• २५ पुस २०८१, बिहिबार

जय ट्रफी : बागमतीविरुद्ध आर्मीको फराकिलो अग्रता

blog

ब्याटिङ गर्दै पुलिसका कुशल भूर्तेल । तस्बिर : क्यान

काठमाडौँ, पुस २४ गते । ‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत तेस्रो खेलमा पहिलो दिन विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशविरुद्ध एक सय ५२ रनको अग्रता लिएको छ । 

जनकपुरस्थित रामजानकी खेल मैदानमा जारी प्रतियोगितामा बुधबारको खेल सकिँदा बागमती २२ ओभरमा पाँच विकेट गुमाएर एक सय २४ रन बनाएको छ । बागमतीका नन्दन यादव १८ र विपिन आचार्य एक रनमा अविजित हुनुहुन्छ । 

शुभ कंशाकार ३४, उत्तम मगर २८, रित गौतम २१ र आशुतोष घिरैया ११ रन बनाएर बाहिरिनु भयो । बलिङमा आर्मीका आकाश चन्दले तीन तथा सोमपाल कामीले दुई विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ६० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ७६ रन बनाएको थियो । आर्मीका लागि इम्रान शेखले ७२ रन बनाउनुभयो ।

उहाँले एक सय चार बलमा बलमा ११ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै बसिर अहमदले ६४ बलमा आठ चौकाको सहयोगमा अविजित ५३, तृतराज दासले ४४, कुशल मल्लले अविजित ३५ र भीम सार्कीले ३२ रन बनाउनुभयो । बिलङमा बागमतीका विपिन आचार्यले तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिनुभयो । 

यसैगरी वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध ४५ रनको अग्रता बनाएको छ । बुधबारको खेल सकिँदा पुलिसले ४० ओभरमा तीन विकेटको क्षतिमा एक सय ७४ रन बनाएको हो । 

पुलिसका लागि कुशल भूर्तेलले अर्धशतकीय इनिङ्स खेल्नुभयो । लामो समयपछि लयमा फर्किनुभएका कुशलले ६८ बलमा १० चौकाको सहयोगमा ६३ रन बनाउनुभएको हो ।यस्तै दिलिप नाथले ४० र गुलशन झाले २० रन बनाउनुभयो । अमित श्रेष्ठ ३४ र र कप्तान आरिफ शेख १३ रनमा अविजित हुनुहुन्छ । 

बलिङमा मधेशका हरिशङ्कर शाहले दुई तथा अभिषेक तिवारीले एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको मधेश ४२.४ ओभरमा एक सय २९ रन जोड्दै अलआउट भएको थियो ।