• १३ साउन २०८१, आइतबार

टेक्सास नरसंहारमा १९ बालबालिकासहित २१ जनाको हत्या

blog

शाेकाकुल परिवार र गाेलीकाण्डमा प्रयाेग भएकाे अत्याधुनिक हतियार

टेक्सास, जेठ ११ गते । अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । यहाँको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १९ जना बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौं गम्भीररुपमा घाइते भएका छन् ।    

टेक्सास राज्यको सान एन्टोनियोबाट १३४ किलोमिटर टाढा रहेको उभाल्डे शहरको रोब प्राथमिक विद्यालयमा  एकजना १८ वर्षीय बन्दुकधारी साल्भाडोर रामोस्ले कक्षा कोठामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा उनीहरूको मृत्युृ भएको हो । प्रहरी कारबाहीमा रामोसको पनि मृत्यु भएको जनाइएको छ ।

सीएनएनका अनुसार रामोसले सबैभन्दा पहिला आफ्नै हजुरआमालाई गोली हानेका थिए, गम्भीर घाइते हुनुभएका हजुरआमाको अस्पतालको सघन कक्षमा उपचार भैरहेको छ । यस्तै, गोलीकाण्ड हुनुअघि रामोसले सामाजिक सञ्जालमा अत्याधुनिक हतियार पोष्ट गरेका थिए ।  

यो नरसंहार सन् २०१२ को डिसेम्बरमा कनेक्टिकटको स्यान्डी हुकमा भएको डरलाग्दो हमलापछि अमेरिकी प्राथमिक विद्यालयमा भएको सबैभन्दा घातक हमला हो । स्यान्डी हुक हमलामा २० बालबालिकासहित छ जना वयस्क मारिएका थिए ।

यस्तै, सन् २०२२ मा मात्रै अमेरिकाका स्कुल, कलेज र  विश्वविद्यालयमा गरी ३९ वटा गोलीकाण्डमा कम्तीमा दशजनाको ज्यान र ५१ जना घाइते भएका छन् ।

यस घटनाको विषयमा अमेरिकी राष्टपति जो बाइडेनले राष्टिय शोक मनाउन आह्वान गर्नुभएको छ । उहाँले निजी हतियारबारे कठोर निर्णय लिनुपर्ने विषयमा पनि मन्तव्य दिनुभएको छ ।

यस्तै, अमेरिकाकी उपराष्टपति कमला ह्यारिसले यस्ता गोलीकाण्ड पुनः नहोस् भनेर उपयुक्त नीति तर्जुमा गर्नेबेला आएको प्रतिक्रिया दिनुभएको छ । – उपेश महर्जन  (सीएनएन, एपी, बिबिसी र अल जजिराको सहयोगमा)