• ५ माघ २०८१, शनिबार

‘प्राप्त अधिकार कायम राखी संविधान संशोधन’

blog

 रमेश पौडेल

पोखरा, माघ ५ गते । नेपाली कांग्रेसका उपसभापति एवं नेपाली कांग्रेस प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले सबै जातजातिले प्राप्त गरेका अधिकारलाई कायम राखी संविधान संशोधन हुने बताउनुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पोखरामा शुक्रबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, “समानुपातिक र समावेशीका सवालमा संविधान संशोधन हुने छैन तर संविधानको प्रयोगमा आएका सबल र दुर्बल पक्षको अध्ययन गरी परिमार्जन हुने छ ।”

नेता खड्काले संविधान संशोधनका लागि कांग्रेस र एमालेबिच विज्ञ टोली गठन गर्ने सहमति भइसकेको र अन्य दललाई पनि समेटेर सहमतिका आधारमा अगाडि बढ्ने बताउनुभयो । उहाँले संविधानमा भएका अप्ठ्यारा र अव्यावहारिक कुरालाई अध्ययन गरी राजनीतिक स्थायित्व दिने विषयमा संविधान संशोधन हुने जिकिर गर्नुभयो । 

उहाँले मुलुकमा अस्थिरता बढ्दै जानुमा राजनीतिक पार्टीकै कमजोरी भएको स्वीकार गर्नुभयो । समाजमा राजनीतिप्रति बढ्दो आक्रोसबारे बोल्दै प्रशिक्षण विभाग प्रमुखसमेत रहेका नेता खड्काले पार्टीका नेता तथा कार्यकर्तालाई निराशाजनक अभिव्यक्ति नदिन निर्देशन दिनुभयो । नेता, कार्यकर्ता र आम नागरिकबिचको सम्बन्धलाई प्रगाढ बनाउन स्वयम् नेताहरू परिवर्तन हुन जरुरी रहेको उहाँको भनाइ थियो । पार्टीको पन्ध्रौँ महाधिवेशनबारे बोल्दै नेता खड्काले कार्यकर्तालाई सङ्गठन सुदृढीकरणमा लाग्न आग्रह गर्नुभयो । 

त्यसै गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनजातिको पहिचानसँग जोडिएको भाषालाई प्रदेश सरकारले सरकारी कामकाजको भाषामा समेट्न खोजेको जानकारी दिनुभयो । उहाँले आउँदो हिउँदे अधिवेशनमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ऐन पारित हुने बताउनुभयो । त्यसै गरी केन्द्रीय सदस्य अब्दुल सतारले नेपाली कांग्रसले नै हरेक जातजातिको अधिकारलाई स्थापित गर्दै आए पनि जनतासमक्ष सकारात्मक सन्देश जान नसक्दा प्रशिक्षणले जनताबिच सही सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । अर्का केन्द्रीय सदस्य शारदा पौडेलले महिला र जनजातिका विषयमा कांग्रेसको विकल्पमा कुनै पनि राजनीतिक पार्टी नभएको दाबी गर्नुभयो ।  

जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष ओम घर्तीमगरले समानुपातिक र समावेशीका आधारमा प्रदान गरिने राजनीतिक अवसरलाई संविधानको उद्देश्य अनुरूप नै प्रयोग गरिनुपर्नेमा जोड दिनुभयो ।