• २७ पुस २०८१, शनिबार

राष्ट्रिय एकताका प्रवर्तक

blog

आधुनिक नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह नेपाली राष्ट्रियताको जनक हुनुहुन्थ्यो । यस हिमाली भेगमा छरिएर रहेका ससाना राज्य रजौटालाई एकसूत्रमा बाँधी राष्ट्रिय एकीकरण गरी राष्ट्रिय एकताको उद्घोष गर्नुभएको थियो । एउटा सानो राज्य गोरखाको राजा भएर पनि उहाँले अन्य राज्यलाई पनि एउटै मालामा गाभी विशाल नेपाल निर्माण गर्नुभएको थियो । उहाँले गोरखा राज्यको विस्तार नगरी अरू राज्यलाई समेत मिलाएर एउटा शक्ति राष्ट्रको रूपमा स्थापित गर्नुभएको थियो । किनभने त्यतिबेला भारतमा अङ्ग्रेजले ससाना राज्य रजौटामाथि आक्रमण गरी आफ्नो साम्राज्यमा विलय गर्ने अभियान थालिसकेका थिए ।

त्यस खतराबाट सचेत भई पृथ्वीनारायण शाहले यस पहाडी क्षेत्रका ससाना भुरे टाकुरे रजौटालाई समेत साथ लिई सङ्गठित रूपमै अङ्ग्रेजसित प्रतिकार गर्ने आङ्काक्षा राख्नुभएको थियो । त्यही सङ्गठित शक्ति आर्जन गर्ने उद्देश्यले पृथ्वीनारायण शाह राष्ट्रिय एकीकरणको महान् यज्ञमा होमिनु भएको थियो । यदि उहाँमा विस्तारवादी नीति भएको भए यस मुलुकको नाम नेपाल न राखेर गोरखा नै राख्नुहुन्थ्यो होला । त्यति मात्र नभई राष्ट्रिय एकीकरणपछि उहाँले “मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबै जातको फूलबारी हो, सबैलाई चेतना भया” भनी राष्ट्रियताको विजारोपण गर्नुभएको थियो । नेपाल राष्ट्रलाई सबै जात जातिको साझा फूलबारीको संज्ञा दिई लोकतन्त्र र समानताको उद्घोष गर्नुभयो ।

यसरी उहाँमा विजेताको अभिमान पट्कै थिएन । त्यसैले विजित राज्यमाथि युद्धबन्दी र अमानवीय व्यवहार गर्नुभएन । विजित राज्यका जनताप्रति भेदभाव र अन्याय हुन नदिई शान्ति सुरक्षाको प्रत्याभूति दिनुहुन्थ्यो । ससाना राज्य रजौटाबिचका आन्तरिक कलहले गर्दा जनता प्रताडित भइरहन्थे । विजित राज्यले विजेतामाथि अनेक थरिका दबाब र पीडा थपिरहन्थे । त्यति मात्र नभई विजेता राजाहरूले आफ्नो राज्यलाई भाइछोरामा अंशबन्डा गरी बाँड्थे । विस्तारित राज्य त्यहाँका जनताको सम्पत्ति र अधिकारको कुरा नभएर विजित राजाहरूको सन्तानकै निजी सम्पत्ति थियो । जसलाई आपसमै बाँडफाँट गरी सत्ता भोगमा प्रयोग गर्दथे । यस्ता विसङ्गतिलाई राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले अन्त्य गरी गोरखा राज्यलाई नेपाल राज्यमा रूपान्तरण गरी विशाल हृदयको परिचय दिनुभयो ।

वास्तवमा नेपाललाई आधुनिक राष्ट्रिय राज्यमा परिवर्तन गरी पृथ्वीनारायण शाहले मुलुकलाई स्वावलम्बी, स्वाभिमान बनाउनुभयो । त्यति मात्र नभई मुलुकलाई विधिसम्मत सञ्चालन गर्न थिति बसाल्नुभएको थियो । उहाँ प्रजातान्त्रिक विधि अनुसार शासन व्यवस्था चलाउनुहुन्थ्यो । निरङ्कुश, सामन्ती र स्वेच्छाचारी शासन शैली र पद्धतिको विपक्षमा रहनुहुने उहाँ गतिशील लोकतन्त्रको पक्षमा हुनुहुन्थ्यो । त्यसैले उहाँले भन्नुभएको थियो, “उप्रान्त राजा रामशाहले बाँध्यको थिति हेरि सके राजा जयस्थिति मल्लले बाँध्यको थिति हेरि सके राजा महिन्द्र मल्लले बाँध्यको थिति पनि हेरि सके ईश्वर दियो भन्या म पनि यस्ता बन्देज बाछ हजारको थिति बाँधि जाला भन्या अभिलाषा थियो र निञाशास्त्र बमोजिम अदालतथ चलाउनु ।” 

