बोमलाल गिरी
नवलपुर, असार २४ गते। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँ पालिका–१ गुम्बामा स्कर्पियो र बोलेरो ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
दुम्किबासबाट अरुणखोलातर्फ जाँदै गरेको लु प्र ०१–००१ च ०९४८ नम्बरको स्कार्पियो र दलदलेबाट अरूणखोलातर्फ जाँदै गरेको बा.प्र.०३–००१ च १४७४ नम्बको पिक अप बोलेरो ठक्कर खाँदा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ।
स्कर्पियोमा ९ र बोलेरोमा एक जना सवार थिए। दुबै गाडीमा सवार सबै १० जना घाइते भएका हुन्।
दुर्घटनामा स्कार्पियो चालक बिनयी त्रिवेणी–२ का ३१ वर्षीय रेशमबहादुर शारु मगर, सोही ठाउँका १४ वर्षीय किरण फाल मगर, ३६ वर्षीया दानुमाया आले, ५५ वर्षीया सीता श्रेष्ठ घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो।
त्यसैगरी सोही ठाउँकै ४८ वर्षीय विष्णु श्रेष्ठ, ८४ वर्षीया रुपामाया श्रेष्ठ, ५७ वर्षीया यनिसरा लामिछाने, ३६ वर्षीय हरिबहादुर लामिछाने र ५२ वर्षीय कुलबहादुर कुमाल घाइते हुनुभएको छ।
घाइतेको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ। बोलेरोमा चालक हुप्सेकोट गाउँपालिका–१ का ४५ वर्षीय ओमनारायण महतो मात्र रहेको प्रहरीको भनाइ छ। सामान्य घाइते उहाँलाई उपचारपश्चात् इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको छ।