• १२ असार २०८१, बुधबार

धनुषाका नवनिर्वाचित प्रमुखलाई पद तथा गोपनियताको शपथ

blog

धर्बेन्द्र झा 

जनकपुरधाम, जेठ १० गते । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरसहित धनुषाको १८ वटै पालिकाका नवनिर्वाचित प्रमुखले पद तथा गोपनियताको शपथ लिनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमवीच उहाँहरुलाई मुख्य निर्वाचन अधिकृत ब्रजेस प्याकुरेलले पद तथा गोपनियताको शपथ खुवाउनु भएको हो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्याकुरेललले धनुषाको १८ वटै पालिकामा सौहार्दपूर्ण र शान्तिपूर्वक निर्वाचन गराउन सबै पक्षको त्यतिकै सहयोग भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । 

जनप्रतिनिधिसँग जनताको धेरै अपेक्षा रहेको चर्चा गर्दै जनताको अपेक्षाअनुसार काम गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, मधेस प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थी, जनकपुरधाम उपमहानगरपालिकाका कार्यकारी अधिकृत प्रद्युम्न उपाध्यायसहितले जनप्रतिनिधहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

शपथ ग्रहण गरेका १८ वटै पालिकाका प्रमुखले आजै आ—आफनो पालिकामा पदभार समेत ग्रहण गर्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्रवाट निर्वाचित हुनुभएका नगर प्रमुख मनोज साह र नेपाली काँग्रेसबाट निर्वाचित नगर उपप्रमुख किशोरी साहले पदभार ग्रहण गर्नुभयो । 

जनकपुरधाम उपमहानगरपालिकाका कार्यकारी अधिकृत प्रद्युम्न उपाध्याले दुवै जनालाई पदभार ग्रहण गराउनुभयो । पदभार ग्रहण पश्चात सञ्चारकर्मीसँगको कुराकानीमा नगर प्रमुख साहले आजै आफुले दुईवटा निर्णय गरेको बताउनुभयो । सफाईको सवालमा रहदैआएको केन्द्रीकृत प्रणालीलाई बिकेन्द्रीकृत गरी नगरको प्रत्येक वडाको सफाईको जिम्मा वाडालाई नै दिने, त्यसको लागि आवश्यक स्रोत साधन नगरपालिकाले व्यवस्थापन गर्ने र नगरपािलका भित्रका कामकाज लाई पारदर्शी बनाउन सूचना डेस्क स्थापना गरी समय समयमा सूचना प्रवाह गर्ने निर्णय भएको बताउनुभयो ।