• ९ जेठ २०८१, बुधबार

त्रियुगा नगरपालिकामा मतगणना सुरु

blog

भोटराज राई
उदयपुर, जेठ १० गते ।
विवादका कारण रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना मङ्गलबारबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेमा सुरु भएको छ ।

त्रियुगाको वडा नं.–१२ को मतदान विवादित बनेपछि सो वडामा पुनः मतदान गराउने वा मतगणना भन्ने अन्यौलता भएको थियो । निर्वाचन आयोगले मतगणनाका लागि निर्देशन दिएपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान साढे १० बजे सुरु हुने सूचना जारी गरेकोमा प्राविधिक कारण देखाउँदै केही ढिलाे गरेको छ ।

प्राविधिक कारणले केही ढिलो गरी मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले बताउनुभयो । मतगणनास्थलमा गणना कर्मचारी, उम्मेदवारको प्रतिनिधिहरु वडा नं.–१ उपस्थित रहेका छन् । मतगणना त्रियुगाको वडा नं.–१ बाट सुरु गरिएको छ ।

चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा छ वटाको गणना सकिसकेको छ । निर्वाचित दुई नगरपालिकाका प्रमुख र चार गाउँपालिकाका अध्यक्षहरुले जिल्ला न्यायाधीशबाट सपथ ग्रहण गरिसकेका छन् । साथै पालिकाका निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहणसमेत गरिसकेका छन् । कटारी नगरपालिकाको गणना अन्तिम चरणमा पुगेको छ ।