• ५ माघ २०८१, शनिबार

बुटवल–गोरुसिंगे सडक निर्माण सहज बनाउन पूर्वगृहमन्त्रीको आग्रह

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण तिनाउ नदिमा बाढीले भत्काएको नदिको तटबन्धन र बेडबारको स्थलगत अवलोकन गर्नुहुँदै । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर,माघ ४ गते ।
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवल–गोरुसिंगे सडक निर्माण प्रक्रियालाई सहज बनाउनुपर्ने बताउनुभएको छ । उहाँले बुटवल–नारायणगढ सडक निर्माणमा भएको सुस्तताले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक वातावरणमा समेत खलल पुर्‍याएको भन्दै त्यसले दिएको शिक्षालाई ग्रहण गरेर बुटवल–गोरुसिङ्गे सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सर्वसाधारणलाई समेत समस्या नहुने प्रक्रिया अवलम्बन गर्न आग्रह गर्नुभयो ।

पूर्वगृहमन्त्री खाँणले शुक्रबार बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका अधिकारीहरुलाई भेटेर सडक पूर्वाधार निर्माणमा हुने गतिरोधले अर्थतन्त्रलाई पनि प्रभाव पार्ने र स्थानीयलाई पनि समस्या हुने भएकाले समयमै सम्पन्न गर्नेगरी काम अगाडि बढाउन आग्रह गर्नुभएको हो ।

‘‘११४ किलोमिटर लामो बुटवल–नारायणगढ सडक निर्माणको काम लामो समयमा पनि सम्पन्न हुन सकिरहेको छैन, यसले नकारात्मक प्रभाव पारेको छ, डेढ–दुई घण्टाको बाटोको यात्रा ५/६ घण्टाको बन्दा सवारीमा फ्युल पनि बढी लाग्ने, समय बढी लाग्ने र बाटोको अवस्थाले सवारी साधन समेत बिग्रिने हुँदा मर्मत सम्भारले पनि यो सडकको यात्रा लामोसमयदेखि कष्टकर र बढी महँगो पनि पर्न गयो भन्नेछ ।’’ उहाँले भन्नुभयो, ‘‘बुटवल–गोरुसिंगे सडक निर्माणमा यो समस्या नआउने गरी र समयमै कार्यसम्पन्न गर्नेगरी होस् भन्ने हाम्रो चाहना छ ।’’

सडक विस्तारमा कति रुख कटान गर्नुपर्छ, ढुङ्गा गिटि कहाँबाट ल्याउने, सबैकुराको पहिलै यकिन गरेर काम सुरु गर्न आग्रह गर्दै उहाँले यातायात आवागमनमा समेत बाधा नपर्नेगरी पार्टपार्टमा काम गर्न पनि आग्रह गर्नुभयो ।

त्यसैगरी लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले पनि सबै बाटो एकै पटक नभत्काई पार्टपार्टमा काम गर्न आग्रह गर्नुभयो । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सबै सडक एकै पटक भत्काउँदा सवारी आवागमनमा समस्या हुने भएकाले सवारी आवागमनका लागि वैकल्पिक मार्गहरुको पहिचान गरेर सोही अनुसार काम गर्न आग्रह गर्नुभयो ।

बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका लेखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले २०८१ कात्तिक ४ देखि तीन वर्षमा सम्पन्न गर्नेगरी गत असारमा निर्माण व्यवसायीसँग सम्झौता भएको र सडक क्षेत्रमा पर्ने रुख कटानका लागि कटान आदेश अन्तिम चरणमा रहेको जानकारी गराउनुभयो । उहाँले सवारी अवागमनमा असर नपर्ने गरी पहिले सडकको क्षेत्राधिकार क्लियर गर्ने र कुल ५० किलोमिटरमध्ये २५/२५ किलोमिटर दुई भागमा विभाजन गरी काम हुने जानकारी गराउनुभयो । उहाँका अनुसार यो सडक विस्तारको काम अब छिटै सुरु हुनेछ ।

बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका इञ्जिनियर जिगेशप्रसाद चौधरीका अनुसार आयोजनाको कुल लम्बाई ५० किलोमिटर रहेको छ । जसमा शहरी क्षेत्रमा फूटपाथ तथा नालीसहित ५० मिटर, ग्रामीण क्षेत्रमा ३७ मिटर र बन क्षेत्रमा २४ मिटर चौडाइ सडक निर्माण गरिनेछ । उहाँले प्राप्त भएका सुझावलाई ग्रहण गरी सवारी आवागमनमा पनि समस्या नहुने र समयमै सम्पन्न गर्ने गरी निर्माणको काम अगाडि बढाइने बताउनुभयो ।

बुटवल तिनाउ नदीको स्थलगत अनुगमन

पूर्वगृहमन्त्री खाँणले बुटवल उपमहानगरपालिकामा पर्ने तिनाउ नदीमा बाढीले भत्काएको नदिको तटबन्धन र बेडबारको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँ आफू सिँचाइमन्त्री भएका बेला कटान रोक्न तिनाउको दुबैतर्फ तटबन्धन गर्नुको साथै नदीको गहिराइ नियन्त्रणका लागि बेडबार निर्माण गरिएको थियो । त्यसपछि वर्षेनी वर्षामा आएको बाढीले कतिपय ठाउँमा तटबन्धन तथा बेडबार भत्काइदिएको छ ।

बुटवलको तिनाउपुल माथि र तलबाट समेत सिँचाइका बाँधहरु रहेको र नदी गहिरिँदै जाँदा सिँचाइको मुहानमा समस्या हुने भएकाले बेडबार बाधिएको थियो । नदीमा भत्किएका तटबन्धन तथा बेडबार अवलोकन गरी उहाँले नियन्त्रणका लागि थप बजेट विनियोजन गरी व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो ।

बुटवलला सुरक्षित बनाउन बुटवल उपमहानगरपालिकाले बजेट बिनियोजन गरेर काम थालिसकेको नगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।