• १७ असार २०८१, सोमबार

कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा मृत अवस्थामा भेटिए

blog

प्रहरी हिरासतमा मृत भेटिएको ईलाका

सिराज खान 

नेपालगञ्ज, जेठ ११ गते । बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवा बुधवार बिहान शौचालयमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर– १२ का ४६ वर्षीय कृष्णलाल कुँवर हिरासतको शाैचालयमा झुण्डिएर मृत अवस्थामा बुधवार बिहान फेला परेका हुन् । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बुधबार बिहान करिब ५ बजे कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो । उहाँले हिरासत कक्षबाट बिहानै शौचालय गएका कुँवर शौचालयको भ्यान्टिलेटरमा टिसर्टको पासो घाँटीमा लगाएर मृत्यु भएको अवस्थामा भेटिएको बताउनुभयो । 

डीएसपी मल्लका अनुसार मृतक कुँवरलाई प्रहरीले गत वैशाख १९ गते ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको जबरजस्ती करणी उद्योगको अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।

प्रहरीले स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको मल्लले जानकारी दिनुभयो । एक हप्ता अघि पनि नरैनापुर गाउँपालिकाको इलाका प्रहरी कार्यालय भगवानपुरमा पनि प्रहरी नियन्त्रणमा रहेका जबरजस्ती करणीको अभियोग लागेका ३५ वर्षीय रामपाल यादवको प्रहरी हिरासतमै उपचारको क्रममा मृत्यु भएको थियो ।

यादवको मृत्यु सहज नभई यातनाबाट भएको भन्दै उहाँका आफन्त र परिवारले आन्दोलन गरेका थिए । पछिल्लो समयमा आएर देशका विभिन्न ठाउँमा प्रहरी हिरासतमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।