राधाकृष्ण डुम्रे
वालिङ,असार ४ गते । स्याङ्जाको चापाकोटमा सर्पदंश उपचार केन्द्रको स्थापना गरिएको छ । गर्मी समयमा सर्पदंशका घटना बढ्ने गरेको भन्दै चापाकोट–९ स्थित चापाकोट अस्पतालमा सर्पदंश उपचार केन्द्रको स्थापना गरिएको हो ।
पालिकाले सञ्चालन गरेको केन्द्रमा स्थानीय तथा छिमेकी पाल्पा तथा तनहुँ जिल्लाका नागरिकलाई समेत फाइदा पुग्ने नगरप्रमुख देवबहादुर खाँण (ईश्वर)ले जानकारी दिनुभयो । अस्पतालमा १५ शय्याको अनुमती प्रदान गरी निःशुल्क एम्बुुलेन्स सेवा समेत सुरु गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सर्पदंश उपचार केन्द्र स्थापना भएसँन्गै सर्पको डसाईबाट अँकालमा नै ज्यान गुमाउनु पर्ने समस्याबाट मुक्ति मिल्ने छ ।”
चापाकोट क्षेत्रमा गर्मी तथा बर्खाको समयमा बिषालु सर्पहरु अत्यधिक देखिने गरेको भन्दै प्रमुख खाँणले नागरिकलाई यसबाट बचाउन उपचार केन्द्र सुरु गरिएको बताउनुभयो ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा मात्र जिल्लामा एक सय तीन जना सर्पको डसाईबाट बिरामी परेका थिए । जसमध्ये चापाकोटमा मात्र ३० जनालाई सर्पले डसेको थियो ।
गएको वैशाखबाट परीक्षण रुपमा उपचार केन्द्र सुरु गरिएको थियो । चापाकोट अस्पतालमा सर्पदंश उपचार केन्द्रको स्थापना भएसँगै स्थानीय खुसी भएका छन् । सर्पदंश उपचार केन्द्रमा उपचारमा आवश्यक पर्ने उपकरणहरू जडान गरिएको डा. अर्जुन पाण्डेले जानकारी दिनुभयो ।