उहाँले “प्रजा मोटा भया दरबार बलियो हुन्छ र राजाका भण्डार भन्याका रैतानहरू हुन” भनी जस्ता जनता (प्रजा) लाई बलियो अर्थात् धनी सम्पन्न बनाउन चाहनुहुन्थ्यो । जनताको सम्पन्नता नै राजाका भण्डार अर्थात् सम्पत्ति हुन् भन्ने उहाँको विचार थियो । त्यस्तै ‘निजा निसाप बिगान्र्या भन्याको घुस दिन्या र घुस षान्या इन दुईको ता धनजीव गरीलियाको पनि पाप छैन ई राजाका महासतुर हुन’ भनी दिव्य उपदेशमा भन्नुभएको थियो । अर्थात् न्याय इन्साफ बिगारेर घुस दिने र घुस खाने दुवैको धन र जीउहरण गरे पनि पाप लाग्ने छैन किनभने यी राजा र देशका महाशत्रु हुन् ।

यसरी अढाई सय वर्षअघि मुलुकमा भ्रष्टाचार र घुसखोरी प्रथाको अन्त्य गर्न उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो । जो अहिलेको लोकतान्त्रिक नेपालको सन्दर्भमा उपयुक्त छन् । मुलुकको आन्तरिक प्रशासनलाई जनताको हितमा प्रयोग गर्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सदिच्छालाई उच्च मूल्याङ्कन गर्नु पर्छ । मुलुकको शान्ति सुरक्षा र सुशासनका अतिरिक्त नेपालको अस्तित्वलाई चिरकालसम्म जोगाइराख्न उहाँको दूरदर्शिताले त नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्न ठुलो मार्गदर्शनको काम गरेको छ । उहाँले “उप्रान्त यो राजे दुई ढुङ्गााको तरुल जस्तो रहेको छ, चीन बादशाहसित ठुलो घाहा राषनु, दषिनको समुद्रको बादशाहसित घाहा राषनु तर यो महाचतुर छ” भन्ने दिव्य उपदेश नेपालको असंलग्न परराष्ट्र नीतिको आधार स्तम्भ हो । अर्थात् दुई ढुङ्गा बिचको तरुल भनेको चीन र भारत जस्तो दुई देशको बीचमा नेपाल स्थित छ । 

दुवैसित समान सम्बन्ध राख्नु पर्दछ । एउटासित विशेष सम्बन्ध र अर्कोसित औपचारिक सम्बन्ध नराखी सम दुरीको सिद्धान्तमा सम्बन्ध राख्नु पर्दछ । दुवै देशबिच सन्तुलन बनाइराख्नु पर्दछ । यसरी परराष्ट्र नीतिको जग राष्ट्रनिर्माता पृथ्वीनारायण शाहद्वारा नै शिलान्यास गरिएको थियो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका मार्मिक दिव्य उपदेशहरू नेपालका वर्तमान शासकहरूले आत्मसात् गरेमा मुलुकको राष्ट्रियता स्वाधीनता र विदेशी हस्तक्षेपलाई निषेध गर्न टेवा पुग्ने छ । पृथ्वीनारायण शाहको असीम साहस, कूटनीतिज्ञ चातुर्यता र सैन्य सङ्गठनले गर्दा राज्य रजौटाहरू एकीकरण हुन सक्यो । उहाँले विसं १८०० मा राज्याभिषेकपछि १९ वर्षको उमेरमा एकीकरणको अभियान थाल्नु भई सर्वप्रथम विसं १८०१ आश्विन १५ गतेका दिन नुवाकोटमाथि आक्रमण गर्नुभएको थियो । विसं १९११ साउन २१ गतेका दिन नगरकोट र दहचोकमाथि आक्रमण गरी दखल गर्नुभयो । त्यसपछि विशाल मकवानपुर राज्यमाथि आक्रमण गर्दा ठुलो सङ्घर्ष गर्नु प¥यो । मकवानपुरका राजाको मद्दतमा आएका बङ्गालका नबाव मिरकासिमको सेनासित गोरखाली सेनाको कैयौँ दिनसम्म युद्ध चल्यो र अन्त्यमा गोरखाली सेनाको अगाडि बङ्गाली सेना पनि पराजय भोग्नु प¥यो ।

त्यस्तै कीर्तिपुरमाथि आक्रमण गरी विसं १८२२ चैत ३ गते एकीकरण गर्नुभयो भने विसं १८२४ असोज १५ गते कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सहयोगार्थ अङ्ग्रेजी फौज आएको थाहा पाएपछि गोरखाली सेनाले सिन्धुलीगढीलाई चारैतिरबाट घेरा हालि आक्रमण गरे । त्यस युद्धमा हजारौँ अङ्ग्रेजी फौजले मृत्युवरण गरे भने कति ज्यान जोगाएर भागे । यसरी अङ्ग्रेजी फौजलाई हराएर विसं १८२५ असोज १५ गतेका दिन कान्तिपुर (काठमाडौँ) माथि गोरखाली फौजले सजिलैसित विजय हासिल गरी एकीकरण ग¥यो । त्यसको लगतै ललितपुर र भक्तपुर पनि एकीकरण भयो । विसं १८३० साउनमा चौदण्डी माझकिराँत र पल्लोकिरात प्रदेशलाई पनि एकीकरण गरियो । पूर्वी तराईका सप्तरी, सिराहा, महोत्तरी र मोरङ प्रदेश चौदण्डी राज्य अन्तर्गत थियो । चौदण्डीका अन्तिम राजा कर्णसेनलाई हराएर त्यस अन्तर्गतका समस्त तराई क्षेत्र नेपाल अधिराज्यमा गाभियो । यसरी पृथ्वीनारायण शाहले बडो बुद्धिमत्ता र रणकौशलताबाट नेपाल राष्ट्रको निर्माण गर्नुभयो ।

