बाबाके सगरवा, मुरिया लहान गैनु हाँ । सखिए हो, सेन्दुर छुटल पानीघाट ।।
बाबाके सगरवा, मुरिया लहान गैनु हाँ । सखिए हो, टिकुली छुटल पानीघाट ।।
धाइँ–धाइँ मै खोजनु, बनियाँ दोकान रे हाँ । सखिए हो, कहिदेऊ बनियाँ टिकुलिक मोल ।।
धाइँ–धाइँ मै खोजनु, बनियाँ दोकान रे हाँ । सखिए हो, कहिदेऊ बनियाँ नथियक् मोल ।।
बकुली ओ बकुला, तलुवा सुहावन रे हाँ । सखिए हो, टिरिया सुहाइल पानीघाट ।
उरी उरी भौंरा, टिकुली पर बैठे रे हाँ । सखिए हो, भौंरक छुवल मोर टिकुली मलिन ।।
माघ (माघी) पर्वमा गाइने सोमती चौधरी र विजय चौधरीको यो गीत माघ १ गते तलाउ वा नदीमा डुबुल्की मारेर स्नान गर्न गएका बेला युवक र युवतीबिचको प्रेमलयमा गाइएको हो । बुवाले बनाइदिएको सागरमा स्नान गर्न जाँदा छोरीले लगाएको सिन्दूर, बिन्दी र नथिया पानीघाटमा छुट्छ । सिन्दूर, बिन्दी र नथिया खरिद गर्न यताउता भौँतारिएर बनियाँको पसल पुग्छिन् । पसलेसँग सिन्दूर, बिन्दी र नथिया (नत्थी) को मूल्य सोध्छिन् । बकुल्लाको जोडी पानीघाटमा जसरी सुहाउँछ, नुहाउन गएका बेला कन्या केटी (टिरिया) को उपस्थितिले पानीघाट नै सुन्दर बन्छ । उनको उपस्थितिले पानीघाटको रौनक बढ्छ । भमरा उडेर युवतीको बिन्दीमा बस्छ । भमराले छोएपछि युवतीको बिन्दी नै मलिन (अपवित्र) हुन्छ । आफ्ना साथीसङ्गीसँग युवतीले गुनासो पोख्छिन् । व्यङ्ग्यात्मक यो भावात्मक लयले युवतीको पवित्रताको बयान गर्छ ।
थारू समुदायको सबैभन्दा ठुलो पर्व हो ‘माघ’ । यसलाई ‘माघ, माघी, खिचरा, तिलासङ्क्रात, माघेसङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारूले ‘तिलासङ्क्राइत’ भन्छन् । बिच (कपिलवस्तु–चितवन) का थारूले खिचरा पर्व भन्छन् । दाङपश्चिमका थारूले माघ भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको जिल्लामा थारू समुदायको बसोबास छ । ठाउँ अनुसार पर्वलाई आफ्नै शैलीमा मनाइन्छ । माघेसङ्क्रान्तिको नामले सबै नेपाली समुदायले पर्वलाई माघ १ गते मनाउँछन् । १२ महिनामध्ये एउटा महिना माघ हो । माघ महिनाको नामबाटै यो पर्वको नाम ‘माघ’ या माघी रहन गयो । पूर्वदेखि पश्चिमसम्मका थारू समुदाय काठमाडौँ उपत्यकामा यो पर्व २०५९ देखि मनाउन थालेपछि माघी सम्बोधन हुन थालेको मानिन्छ । माघलाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् । थारू संवत् अनुसार यो माघ २६४८ औँ हो ।
