घोराही समाचारदाता
घोराही, माघ ५ गते । सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण जिल्लाका पहाडी क्षेत्र जोड्ने सडक जीर्ण बनेका छन् । ओभेरलोड बोकेर टिप्परहरू गुड्दा पहाडी क्षेत्रमा रहेका सडक जीर्ण बन्नुका साथै साना सवारीसाधनलाई सास्ती हुने गरेको छ ।
सिमेन्ट उद्योगले वैकल्पिक सडकबिना नै चुनढुङ्गा खानी उत्खनन गर्दा पहाडी क्षेत्रका सडक बिग्रिएर जीर्ण बनेका बङ्गलाचुली गाउँपालिका–४ का वडाध्यक्ष डाँसबहादुर डाँगीले बताउनुभयो । यी सडकमा दाङमा रहेका सोना सिमेन्ट, घोराही सिमेन्ट र सम्राट् सिमेन्ट उद्योगका टिप्पर चल्ने गरेका छन् । टिप्परका कारण घोराही–बङ्गलाचुली हुँदै प्युठान जोड्ने सडक जीर्ण बनेको उहाँले बताउनुभयो । दैनिक गुड्ने सयौँ टिप्परका कारण कालोपत्रे सडक उप्किएर सडकमा खाडल र धुलैधुलो भएको उहाँले बताउनुभयो । करिब पाँच वर्षअघि ३३ करोड रुपियाँ खर्च गरेर बनेको सडक अहिले धुलाम्मे र खाल्टाखुल्टी मात्र छ ।
कालोपत्रे गरिएको सडक अहिले भेट्टाउनै मुस्किल पर्ने गरेको भन्दै वडाध्यक्ष डाँगीले भन्नुभयो, “कालोपत्रे गरिएको सडक टिप्परका कारण अहिले जीर्ण अवस्थामा छ । सडकमा खाडल र धुलोका कारण कालोपत्रे भेट्टाउनै मुस्किल पर्ने अवस्था छ ।” घोराही–बङ्गलाचुली–प्युठान सडक मात्र होइन, दाङको घोराही हुँदै रोल्पाको होलेरी जोड्ने सडकको अवस्था पनि उस्तै छ । सहिदमार्ग अन्तर्गत रहेको घोराही–होलेरी सडकखण्डको अवस्था नाजुक रहेको घोराही उपमहानगरपालिका–१९, खानीगाउँनिवासी केशव घर्तीले बताउनुभयो । केही वर्षअघि कालोपत्रे भएको सहिदमार्ग अहिले जीर्ण भएको भन्दै स्थानीय घर्तीले भन्नुभयो, “अहिले सडकको अवस्था नाजुक छ । यात्रुवाहक गाडीसँगै साना सवारीसाधनमा यात्रा गर्न जोखिम छ ।”
घोराही–होलेरी तथा घोराही–बङ्गलाचुली सडकको जस्तै अवस्था छ, राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डको अवस्था । ओभेरलोड बोक्ने सवारीसाधनका कारण गएको भदौमा राप्ती लोकमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका–३, राम्रीमा सडक भासिएको थियो । मर्मत गरेर सडक सञ्चालन गरिए पनि ओभरलोड बोकेर गुड्ने टिप्परका कारण सडकको अवस्था जीर्ण रहेको सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताउनुभयो । चुनढुङ्गा बोक्ने टिप्परका लागि वैकल्पिक सडकको व्यवस्था पनि नगर्ने र सडकको क्षमताभन्दा बढी बोक्ने टिप्परलाई नरोक्दासम्म सडकको अवस्था सुधार हुन नसक्ने प्रमुख विष्टले बताउनुभयो ।
सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका लागि वैकल्पिक मार्ग बनाउन पटक पटक वार्ता हुने र सहमति गर्ने गरिए पनि कार्यान्वयन हुन नसकेको बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी बताउनुहुन्छ । उहाँका अनुसार नियमन गर्ने निकाय जिम्मेवार नहुँदा एकातिर राज्यको लाखौँ रुपियाँ खर्च गरेर कालोपत्रे गरिएको सडक जीर्ण बनेको छ भने अर्कातिर वैकल्पिक राजमार्ग निर्माणको काम अलपत्र परेको छ । बङ्गलाचुलीमा टिप्परका लागि वैकल्कि मार्ग निर्माणको काम सुरु भए पनि बजेट अभावका कारण काम रोकिएको उहाँले बताउनुभयो ।