• २६ पुस २०८१, शुक्रबार

पोखरामा 'अर्केष्ट्रा' हुने

blog

सन्तोष सुवेदी

कास्की, पुस २६ गते । मौलिक लोक भाकाहरुको प्रस्तुति गण्डकीका धुनहरु (अर्केष्ट्रा) कार्यक्रम पोखरामा हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखरा साङ्गीतिक कलाकार संघ नेपालसँगको सहकार्यमा पुस २७ गते शनिबार कार्यक्रम गर्न लागेको हो । 

काठमाडौं र गण्डकीका वरिष्ठ वाद्यवादकहरू सम्मिलित यस कार्यक्रममार्फत् नेपाली मौलिक बाजाबाट निस्कने धुनको शक्ति प्रत्यक्ष अनुभूत गर्न पाइनेछ ।

राष्ट्रिय एकता दिवसको सन्दर्भमा गण्डकीमा पहिलो पटक ४० जना कलाकारहरूको सामूहिक प्रस्तुति रहने गरी कार्यक्रम गर्न लागिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

पूर्वदेखि पश्चिमसम्मका कलाकारले भाका र कल्चरलाई जान्ने मौका यो कार्यक्रमले दिने उहाँको विश्वास छ । लोपोन्मुख भाकालाई माथि ल्याएर विश्वस्तरमा पुर्‍याउन पूर्ण अर्केष्ट्राको रुप दिन राज्यले सहयोग गरे विश्वस्तरमा पुर्‍याउन सकिने उहाँले सुनाउनुभयो ।

यस कार्यक्रमका संगीत संयोजक तथा निर्देशक प्राज्ञ अशोक राईले पोखरामा अर्केष्ट्राको पहिलो स्वरुप प्रदर्शन गर्न लागिएको बताउनुभयो । कार्यक्रममा मूलत गण्डकी प्रदेशका धुनहरु र यहाँका अग्रज स्रष्टाका सिर्जनालाई पहिलो प्राथमिकता दिएर प्रस्तुति राख्न लागिएको बताउनुभयो । उहाँका अनुसार सातै प्रदेशको प्रतिनिधिमूलक धुनहरु प्रस्तुत गरिनेछ । परम्परागत रुपमा रहेका सुर र ताल बाजालाई संयोजन गरिने छ । अर्केष्ट्रा चार वटा फेजमा प्रस्तुत गरिनेछ । १८ वटा प्रस्तुति ५८ मिनेटमा गरिनेछ ।

प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले कार्यक्रमलाई धेरैले चासोको रुपमा हेरेको बताउनुभयो । उहाँले कला क्षेत्रको सीपले अवसरहरुको समेत सिर्जना गर्ने गरेको बताउनभयो । कार्यक्रम अपरान्ह ३ः४० बजेबाट प्रतिष्ठानको भानु हलमा सुरु हुनेछ ।