गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २७ गते । नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकले बुद्ध एयरबाट प्रदान गरिने हवाई र कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट पाउने भएका छन् । बैङ्कमा कार्यरत कर्मचारी र बैङ्कमा खाता रहेका ग्राहकलाई बुद्ध एयरबाट प्रदान गरिने छुट प्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार बुद्ध एयरबाट प्रदान गरिने विविध सेवामा लाग्ने शुल्कमा नेपाल बैङ्कमा कार्यरत कर्मचारी र ग्राहकलाई टिकट शुल्कमा आठ प्रतिशत र बैङ्कमा कार्यरत कर्मचारीलाई कार्गो सेवामा ३० प्रतिशतले छुट हुने भएको छ ।
सम्झौतापत्रमा बैङ्कका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एयरका तर्फबाट मार्केटिङ निर्देशक रूपेश जोशीले हस्ताक्षर गर्नुभयो ।