• ८ वैशाख २०८२, सोमबार

मेला पर्वमा मात्र सीमित कालीगण्डकीको स्टिमर

blog

कालीगण्डकी नदीमा जलयात्रा गर्दै आन्तरिक पर्यटकहरु । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, माघ ४ गते । कालीगण्डकी नदीबाट पहिले खाद्यान्न र खचाखच यात्रुहरु बोक्ने स्टिमर अहिले मेला पर्वमा मात्र सीमित हुन थालेको छ । स्याङ्जाको आँधिमुहान मिर्मीदेखि सेतीबेनीसम्मको ६ किलोमिटरको कालीगण्डकी नदीमा जलयातायातबाट पहिले खाद्यान्न र यात्रुहरु खचाखच बोक्ने स्टिमर अहिले  मेला पर्वहरुमा मात्र सीमित भएको हो ।

गुल्मी खण्डको कालीगण्डकी करिडोर र पर्वत खण्डको कालीगण्डकी लोकमार्ग खुलेपछि अहिले कहिले मेला पर्व र धर्म कर्म गर्ने मान्छेहरु आउँछन् भनेर व्यवसायीहरु पर्खेर बस्नु बाहेकको विकल्प छैन ।

मेला पर्वहरुमा मानिसहरु आवतजावत गर्ने गरे पनि पहिलेका तुलनामा त्यो पनि न्यून मात्रामा रहने गरेको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । माघे सङ्क्रान्तिका दिन बल्लतल्ल एक सय ५० जना यात्रुले स्टिमरको यात्रा गरेको शिला शालीग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो । पहिले मेला पर्वका दिन यात्रुहरु खचाखच हुने स्टिमरमा अहिले दुःखले एक सय ५० जनाले दुतर्फी यात्रा गरेको उहाँले बताउनुभयो ।

कहिलेकाहीं भ्रमणमा आउनेहरुले स्टिमर रिजर्भ गरेर सेतिबेनी शिला शालीग्रामको दर्शन गर्न आउने जाने गर्ने गरेता पनि नियमित रुपमा यात्रुहरुको अभावका कारण चल्न नसकेको भट्टराईले बताउनुभयो । गुल्मी खण्ड, स्याङ्जा र पर्वत खण्डमा जताततै मोटरबाटोको पहुँच भएका कारणले पनि स्टिमर सञ्चालनमा प्रभाव परेको उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट २०६२ सालमा स्वीकृत लिएर सञ्चालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्टारमा दर्ता भई सञ्चालनमा आएको छ । पहिले १२ वटा साना ठूला गरी स्टिमरहरु रहे पनि हाल भने चार वटा मात्रै सञ्चालनमा रहेको भट्टराले जानकारी दिनुभयो ।

प्रतिव्यक्ति एकतर्फी टिकट काटेर जानुपरेमा दुई सय रुपियाँ निर्धारण गरिएको छ  भने रिजर्भको लागि दुई हजारदेखि स्टिमरको क्षमता अनुसार निर्धारण गर्ने गरेको उहाँको भनाइ छ । कालीगण्डकी नदीमा मिर्मीदेखि सेतीबेनीसम्मको जलयात्राको समय ३० देखि ४५ मिनेटसम्मको रहने भट्टराले जानकारी दिनुभयो ।