• ८ वैशाख २०८२, सोमबार

२७ औँ भूकम्प दिवस

भूकम्पप्रतिरोधी संरचनाका लागि सचेतना जरुरी

blog

भूकम्प दिवसका अवसरमा घोराहीमा निकालिएको सचेतना र्‍याली । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता

घोराही, माघ ३ गते । भूकम्पीय जोखिम कम गर्न भूकम्पप्रतिरोधी संरचना निर्माणसँगै नागरिकमा सचेतना आवश्यक रहेको कार्यक्रमका सहभागीले बताएका छन् । २७ औँ भूकम्प दिवसका अवसरमा बुधबार घोराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताले भूकम्पप्रतिरोधी संरचना निर्माणका लागि जनतामा सचेतनासँगै भवन निर्माण भए नभएको बुझ्नका लागि अनुगमन हुन आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पश्चिम नेपाल भूकम्पको जोखिममा रहेको सूचना आइरहने भएकाले विगतमा भएका भूकम्पबाट पाठ सिकेर घरलगायतका अन्य पूर्वाधार बनाउँदा नागरिकले ध्यान दिनुपर्ने बताउनुभयो । 

आवास सुरक्षित भए सबै कुरा सुरक्षित राख्न सकिने भन्दै प्रमुख जिल्ला अधिकारी लम्सालले भन्नुभयो, “नागरिकको पहिलो चासो सुरक्षित आवास निर्माण अर्थात् भूकम्पप्रतिरोधी घर निर्माण हुनु पर्छ ।” कार्यक्रममा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय दाङका प्रमुख प्रवीण शाहले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी आवश्यक रहेकाले र प्रत्येक नागरिकलगायत अन्य भौतिक संरचना बलियो बनाउनुपर्ने बताउनुभयो । भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि गर्न सकिने प्रयासका बारेमा जानकारी गराउँदै प्रमुख शाहले प्रत्येक नागरिकले राष्ट्रिय भवन निर्माण आचारसंहिता पालना गरेर मात्र घरसँगै अन्य पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले घोराहीमा भवन निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता अनिवार्य गरिएको बताउनुभयो । भूकम्पको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिवृद्धि गराउने, विगतमा भएका प्रयासका मूल्याङ्कन गर्दै कमीकमजोरीलाई सुधार गर्ने लक्ष्यका साथ आइरहेको उहाँले बताउनुभयो । 

भूकम्पको उच्च जोखिम 

नेपालगन्ज समाचारदाताका अनुसार सहरीकरण बढ्दै जाँदा भौतिक संरचना भूकम्पप्रतिरोधी बनाउन ध्यान नदिइएको र ठुलो सङ्ख्यामा धेरै पुराना घर रहेकाले नेपालगगन्ज भूकम्पको उच्च जोखिममा रहेको देखिएको छ । विगतमा भूकम्पले देशमा ठुलो क्षति पु¥याएपछि बन्ने संरचना भूकम्पप्रतिरोधी बनाउन थालिए पनि व्यक्तिगत रूपमा हुने निर्माणमा लापर्बाही अझै पनि पाइने गरेको छ  ।

पश्चिम नेपालमा भूकम्प गएमा जनधनको ठुलो क्षति हुने आकलन गर्दै तथ्याङ्कहरू सार्वजनिक हुँदै आएका छन् । बाँके अन्तर्गत पश्चिम नेपालको पुरानो सहर नेपालगन्जमा पनि भूकम्पीय जोखिम अत्यधिक रहेको एक अध्ययनले देखाएको छ । नेपालगन्जमा भूकम्प गए हुन सक्ने क्षति र पूर्वतयारीबारे सुपर परियोजनाले नेपालगन्जमा वस्तुस्थिति अध्ययन गरी गरेको अनुसन्धानका क्रममा ७.८ रेक्टर स्केलको भूकम्प गएमा नेपालगन्जमा २१८ घर पूर्ण रूपमा क्षति हुने अनुमान गरेको छ । 

त्यस्तै ८.६ रेक्टर स्केलको भूकम्प गएमा तीन हजार घरमा क्षति पुग्न सक्ने प्रक्षेपण गरिएको छ । परियोजनाको अध्ययन अनुसार नेपालगन्जमा मात्रै ११ हजार आठ सय जनाभन्दा बढी मानिस विपत्को जोखिममा रहेका छन् । त्यसैले पनि सुपर परियोजनाले पूर्वतयारी र प्रतिकार्यमा जोड दिएको छ । सुपर परियोजनाले भुकम्पको प्रभाव, पूर्वतयारी र स्रोत विकासका लागि पूर्वतयारी योजना बनाउन दोस्रो फेजको अध्ययन सुरु गरेको सुपर परियोजनाका रूपन ज्ञवालीले जानकारी दिनुभयो । अध्ययन अनुसन्धान गत जनवरीदेखि सुरु गरिएको जनाउँदै नेपालगन्जका सबै वडामा हुने उहाँले बताउनुभयो । भूकम्प आइहाले हुने क्षतिको पूर्वानुमान र त्यसको व्यवस्थापनको पूर्वतयारी भए भूकम्पका बेला प्रभावकारी काम गर्न सकिने ज्ञवालीको भनाइ छ ।