• ९ मंसिर २०८१, आइतबार

तल्लो मर्स्याङ्दीमा जलयात्रा प्रवर्धन

blog

पोखरा, जेठ १० गते । साहसिक पर्यटनका रूपमा लिइने जलयात्रा (-याफ्टिङ) प्रवर्धनका लागि पोखरा पर्यटन परिषद्ले तल्लो मर्स्याङ्दीलाई छनोट गरेकोे छ । परिषद्को नेतृत्वमा पोखराका विभिन्न पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिसहितको एक टोलीले हालै लमजुङ राइनासको तल्लो मर्स्याङ्दी नदीमा करिब २६ किलोमिटर जलयात्रा गरेर पर्यटन प्रवर्धनको प्रयास गरेको होे ।  

पोखरास्थित -यापिड रनर एक्स्पिडिसन्स प्रालिसँगको सहकार्य र नेपाल पर्यटन बोर्डको सहयोगमा ओझेलमा परेका गन्तव्यलाई प्रवर्द्धन गर्न परिषद्ले मर्स्याङ्दी नदीको तल्लो भाग -याफ्टिङलाई छनोट गरेको अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनापछि बिस्तारै चलायमान हुँदै आएको पर्यटन क्षेत्रमा साहसिक खेलका रूपमा पर्यटकले मनोरञ्जन लिन सक्ने -याफ्टिङ प्रवर्धन गर्न पोखरा नजिकको उक्त गन्तव्यलाई छनोट गरेका हौँ ।”  

अध्यक्ष भट्टराईले पछिल्लो समय साहसिक पर्यटनमा आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गएकाले यस्ता गन्तव्यको पहिचान र प्रवर्धन आवश्यक रहेको बताउनुभयो । कोभिड–१९ ले थलिएको पर्यटनलाई पुनः सञ्चालन गर्न, जलयात्राको बृहत् सम्भावना बोकेका नदी संरक्षणसँगै यसको अतिक्रमण रोक्न र अव्यवस्थित विकासले उत्पन्न गराएको विनाश रोक्न सन्देश प्रवाहका लागि दुईदिने प्रवर्धनात्मक कार्यक्रम गरिएको उहाँले बताउनुभयो । पोखराबाट करिब दुई घण्टामै पुगिने तल्लो मर्स्याङ्दीबाट जलयात्राको आनन्द लिन सकिने भएकाले यसलाई प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने अध्यक्ष भट्टराईले जोड दिनुभयो । 

साना जलविद्युत् आयोजना निर्माणका लागि लाइसेन्स वितरण गर्दा पर्यटकीय महत्त्वका धेरै नदीको प्राकृतिक स्वरूप नष्ट हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामीलाई प्रकृतिले धेरै कुरा दिएको छ तर सरकारले तिनकोे महत्त्व नबुझ्दा धेरै गुमिसक्यो । अब बचेका केही महत्त्वपूर्ण गन्तव्यको संरक्षणमा स्थानीय निकाय र पर्यटनका सरोकारवालाले चासो दिएर पहल गर्नुपर्छ ।” अध्यक्ष भट्टराईले अव्यवस्थित ढङ्गले नदीबाट ढुङ्गा, बालुवा निकाल्दा बहावमा समेत असर पर्ने भएकाले जलयात्राका लागि उपयुक्त नदी मासिँदै जाने अवस्था रोक्न सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो । 

-यापिड रनर एक्स्पिडिसन्सका प्रबन्ध निर्देशक एवं -याफ्टिङ एसोसिएसन गण्डकी च्याप्टरका अध्यक्ष वीरेन्द्र लामाले जलयात्रामा आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गए पनि कुनकुन स्थानमा कति बहावको जलयात्रा सञ्चालनमा छ भन्ने कुरा पर्यटकलाई जानकारी नहुँदा महत्त्वपूर्ण जलयात्रा मार्ग ओझेलमा परेको बताउनुभयो । 

सरकारले जलयात्राका लागि महत्त्वपूर्ण रहेका नदी संरक्षणमा ध्यान नदिँदा यस्ता गन्तव्य मासिँदै जान लागेको उहाँको गुनासो थियो । अध्यक्ष लामाले भन्नुभयो, “मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँध बन्नुअघि न्यादी वा नजिकैको खुदीबाट बेँसीसहर हुँदै  विमलनगरसम्म चार दिनको -याफ्टिङ विदेशीले निकै रुचाउँथे तर अहिले दुई दिनमा सीमित भएकाले यसको आकर्षण पनि कम भएको हो कि भन्ने आभास भएको छ ।” जलयात्राको सम्भावना भएका नदीको अध्ययनसहित सरकारले नदी नीति ल्याएर यसको संरक्षण र प्रवर्धनमा भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । 

लमजुङ राइनास नगरपालिका–७ स्थित बिरौटाको मर्स्याङ्दी नदी किनारमा -यापिड रिसोर्ट एन्ड -याफ्टिङ सञ्चालन गर्नुभएका सुरेन्द्र नखोलाले कोरोनापछिको समयमा जलयात्राका बारेमा जानकारी लिने र जलयात्रा गर्न आउनेको सङ्ख्यामा बिस्तारै बढ्न थालेको बताउनुभयो । उहाँले केही दिनअघि मात्र नेदरल्यान्डको एक टोली आएको र अहिले आन्तरिक पर्यटक पनि विशेष रुचि लिएर आउन थालेका छन् भन्नुभयो ।

अध्यक्ष लामाका अनुसार नदीमा हुने बहावका आधारमा गरिने वर्गीकरणमा मस्र्याङ्दीमा तीनदेखि पाँच प्लससम्मका छाल छन् । माथिल्लो मर्स्याङ्दीमा चार प्लस र पाँच प्लसको छाल रहेका छन् भने तल्लो मस्र्याङ्दीमा तीनदेखि तीन प्लससम्मका छन् । गण्डकी प्रदेशभित्रको जलयात्रामा कालीगण्डकी नदी प्रसिद्ध छ भने माथिल्लो मर्स्याङ्दी बढी साहसिक मानिन्छ, यो विश्वको उत्कृष्ट पाँचमा पर्छ । तल्लो मर्स्याङ्दी कम जोखिममा पर्छ ।