सुलीकोट समाचारदाता
सुलीकोट, असोज ३१ गते । गोरखाको ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको बारपाक सुलीकोट गाउँपालिका पछिल्ला वर्ष कृषि क्षेत्रबाट पनि पहिचान बनाउन थालेको छ । गाउँपालिकाको वडा नं. १ का कृषक चन्द्रबहादुर घले अहिले किवी खेतीका कारण स्थानीय र आसपासका क्षेत्रमा उदाहरणीय बन्नुभएको छ ।
करिब आठ वर्षअघि परम्परागत खेतीबाट खासै आम्दानी नहुने देखेपछि घलेले नयाँ विकल्पको खोजी सुरु गर्नुभएको थियो । उहाँले आफ्ना साथीमार्फत पहिलो पटक किवी फलबारे बुझ्नुभएको थियो । उच्च चिसो हावापानी, ढिस्को जमिन र अर्गानिक उत्पादनका लागि उपयुक्त हुने फल भनेपछि २०७६ सालमा उहाँले बजारबाट प्रतिबिरुवा २५० रुपियाँका दरले सयभन्दा बढी बिरुवा खरिद गरी आफ्नै खेतमा रोप्नुभएको थियो ।
उहाँले भन्नुभयो, “यो फल यो भूगोलमा हुन्न कि भन्ने कुरामा हामी सबैलाई शङ्का थियो तर अहिले गाउँमा सबैले यो फल फलेको देखेपछि विश्वास गर्न थालेका छन् ।” उहाँको बारीमा रोपेको तीन वर्षपछि बोटले पहिलो पटक फल दिन सुरु गरेको बताउनुभयो । अहिले ती बोट परिपक्व भएर नियमित रूपमा उत्पादन दिइरहेका छन् । घलेका अनुसार अहिले वार्षिक करिब १० क्विन्टल किवी उत्पादन हुने गरेको छ ।
किवी गाउँमै प्रतिकिलो तीन सय रुपियाँमा सजिलै बिक्री हुन्छ । बजारसम्म लैजानु नपर्ने, ग्राहक स्वयम् घरमै आएर फल किन्न पुग्ने गरेको घले बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कसैले कोसेलीका रूपमा काठमाडौँ पठाउँछन्, कसैले स्वास्थ्यका लागि नियमित रूपमा किन्न आउँछन्, उत्पादन हुन सक्यो भने बजारको समस्या देखिएको छैन ।”
असिनापानी र हुरीबतासबाट जोगाउन सक्यो भने एक वर्षमा करिब तीन लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ । बारपाक क्षेत्रको चिसो मौसम र प्राकृतिक मल प्रयोगका कारण यहाँको किवी पूर्ण अर्गानिक मानिन्छ । रासायनिक मल र विषादीको प्रयोग नगरी उत्पादन हुने भएकाले उपभोक्तामा यसको माग बढ्दो छ । घले बताउनुहुन्छ, “हाम्रो उत्पादनको स्वाद नै फरक छ । यहाँको माटो र पानी शुद्ध छ । गाउँमा आउने पाहुनाले स्वाद लिएपछि बारम्बार माग बढ्दै गएको छ ।”
घलेको सफलताले गाउँका अन्य किसान पनि प्रेरित भएका छन् । यही उत्साहका कारण गाउँपालिकाका वडा नं. १ र २ ले हालसम्म तीन हजारभन्दा बढी किवीका बिरुवा अनुदानमा वितरण गरेको वडाध्यक्ष धनबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बारपाकलाई आगामी केही वर्षभित्र किवी पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यमा छौँ ।”
स्थानीय कृषकले देखाएको चासो र सरकारी सहयोग निरन्तर रहँदा बारपाक क्षेत्रमा किवी खेतीले ठुला परिवर्तन ल्याउने विश्वास लिइएको छ । यो खेतीले किसानको आय बढाउने मात्र होइन, गाउँको पहिचानलाई पनि नयाँ रूपमा उजागर गर्ने अपेक्षा गरिएको छ । कृषि विशेषज्ञको भनाइमा बारपाक क्षेत्रको जलवायु र भौगोलिक बनोट किवी खेतीका लागि अत्यन्त उपयुक्त छ । यदि उचित प्रविधि, प्रशोधन केन्द्र र बजार व्यवस्थापनको पहल गरियो भने यहाँको किवी राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सक्छ ।