्ञप्तिमा बूढीगङ्गा नगरपालिकामा चुनाव गर्ने या मतगणना गर्ने विषयमा कुनै निर्णय नभएको उल्लेख छ ।

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बूढीनन्दा, बडिमालिका, गोमुल, छेडेदह र त्रिवेणीलगायतका स्थानीय तहमा मतगणना सम्पन्न भैसकेको छ ।

बूढीगङ्गा नगरपालिकाको २, ३, ४, ५ र ९ वडामा एकलौटी मतदान गरेको भन्ने विषयमा निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना कार्य रोकिएको जिल्ला निर्वाचन कार्यालय, बाजुराले जनाएको छ ।

निर्वाचन आयोगका सुगन सम्शेरजङ्ग राणाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, मुख्य निर्वाचन कार्यालय, बाजुराका माधवप्रसाध घिमिरे, निर्वाचन कार्यालय प्रमुख नवराज अवस्थी, जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रमुख चतुर्भज ओझालगायतको टोलीले बाजुराको बूढीगङ्गा नगरपालिकाका मतदानस्थलको प्रत्यक्ष अनुगमन गर्नु भएको थियो ।

सो टोलीको अनुगमनपछि आयोगमा पठाइएको रिपोर्टको कुनै पनि आधिकारिक प्रतिक्रिया नआएको बताइएको छ । 

‘‘भारतबाट मत हाल्नका लागि गाउँमा आयाैं मत हाल्यौँ, अब गणना हुन्छ भनेर एक दुई दिन रोकियौँ,  बूढीगङ्गा नगरपालिका वडा नं १० स्थानीय रणबहादुर सार्कीले भन्नुभयो, “आफूले स्वविवेकमा मतदान गर्न पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार हो तर यहाँ नेता कार्यक्रताले बुढापाखाको हातबाट नै मतकार्ड खोसेर आफैँले प्रयोग गरेको देख्दा मतााधिकार हनन भएको जस्तो लाग्यो ।’’

बाजुराका नौ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा शान्तिपूर्वक चुनाव सम्पन्न भएको थियो ।

बाजुराको बूढिनन्दा र बूढीगङ्गा नगरपालिकामा मतदान गर्ने क्रममै धाँधली भएपछि त्यहाँको मतगणना रोकिएको थियो ।

धाँधली भएपछि २, ३, ५, ९ मा नेकपा एमाले र ४, ७ मा नेपाली काँग्रेसका कार्यकर्ताले एकलौटी रुपमा मतदान गरेको स्थानीयवासीको आरोप छ ।

बूढीगङ्गा नगरपालिका १० मा भने विवाद भए पनि एमाले र काँग्रेसका कार्यक्रताबीच सहमतिमा मतदान सुरु भएको थियो ।

चुनाव सम्पन्न भएका बाजुराका ८ वटा स्थानीय तहमा हिमाली, स्वामिकार्तिक, त्रिवेणी, नेपाली काँग्रेस र जगनाथ, बूढीनन्दा, गौमुल छेडेदह , बडिमालिकामा नेकपा एमाले विजयी भएको निर्वाचन कार्यालय बाजुराका प्रमुख अवस्थीले बताउनुभयो ।

सुरक्षा निकाय तथा  निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगमा पठाएको रिपाेर्टको पर्खाइमा रहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरे बताउनुहुन्छ ।