• २४ असार २०८२, मङ्गलबार

रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार

blog

काठमाडौँ,  असार २४ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

रास्वापकी सांसद सोबिता गौतमले ‘भिजिट भिसा’ प्रकरणमा कैयौँ दिनदेखि आवाज उठाउँदै आए पनि सरकार गम्भीर नभएको बताउनुभयो । उहाँले उच्चस्तरीय छानबिन समितिको माग गर्दै विरोधस्वरूप आज पनि संसद् बहिष्कार गरेको बताउनुभयो । “रास्वपा केही समयदेखि भिजिट भिसाको दुरूपयोग गरी मानव तस्करी गर्ने कार्यविरुद्ध संसदीय छानबिन समिति वा उच्चस्तरीय जाँचबुझ आयोगको मागसहित सदनमा विरोधमा उभिएको छ,” उहाँले भन्नुभयो । सांसद गौतमले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि जोडिएको गम्भीर विषयमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर स्वार्थ बाझिने अनुपयुक्त पात्रको नेतृत्वमा एउटा सामान्य प्रशासनिक समिति बनाएको विषयमा खेद र आपत्ति रहेको बताउनुभयो ।

यसैगरी, राप्रपाका सांसद ज्ञानबहादुर शाहीले लामो समयदेखि संसदमा भिजिट भिसा प्रकरणसम्बन्धी आवाज उठाइरहे पनि सरकारले सुन्न नखोजिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सरकारविरुद्ध गर्न खोजेको गतिविधि होइन । यो मानव बेचबिखन विरुद्धको अभियान हो । छानबिन समिति बनोस् । यहाँ सङ्ख्याका आधारमा होइन अपराधका आधारमा छानबिन समिति बनोस् ।” रासस