माघीलाई थारूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठुलो पर्वका रूपमा लिइन्छ । माघेसङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन थारूगाउँमा सुँगुर काट्ने प्रचलन छ । जसलाई थारूमा ‘जिता मर्ना’ भनिन्छ । सुँगुरको मासुसँग थारू परिकार ढिक्री, माछा, घोँगी, सिपी, गँगटा, अनदीको भात, मुरही, जाँडरक्सी खाने प्रचलन छ । पुसको अन्तिम दिन रातभरि जाग्राम बसिन्छ । त्यस रात थारू दफुको तालमा ‘धमार, धुमरु’ गीत गाउँछन् । भाले नबास्दासम्म गाइने सो गीतमा थारू इतिहास, रहनसहन, खेतबारी गर्ने चेतनामूलक गीत गाइन्छ । भाले बासेपछि पानीघाटमा गएर स्नान गर्ने प्रचलन छ ।
माघ लहान
माघ १ लाई पवित्र दिन मानिन्छ । सुँगुर, बँगुर, हाँस, कुखुराको मासु खाने दिन पुस अन्तिम दिन हो । भोलिपल्ट अर्थात् माघ १ गते परम्परागत बाजागाजासहित सामूहिक रूपमा जलाशयमा गई स्नान गर्ने गरिन्छ । जसलाई थारूले ‘माघ लहान’ भन्छन् । नुहाउने कर्मलाई थारू भाषामा ‘लहैना’ भनिन्छ । त्यसैबाट माघ लहान भएको हो । यस दिन जलदेवतासँग पानी खरिद गरेर मात्र स्नान गरिन्छ । स्नान गर्दा पानीभित्र सिक्का छाडिन्छ । जलदेवतासँग पानी खरिद गरेर नुहाउँदा वर्षभरिको पापकर्म पखालिन्छ भन्ने विश्वास गरिन्छ । नुहाउन जाँदा बाटोभरि धमार गीत गाउने, मघौटा नाच नाच्ने चलन छ । जसको नेतृत्व बरघर या घरमूलीले गर्छन् । यो परम्पराले सामूहिकताको विकास गरेको छ । सहयोगको भावना वृद्धि गरेको छ ।
आशीर्वादको प्रचलन
घरका ज्येष्ठ सदस्य तथा आफन्तबाट लामो समयपछि भेट हुँदा सम्मानस्वरूप शिर निहु¥याएर ढोग गर्ने र आशीर्वाद लिने प्रचलन छ । थारू समुदायमा अभिभावकको खुट्टा छोएरै आशीर्वाद लिने गरिन्छ । गाउँघरका सदस्यले कामविशेषले देशबाहिर, गाउँबाहिर रहँदा वर्ष दिनपछि घरमा जम्मा हुने र माघ १ गते चोखो पानीमा स्नान गरी पुर्खालाई ढोग गरेर आशीर्वाद लिनुमा छुट्टै मजा छ । यसले ठुलालाई सम्मान दिन्छ । एकअर्काको दीर्घायु तथा सुखी जीवनको मनग्गे आशीर्वाद लिनेदिने काम हुन्छ । ढोग, आशीर्वादले एकअर्कालाई जोडेको छ । यसले व्यक्ति व्यक्तिलाई मात्र जोड्ने होइन, समाज र देशलाई जोड्छ । मनमा शान्ति भएपछि समाजमा शान्ति कायम हुन्छ । समाजमा शान्ति भए देशमा शान्ति आउँछ भनिन्छ ।
थारूले माघ १ गते स्नान गरेपछि ठुलाको आशीर्वादका लागि चामल, नुन, दाललाई साक्षी राख्छन् । घरको देवता कोठा (दिहुरार) मा गुन्द्रीमा अलग अलग ती सामान राखिएका हुन्छन् । स्नान गरेर घरमा आएपछि पहिले चामल, नुन र दाललाई छोएर पाँच/पाँच अञ्जुली अर्को भाँडामा राख्छन् । त्यसपछि मात्र आफूभन्दा ठुलाको आशीर्वाद लिन्छन् । नजिकमा मठमन्दिर वा देवालय भएका गाउँका सदस्यले भगवान्को पूजा गर्छन् । पुर्खा र भगवान्को आशीर्वादले वर्षभरि सुखशान्ति, प्रगतिको आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ । घरका सदस्यले गाउँका सबै अभिभावककहाँ गएर आशीर्वाद लिने प्रचलन छ ।
