• १ माघ २०८१, मङ्गलबार

किन थारूका लागि विशेष छ माघी पर्व

blog

माघी पर्वको मघौटा नाचमा नृत्य गर्दै थारु युवा युवतीहरु ।

काठमाडौँ, पुस २९ गते । माघे सङ्क्रान्ति देशभर नै विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। तर, केही समुदायले माघीलाई प्रमुख चाडका रूपमा मनाउने गर्छन्। माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो । 

थारू समुदायले माघ महिनालाई परापूर्वकालदेखि नै विशेषरूपमा मनाउँदै आएको जानकारहरु बताउँछन् । माघीलाई थारूले मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठुलो पर्व भएको थारू लोक संस्कृतिका अभियन्ता अशोक चौधरी बताउनुहुन्छ। थारू समुदायले बितेको वर्षको समीक्षा र आगामी वर्षको कार्ययोजना बनाउँदै शुभकामना आदानप्रदान गरी माघी महोत्सव मनाउने गरेको चौधरीले जानकारी दिनुभयो। 

उहाँ भन्नुहुन्छ, “माघी थारूहरूको नयाँ वर्ष हो। थारू समुदायका घर प्रमुख, गाउँ प्रमुखको घरमा गएर वर्ष दिनभरि गरेको कामको सकारात्मक तथा नकारात्मक पक्षबाट समीक्षा गर्नुका साथै आगामी वर्षमा के के गर्ने भनेर कार्ययोजना बनाउने गर्छन्।” 

थारू कल्याणकारी सभा थारू मानक भाषा मस्यौदा समितिका संयोजक कुछतनारायण चौधरीले थारू समुदायको पुराणअनुसार यो पर्व मनाउने गरेको पाइन्छ । चौधरी भन्नुहुन्छ, ‘थारूको ब्रह्मपुराण छ। त्यसलाई गुरुबाबाको जन्मौती (गुरुबाबाको जन्मदिन) माघीमा भएकाले त्यो दिन नुहाएर पूजाआजा गर्ने र स्वच्छ हुनुपर्छ भन्ने थारू समुदायको परम्परा हो।’

उहाँका अनुसार थारू समुदायले गुरुबाबाको जन्मौतीलाई सृष्टिकर्ताको रूपमा लिन्छन्। गुरुबाबाको जन्मपछि मात्र बोटबिरुवा र जनावरको जन्म हुँदा मान्छे पनि जन्मिएको मानेर हामी महान पर्वका रूपमा माघीलाई मनाउँछौँ । माघ महिनामा भएकाले यो महिनालाई पवित्र महिनाका रूपमा थारू समुदायले लिने गरेको बताउनुहुन्छ। थारू समुदायले माघलाई नयाँ वर्षको शुरूआतका रूपमा मनाउने हुँदा मिठा खानेकुरा खाने, आशीर्वाद आदानप्रदान गर्ने, वर्ष दिनको समीक्षा, वार्षिक समीक्षा, नयाँ कामको शुरू गर्ने र नयाँ योजना बनाएर यो पर्व मनाउने गरेको चौधरी बताउनुहुन्छ। 

नयाँ वर्षको स्वागत 

पुसमा पकाएर माघमा खाने चलन रहेको छ। अनुसन्धानकर्ता डा. कुष्णराज सर्वहारीका अनुसार पुसको अन्तिम दिन गाउँमा सुँगुर काटेर सबैको परिवारलाई पुग्नेगरी मासु वितरण गर्ने गरिन्छ । पुस मसान्तमा सुगुँरको मासुका परिकार, ढिकरी, माछालगायतका परिकार बनाएर अनदीको चामलको जाँड रक्सीका साथमा खानपिन गरेर रातभर नाचगान गरेर रमाइलो गरेर मनाउने गरिन्छ। 

गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भएर मिठा परिकार खाने रातभर गीत गाउने (धमार) र मघौटा नाच नाच्ने चलन रहेको सर्वहारी बताउनुहुन्छ। पुस मसान्तको १२ बजेपछि सामूहिक रूपमा गीत गाउँदै नजिकैको नदी, तलाउ, खोलामा गएर स्नान गरी माघ १ गतेलाई स्वागत गरिने अनुसन्धानकर्ता डा.सर्वहारी बताउनुहुन्छ।

सर्वहारीका अनुसार स्नान गर्दा पुण्य प्राप्त हुने जनविश्वास छ। स्नान गर्नुअघि सिक्का राखेर जलदेवतासँग परिवार, गाउँघरका लागि सुस्वास्थ्यको कामना गर्ने प्रचलन छ। स्नानपछि जाडो भगाउन तिलको आगो ताप्ने चलन छ। माघीको दिन तिलको आगो ताप्दा वर्षभरिको पाप पखालिने जनविश्वास छ। त्यसपछि ठुलाबडा तथा मान्यजनको आशीर्वाद लिने र इष्टमित्र तथा आफन्तलाई भेटघाट गर्ने चलन छ। 

नुहाइसकेपछि छुट्टै भाँडोमा छुट्याएर राखिएको दाल, चामल, पैसा, नून, तेल आदि सामग्री छोएर आफूभन्दा ठुलालाई ढोग गरी आशीर्वाद लिइन्छ। जतिसुकै ठुलो मनमुटाव भए पनि त्यही दिन अन्त्य गर्ने गरिन्छ। माघीमा आफ्नो चेलीबेटीलाई उपहार दिने चलन छ। यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ। माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउ स्वरूप चेलीबेटीलाई उपहार दिइने उहाँ बताउनुहुन्छ। माघको दोस्रो दिन खिचडी बनाई खाने चलन छ। यो दिनलाई खिचरहवा भनिन्छ। 

गाउँको अगुवा चुन्ने दिन 

थारू लोक संस्कृतिक अभियन्ता अशोक चौधरीका अनुसार माघको तेस्रो र चौथो दिन थारू गाउँलाई विधिवत् रूपले सञ्चालन गर्न बरघर, भलमन्सा, चौकीदार, अघरिया, देशबन्धिया, गुरुवा आदि चुनिने गर्छन्। सबैको सहमतिमा यिनको चयन गर्ने परम्परा छ। एक सातासम्म गीत गाउने र मघौटा  नाच नाच्ने गरिन्छ। नाचमा मघौटा नाचमा गाइने गीतमा माघको गुनगान गाइन्छ।

लेखिका शान्ति चौधरीले माघी अरू समुदायभन्दा थारू समुदायले फरक गरी मनाउने बताउनुहुन्छ । उहाँका अनुसार माघीका लागि महिनौदेखि धान सुकाउने, कुट्ने गरिन्छ। माघीका लागि अनिवार्यलाई मुरी, सठौरा, तिलवा बनाउने प्रचलन छ। यस्ता परिकार विशेष विवाहिता छोरी चेलीलाई माइतिघरले पुराउनै पर्ने परम्परा छ।  

माघीमा हरेक घरमा मासु, मिठा परिकार बनाउनुका साथै नयाँ लुगा पुरूषले मर्दनी र महिलाले धोती गुलाबी र पहेलो रङको लगाएर भेट्ने आउने चलन छ।  राजधानीमा बसोवास गर्ने थारूहरूले विगत केही वर्षदेखि माघी महोत्सवको आयोजना गरेर माघी मनाउने गर्छन्। सरकारले माघीमा सार्वजनिक बिदाको व्यवस्था गरेको छ।

माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकार घोंघी, ढिक्रीलगायत फुड फेस्टिबल एवं सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम गरी माघी महोत्सवमा मनाउने अनुसन्धानकर्ता सर्वहारीले बताउनुभयो। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।