• २८ पुस २०८१, आइतबार

‘आइभिएफ’ सन्तान प्राप्त गर्ने अवसर

blog

काठमाडौँ, पुस २८ गते । निःसन्तान दम्पतीका लागि आइभिएफ प्रविधि सन्तान सुख प्राप्त गर्ने अवसरका रूपमा देखिएको छ । विवाहपछि बर्सौंसम्म सन्तान नभएका दम्पतीका लागि आइभिएफ प्रविधिबाट बच्चा जन्माउन सकिन्छ । 

विराटनगरकी कल्पना दाहाल (नाम परिवर्तन) ३० वर्षकी भइसक्नुभयो । हाल उहाँ कोटेश्वर बस्दै आउनुभएको छ । विवाह गरेको सात वर्ष भइसक्दा पनि बच्चा नभएपछि पछिल्लो समय उहाँ आइभिएफ (इन–भिट्रो फर्टिलाइजेसन) मार्फत सन्तान जन्माउने बाटोमा लाग्नुभएको छ । 

यस्तै बौद्ध जोरपाटी बस्ने सुजना कडेलको पनि विवाह भएको नौ वर्षसम्म सन्तान नभएपछि उहाँले आइभिएफबाट सन्तान जन्माउनुभएको हो । उहाँले आइभिएफ प्रविधिबाट सन्तान जन्माउँदा आठ लाख रुपियाँ खर्च लागेको जानकारी दिनुभयो । “विवाह गरेको बर्सौंसम्म पनि सन्तान नहुनुको पीडा छुट्टै हुने रहेछ,” कडेलले भन्नुभयो, “बच्चा भएन भने समाजले आफूप्रति हेर्ने दृष्टिकोण फरक हुने रहेछ ।” उहाँले बच्चा नभई दम्पतीबिचको समन्वयले बाँच्न सके पनि परिवार र समाजका लागि भए पनि बच्चा अनिवार्य हुने रहेछ भन्नुभयो । 

आइभिएफबाट सन्तान जन्माउन अचेल थुप्रै निजी संस्थाका अतिरिक्त सरकारी स्तरमा थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालबाट आइभिएफबाट बच्चा जन्माउने गरिन्छ । सो अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले आइभिएफ टिममा चार जना गाइनोकोलोजिस्ट र एक जना इम्ब्रायोलोजिस्टको टिम रहेको जानकारी दिनुभयो । उहाँले आइभिएफमै काम गर्ने तीन जना नर्ससहित आठ जनाको समूह आइभिएफबाट निःसन्तान दम्पतीको सन्तान जन्माउने काम भइरहेको बताउनुभयो । 

अस्पतालका निर्देशक डा. अधिकारीका अनुसार थापाथली प्रसूति गृहमा विसं २०७० माआइभिएफ प्रविधि भित्रिएको हो । नेपालमा आइभिएफबाट टेस्ट ट्युब बेबीको जन्म भने सन् २००६ मा पहिलो पटक भएको हो । राजेन्द्र तामाङ र सन्ध्या तामाङका छोरा अनमोलमणि नेपालमा पहिलो आइभिएफबाट जन्मनुभएको हो । 

के हो आइभिएफ प्रविधि ?

आइभिएफ विशेषज्ञ डा. अर्चना शाक्यका अनुसार आइभिएफ लामो समयसम्म सन्तान नभएका दम्पतीका लागि सन्तान उत्पादन गराउने उपचार हो । डा. शाक्यले लामो समयसम्म सन्तान भइरहेका छैनन् भने महिलाको डिम्ब र पुरुषको शुक्रकीटलाई निकाली बाहिर ल्याबमा ‘फर्टिलाइजेसन’ गरेर बच्चा जन्माउने विधि नै आइभिएफ भएको बताउनुभयो । उहाँले सुरुमा महिलाको सबै जाँच गर्नुपर्ने बताउनुभयो । यसको परीक्षण महिनावारी भएको दोस्रो दिनमा गरिन्छ । परीक्षणपछि महिलाहरूको डिम्ब हेरिन्छ र राम्रो गुणस्तरको डिम्बलाई ल्याबमा निकालिन्छ । त्यसबेला पुरुषको पनि शुक्रकीट निकालिन्छ । त्यसलाई ल्याबमा राखेर निशेचन गर्ने गरिन्छ । त्यसपछि महिलाको गर्भाशयमा राखेर गर्भवती बनाइन्छ ।

डा. शाक्यले आइभिएफबाट जन्मिएका बच्चा आफ्नै हुने बताउनुभयो । उहाँले महिलाको डिम्ब र पुरुषको शुक्रकीटलाई नै मिलाएर गर्भवती बनाइने बताउनुभयो । बच्चा बसेपछि 

बच्चाको वृद्धि प्रक्रियालाई महिलाको गर्भाशयमा राखिने र यसमा सामान्य गर्भधारण जस्तै समय लाग्ने गरेको बताउनुभयो । 

विदेशबाट फर्किएकामा बाँझोपनको समस्या

डा. शाक्यले आफूसँग उपचारका लागि आउने ४५ प्रतिशत पुरुष रहेको बताउनुभयो । उहाँले तीमध्ये विदेशमा गएर आएका पुरुषमा बाँझोपनको समस्या रहेको जानकारी दिनुभयो । डा. शाक्यका अनुसार विदेशमा अत्यधिक कम तापक्रममा काम गर्नुपर्ने भएकाले बाँझोपनको समस्या हुने गरेको पाइन्छ । उहाँले आइभिएफबाट बच्चा जन्माउँदा राम्रो र सफल हुने बताउनुभयो । उहाँका अनुसार नेपालमा ८० प्रतिशतसम्म आइभिएफ सफल छ ।

परोपकार तथा प्रसूति रोग अस्पतालका निर्देशक डा. अधिकारीले कतिपय महिलाको अण्डाशयमा अण्डा नबन्ने समस्या रहेको बताउनुभयो । उहाँका अनुसार बनेका ससाना डिम्ब नबढ्ने भएकाले गर्भधारण हुन नसक्ने र कतिपय महिलाको पाठेघरको नली पूरा बन्द हुँदा निःसन्तानको समस्या हुने गरेको छ ।

 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।