निसराउको पोको
माघ १ गते थारूले विवाहित चेलीबेटीलाई विशेष उपहार दिन्छन् । यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ । नुहाएर घर आएपछि घरमा सगुनका रूपमा छोएको चामल, नुन र दाल नै निसराउ हो । त्यसमा थपेर चेलीबेटीलाई उपहारका रूपमा प्रदान गरिन्छ । आजभोलि नगदसहित निसराउ दिने प्रचलन बढ्दै गएको छ । माघी पर्वमा विवाहित चेलीलाई अनिवार्य माइत ल्याइन्छ । माइत आएका चेली फर्कने बेलामा निसराउ लिएर मात्र फर्किन्छन् । खाली हात चेलीबेटीलाई फर्काउन नहुने प्रचलन छ । कुनै कारणवश माइत आउन नपाएका चेलीलाई घरका सदस्यले निसराउ दिन चेलीबेटीको घर पुग्छन् । निसराउ दिने प्रचलनले घरका सदस्य र विवाहित चेलीबिचको सम्बन्धलाई प्रगाढ बनाउँछ । नाताकुटुम्बलाई जोड्ने काम गर्छ । त्यसैले निसराउ (उपहार) दिने चलनलाई महत्वका साथ हेरिन्छ । निसराउ उपहारको पोको मात्र होइन, यो सम्बन्ध गाँस्ने सेतु पनि हो ।
मेलमिलापको पर्व
माघी पर्वले एकअर्काबिच भएको तिक्तता हटाउँछ । माघ १ गते जलाशयको चोखो पानीमा स्नान गरी एकापसमा अङ्कमाल गर्नाले वर्षभरिको रिसइबी हट्ने र नयाँ सम्बन्ध कायम हुने विश्वास गरिन्छ । चोखो पानीमा स्नान गर्नाले शरीरको रोग, बिमार, खटिरो हट्ने र वर्षभरिको पाप पखालिने विश्वास गरिन्छ । त्यसैले माघी पर्वलाई मेलमिलापको पर्व मानिन्छ । एकअर्कालाई ढोग, आशीर्वाद लिने प्रचलनलाई थारूहरुले ‘सेवा सलाम लग्ना’ भन्छन् । यसो गर्दा गाउँका सदस्यबिच एकता, मित्रता र आपसी सहयोगको भावनामा विकास हुन्छ ।
माघ नयाँ वर्ष
थारू संवत् अनुसार यो माघ २६४८ औँ हो । माघी पर्वलाई थारूले नयाँ वर्षका रूपमा मनाउँछन् । कारण– पुस मसान्तसम्म आफ्नो लेनदेन, हरहिसाब गर्छन् । माघ १ देखि नयाँ खाता सुरु गर्छन् । वर्ष दिन गरेको कामको लेखाजोखा, हिसाब मिलान तथा गाउँको काम गर्न नियुक्त गरिएकाको पारिश्रमिक भुक्तान गर्छन् ।
माघ १ देखि नयाँ नियुक्ति हुन्छ । गाउँ सञ्चालन गर्न बरघर, गुरुवा, चिरक्या, घरमुली, अघारी, चौकीदार, कुलापानी गर्ने व्यक्ति, फलामको काम गर्ने व्यक्ति, गोठालो आदिको नयाँ नियुक्ति हुन्छ । वयस्क भएका छोराछोरीको विवाहको काम पनि माघबाटै सुरु हुन्छ । वर्ष दिनका लागि नयाँ योजना बनाउने र त्यसको कार्यान्वयनका लागि जिम्मेवारी सुम्पने काम हुने भएकाले थारूले यस पर्वलाई नयाँ वर्षको रुपमा मनाउँछन् ।
माघी पर्वमा सुँगुर, बङ्गुरको मासु, माछा, घोँगी, गँगटा, सिपी, अनदीको भात, ढिक्री, सिन्की, जाँड दारू विशेष परिकारका रूपमा खाने प्रचलन छ । यो पर्वमा मघौटानाच, छोक्रा, हुरदङ्ग्वा नाच नाचिन्छ ।