यदुप्रसाद भट्ट
मनाङ, पुस २८ गते । ढुम्म बादलको घेरा अनिचारैतिर अँध्यारो । अँध्यारोसँगै चिसो मौसम, यसैबिच माथिल्लो मनाङमा हिउँ पर्न सुरु भएको छ । विगतका वर्षहरुमा मंसिरदेखि हिउँ पर्न सुरु हुने भए पनि यसपाली पुसको अन्तिममा हिउँ परेको हो । यो यस सिजनको पहिलो हिउँ हो ।
मरुभूमिजस्तै बनेका र कालापत्थरमा परिणत हुँदैगएका डाँडाकाँडामा हिउँ पुसफुसाउँदा आफूलाई खुसी लागेको मनाङ पिसाङका युवा कृषक मुखिया गुरुङले बताउनुभयो । उहाँले वर्षको दुई महिना मात्र आफ्नो उत्पादनले खान पुग्ने मनाङी किसानलाई हिउँ परेपछि खुसी लाग्ने बताउनुभयो । हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने अनि बालीनाली पनि फस्टाउने स्थानीय किसान बताउँछन् ।
समयमै हिउँ परे बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमंसी, पाँचऔंले, चिराइतो आदिको उत्पादनमा वृद्धि हुने गर्दछ । तल्लो भागमा परेको हिउँले खेतीपातीका लागि मलकै रुपमा काम गर्दछ । दुई हप्ताअघि मात्र करुमा सिँचाइ गरेका मनाङ चामेका अर्का युवा कृषक शेराप विष्टले हिमालमा हिउँ फुसफुसाउँदा खुसी लाग्ने गरेको बताउनुभयो ।
कृषि तथा पर्यटनलाई नजिकबाट नियालिरहेका नासोँ गाउँपालिका –८ ताचैका स्थानीय यज्ञ घलेले हिमाली क्षेत्रमा हिउँ नहुँदा पर्यटन व्यवसायमा ठूलो असर पर्ने गरेको तर्क गर्नुभयो । उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘कलकारखाना नभएको हिमाली जिल्लामा हिउँ नै नहुँदा पर्यटकले के हेर्ने ?’ उहाँका अनुसार हिउँ परे पर्यटक बढ्छन् । हिमाली सौन्दर्य रहिरहन्छ । मनाङ ङिस्याङ गाउँपालिका –५ पिसाङका चौंरीपालक किसान याङ्डु गुरुङले सधैंजसो मंसिरको पहिलो सातादेखि हिउँ पर्न सुरु हुने भए पनि यसपाली हिउँ देख्न कुर्नुपरेको बताउनुभयो ।
मनाङका अन्नपूर्ण, गंगापूर्ण, लमजुङलगायतका हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रुपान्तरण भइसकेका छन् । जिल्लाको माथिल्लो क्षेत्रमा केही मात्रामा फाट्टफुट्ट हिमपात भए पनि तल्लो क्षेत्रमा अहिलेसम्म हिउँ नपरेको नासोँ गाउँपालिका –५ का वडाध्यक्ष थुतेन लामाले बताउनुभयो । हिमपात नहुँदा चिस्यान नहुने, आलु, उवा र फापर छर्ने ठाउँमा जोत्न पनि मुस्किल भएको उहाँले बताउनुभयो ।