• १ कात्तिक २०८२, शनिबार

आवासविहीनलाई आश्रयको व्यवस्था

blog

बागलुङ समाचारदाता 

बागलुङ, असोज ३१ गते । बागलुङको बडीगाड गाउँपालिका–५, कालीमाटीखोला किनारको ओडारमा रात बिताउँदै आएको एक परिवारलाई आश्रयको व्यवस्था गरिएको छ । वडा र गाउँपालिकाको समन्वयमा बडीगाड गाउँपालिका–४, जलजलाका केशव पुनको परिवारलाई आश्रयको व्यवस्था गरिएको हो । घरधनीले बस्दै आएको घरबाट निस्कन भनेपछि पुन परिवार ओत लाग्न ओडारको सहारा लिन बाध्य भएको समाचार यसअघि गोरखापत्रले प्रकाशित गरेको थियो । साबिक ग्वालीचौर गाविस–२ मा रहेको सिद्ध प्राथमिक विद्यालयको भवनमा तत्कालका लागि आठ सदस्यीय केशव पुनको परिवारलाई आश्रयको व्यवस्था गरिएको वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । 

बडीगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले वास्तविक श्रमजीवी वर्गका लागि पालिका सहयोग गर्न सधैँ तयार रहेको बताउनुभयो । अध्यक्ष अधिकारीले भन्नुभयो, “जेनजी आन्दोलनपछि भएको सरकार परिवर्तनले तत्कालका लागि सुकुमवासी तथा अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनको काम भने रोकिएको छ । यो परिवारका लागि स्थानीयले पनि सहयोग गरेकाले पालिकाले गर्न मिल्ने सहयोग गरेका छौँ ।” जलजलाका पुन परिवारका लागि ग्वालीचौरका स्थानीयवासीले जग्गासमेत उपलब्ध गराएका छन् । सोही जग्गामा गाउँपालिकाले छानाको व्यवस्थापन गर्ने र स्थानीय सामुदायिक वनबाट आवश्यक काठ उपलब्ध गराउने गरी पुन परिवारका लागि स्थायी आवास निर्माण गरिने गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । 

घरधनीले बस्दै आएको घरबाट निस्कन भनेपछि ४६ वर्षीय घरविहीन केशव पुनसहित परिवारका आठ सदस्यले ओत लाग्न ओडारको सहारा लिएका थिए । जीवनको उत्तरार्धमा रहेकी ८२ वर्षीय आमा जमुनाकुमारी पुनसहित केशव तथा छोराहरू पदम र अशिषले ओडारमा दिनरात बिताउन बाध्य हुनुभएको थियो ।