पृथ्वीनारायाण शाहले विजित राज्यका जनतामाथि आफ्नो भाषा र संस्कृति लादने काम गर्नुभएन । स्थानीय जनताको भाषा, संस्कृति, परम्परा रीतिरिवाजलाई मान्यता दिई त्यसलाई राष्ट्रिय स्वरूप प्रदान गर्नुभयो । जस्तो कि काठमाडौँ उपत्यकालाई विजय गरेपछि यहाँका नेवारी भाषा, संस्कृति, कला र नाच गानलाई प्रोत्साहन दिन उदारता देखाउनुभयो । उहाँको दिव्य उपदेशमा ‘आफ्ना सोख सयललाई त बमोजिमको तिनै सहर नेपालका नेवारहरूका नाच झिकाई हेरे पनि हुन्छ । यिनमा त दिएको पनि आफ्नै देशमा रहन्छ । यसो भए आफ्नो देश सुरक्षित रहन्छ ।’ यसरी स्थानीय संस्कृतिलाई बढावा दिई राष्ट्रियताको सन्देश प्रवाहित गर्नुभयो । त्यस्तै तराईको मकवानपुर राज्य विजय गरेपछि त्यहाँका भाषासंस्कृति माथि हस्तक्षेप नगरी स्वतन्त्र छोडिदिनुभयो । त्यहाँका मठ मन्दिरका पूजारीहरूलाई मैथिली भाषामा लालमोहर प्रदान गरिएको थियो । जनकपुरका महन्थ सुमरन दासलाई विसं १८२८ मा मैथिली भाषामा लालमोहर दिँदै भनिएको थियो–‘श्री दुर्गा सहाय स्पस्ति श्री गिरीराज चक्र चुडामणि नर नारायणोत्यादि विविधविरुदावली विराजमान मनोन्नत श्री मन्महाराजधिराज श्री श्री श्री श्री पृथ्वी नारायण शाह देव देवानाम सदा समर विजयनाम आगे जनकपुर बेलाही ससिम साविक बदस्तुर कुश विर्ता जाति श्री ..... प्रति बहाल कै दिया । अप्पने षातिर जमासै वै वसावे आवाद कै कुश विर्ति जाति सबै अंक बेतलव भोग्य किया करे श्री का सेवा पूजा किया करै श्री हजुरको आसृिवाद दिया करे धर्म चलाया करै, इति सम्वत् १८२८ साल भीति चैत वदी १ रोज ६ मौकाम काठमाण्डौं शुभम् ।’

त्यस्तै विसं १८१९ मा सप्तरीका जितु राउतलाई पहिला सेनवंशी राजाद्वारा दिइएका बिर्ता राष्ट्र एकीकरण गरेपछि पनि पृथ्वीनारायण शाहद्वारा थामि दिइएको थियो । जुन यस प्रकार थियो–‘स्वस्ति श्री गिरिराज चक्र चुडामणि नरनारायणेत्यादि विविध विरुदावलि विराजमान मनोन्नत श्री मन्त्महाराजधिराज श्री पृथ्वीनारायण शाहदेव देवानाम सक्षसमर विजयनाम आगे जीतु राउत के प्रगना चेखन्त मौजे कलावनजर अंक १ से जे तरह सौ देल रहै से संहित हम उगाद वक्स क देल है । अप्पन षातीज जीतु के सभ माफ क देल है मौकदमी सेहो जीतु राउत के देल है । अप्पन षातिर वैसु हजुर के सेवा करु, इति सम्बत् १८१९ साल फागुन सुदी रोज १ हरिहरपुर शुभम् ।’

विजयपुर (धरान)का कालिका मन्दिरको पुजारीलाई थमौती गरी विसं १८३१ कात्तिकमा लालमोहर गरी दिइएको थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विजित भूभागमा आफ्नो हैकम नचलाई स्थानीय भाषा र संस्कृतिलाई प्रश्रय दिई महìव प्रदान गरिएको थियो । यसरी हेर्दा पृथ्वीनारायण शाह एक दुरदर्शी, राष्ट्रिय एकता र सामाजिक सद्भावले ओतप्रोत भएका राजा हुनुहुन्थ्यो । उहाँद्वारा आर्जित नेपाल राष्ट्रका हामी नेपाली जनता युगानुकूल अक्षुण्ण राखी आपसी सामाजिक सद्भाव कायम राख्न ईश्वरले बुद्धिप्रदान गरोस् ।

 

Author

रामनारायण देव