• २९ भदौ २०८२, आइतबार

घाइते भेट्न प्रम कार्की अस्पतालमा

‘जुन उद्देश्यले लड्नुभयो, त्यो पूरा गर्ने छु’

blog

काठमाडौँ, भदौ २८ गते । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भई अस्पताल भर्ना भएका बिरामीलाई भेट्नुभएको छ । उहाँले शनिबार दिउँसो महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पतालमा गई घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभयो । 

ट्रमा सेन्टरमा भर्ना भएर घाइते भएकाहरू प्रत्येकलाई उहाँले भेट गर्नुभएको थियो । ट्रमा सेन्टरका ३० जना घाइते प्रत्येकलाई भेटेर उहाँले स्वास्थ्य लाभको कामना गर्दै घाइतेको अवस्थाबारे जानकारी लिनुभयो । त्यसअघि ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालसँग प्रधानमन्त्री कार्कीले घाइतेहरूको अवस्थाको बारेमा जानकारी लिनुभएको थियो । अस्पतालका निर्देशक डा. रिजालले हाल घाइतेमध्ये अधिकांश डिस्चार्ज भइसकेको र अस्पतालमा ३६ जनाको उपचार भइरहेको जानकारी गराउनुभएको थियो । ३६ जनामध्ये छ, जनाको आइसियुमा उपचार भइरहेको छ, बाँकी ३० जनाको वार्डमा भर्ना गरेर उपचार भइरहेको जानकारी प्रधानमन्त्रीलाई गराउनुभयो । उहाँले हाल घाइतेको अवस्था सुधार हुँदै गएको जवाफ दिनुभएको थियो । 

भेटमा प्रधानमन्त्री कार्कीले घाइतेहरूलाई आश्वासन दिँदै आफू जेनजीको सपना पूरा गर्नका लागि आएकाले त्यो सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूले जुन उद्देश्यका लागि लड्नुभएको थियो, जे उद्देश्य प्राप्त गर्न घाइते हुनुभयो, म त्यो उद्देश्य पूरा गर्न आएको हो । यसमा तपार्इंहरू ढुक्क हुनुहोस् ।” यस्तै घाइतेहरूले आफूलाई घाइते भएकामा कुनै पश्चाताप नभएको बताएका थिए । घाइते भएकाहरूले देशका लागि लडेर घाइते भएको भन्दै बलिदान खेर जान नदिन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । 

यसै गरी प्रधानमन्त्री कार्कीले नयाँ बानेश्वरस्थित नेपाल निजामती अस्पतालमा गई घाइतेहरूसँग भेट गर्नुभएको थियो । सो अस्पतालमा रहेका १० जना घाइतेलाई प्रधानमन्त्री कार्कीले भेट गर्नुभएको हो । निजामती अस्पतालका घाइतेहरूले आफ्नो बलिदानी खेर जान नदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले आफू जेनजीको सपना पूरा गर्न आएकाले काम गरेर देखाउने बताउनुभयो ।नेपाल निजामती अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले अस्पतालमा आएका ४९७ जना घाइतेमध्ये ११ जनाको वार्डमा भर्ना गरेर उपचार भइरहेको जानकारी दिनुभयो । उहाँले दुई जनाको आइसियुमा उपचार भइरहेको बताउनुभयो । 

प्रहरी कार्यालयको निरीक्षण 

यसै गरी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी वृत्त महाराजगन्ज र कोटेश्वर प्रहरी प्रभागको निरीक्षण गर्नुभएको छ । प्रदर्शनकारीको उच्छृङ्खल भिडले दुवै प्रहरी युनिटमा कार्यरत चार जना प्रहरीको निर्मम रूपमा हत्या गरेका थिए । क्षतिग्रस्त प्रहरी युनिटहरूको निरीक्षणपश्चात् प्रधानमन्त्री कार्कीले कोटेश्वर प्रहरी प्रभाग र महाराजगन्ज प्रहरी वृत्तका प्रमुखसँग घटनाबारे जानकारी लिनुभएको थियो । प्रदर्शनकारीको आक्रमणबाट महराजगन्ज प्रहरी वृत्तका दुई जना र कोटेश्वर प्रहरी प्रभागका एक जना गरी तीन जना प्रहरीको मृत्यु भएको थियो ।

प्रदर्शनका क्रममा घाइते भएका ३३ जना प्रहरीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  

मुख्यसचिवसहितसँग ‘ब्रिफिङ’ 

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उपस्थित भई उहाँले पदभार ग्रहण गर्नुहुने छ । उहाँले शनिबार मन्त्रीपरिषद् कस्तो बनाउने र क–कसलाई समावेश गर्ने भन्ने सन्दर्भमा आन्दोलनकारी जेनजी समूह र सरोकारवालासँग संवाद गर्नुभयो । 

प्रधानमन्त्री कार्कीले देशको परिस्थिति र अबको मार्गचित्रका सन्दर्भमा मुख्यसचिव एकनारायण अर्यालसहित गृह मन्त्रालय र अर्थ मन्त्रालयका उच्च पदाधिकारीसँग शनिबार नै ‘ब्रिफिङ’ लिनुभएको छ ।  

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।