• २५ पुस २०८१, बिहिबार

तिब्बत भूकम्प : १२६ जनाको मृत्यु

blog

तस्बिर :सिन्ह्वा

बेइजिङ, पुस २४ गते । चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको विनाशकारी भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएको राज्य मिडियाले जनाएको छ । छिमेकी नेपालको राजधानी काठमाडौं र भारतका केही भागमा पनि कम्पन महसुस गरिएको छ ।

चीनको सरकारी प्रसारणकर्ता सिसिटिभीले सार्वजनिक गरेको भिडियोमा भित्ताहरू चिरा परेपछि घरहरू ध्वस्त भएको देखाइएको छ ।

फुटेजमा देखाइए अनुसार उद्धारकर्मीहरू भग्नावशेष बीच हिँडेका थिए भने केहीले स्थानीयवासीहरूलाई शून्य डिग्री भन्दा कम तापक्रममा न्यानो राख्न बाक्लो कम्बल दिएका थिए ।

भूकम्प मङ्गलबार बिहान करिब ९ः०० बजे (०१०० जिएमटी) नेपालसँगको सीमा नजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ग्रामीण र उच्च उचाइको तिङरी काउन्टीमा गएको थियो ।

“यहाँ घरहरू माटोबाट बनेका छन् त्यसैले जब भूकम्प आयो... धेरै घरहरू ढले”, ३४ वर्षीय साङ्जी डाङ्झीले भन्नुभयो । उहाँको तिङरीको सुपरमार्केटमा ठुलो क्षति भयो । उहाँले स्थिति ‘धेरै गम्भीर’ भएको बताउनुभयो । एम्बुलेन्सहरूले दिनभरि मानिसहरूलाई अस्पताल पुर्‍याइरहेका थिए ।

सिसिटिभीले प्रकाशित गरेको निगरानी तस्बिरहरूमा मानिसहरूलाई पसलको गल्लीहरू मार्फत भागिरहेको देखाइएको छ भने  र्याकहरू जोडले हल्लिए, खेलौना जस्ता वस्तुहरू भुइँमा खसे ।

सिसिटिभीका अनुसार स्थानीय समयानुसार साँझ ७ बजेसम्म कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको र अन्य १८८ जना घाइते भएका छन् ।

गम्भीर अवस्थामा रहेका २८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने तीत हजार ६०९ घर भत्किएका छन् । चाइना अर्थक्वेक नेटवक्र्स सेन्टर (सिइएनसी) ले भूकम्पको तीव्रता ६.८ मापन गरेको छ भने युएस जियोलोजिकल सर्भेका अनुसार ७.१ म्याग्निच्युड मापन गरिएको छ ।

सम्पूर्ण उद्धार प्रयास

प्रभावित क्षेत्र सगरमाथा शिखरको चिनियाँ तर्फको पहाडी भू–भागले घेरिएको छ । भूकम्पको केन्द्रविन्दु तिङरी लगभग ६२ हजार जनसङ्ख्याको घर हो र यो तिब्बतको राजधानी ल्हासा जस्तो सहरी केन्द्रहरू भन्दा कम विकसित छ ।

धेरै घर ढुङ्गा, माटोको इँटा र काठको बिम जस्ता परम्परागत सामग्रीहरू प्रयोग गरेर निर्माण गरिएको देखिन्छ । आपत्कालीन कमान्ड सेन्टरलाई उद्धृत गर्दै सिसिटिभीले यस क्षेत्रमा भूकम्प आपत्कालीन प्रतिक्रियाको स्थिति उच्च स्तरमा बढाइएको बताएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘सम्भव भएसम्म क्षति कम गर्दै, सम्पूर्ण खोज र उद्धार प्रयासहरू, प्रभावित बासिन्दाहरूको उचित पुनर्वास र जाडोयाममा उनीहरूको सुरक्षा र न्यानो सुनिश्चित गर्न’ आह्वान गर्नुभएको राज्य प्रसारणले जनाएको छ ।

चीन मौसम विज्ञान प्रशासनका अनुसार तिङरीमा रातको तापक्रम माइनस १६ डिग्री सेल्सियस (३.२ फरेनहाइट) सम्म झर्ने अनुमान गरिएको छ ।

अधिकारीहरूले तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र ३४० भन्दा बढी चिकित्साकर्मी परिचालन गरिएको बताएका छन् ।

जोडले हल्लियो

काठमाडौंका साथै नेपालको सगरमाथा नजिकैको उच्च पहाडी क्षेत्र लोबुचे वरपरका क्षेत्रहरू पनि भूकम्प र परकम्पले हल्लाएको थियो । “यहाँ निकै जोडले हल्लियो, सबै ब्युँझिए”, सगरमाथा नजिक रहेको नाम्चे क्षेत्रका सरकारी अधिकारी जगतप्रसाद भुसालले भन्नुभयो ।

सुरक्षा बल परिचालन गरिएको तर हालसम्म कुनै क्षति वा मृत्युको खबर नआएको नेपाल सरकारको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

नेपाल एउटा प्रमुख भूगर्भीय फल्टलाइनमा अवस्थित छ जहाँ भारतीय टेक्टोनिक प्लेट युरेसियन प्लेटमाथि धकेलिन्छ । यसले हिमालय बनाउँछ र भूकम्पहरू नियमित घटना हुन् ।

सन् २०१५ मा नेपालमा आएको ७.८ म्याग्निच्युडको भूकम्पमा करिब नौ हजार मानिसको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।

भारतको बिहार राज्यमा केही कम्पन महसुस गरिए पनि कुनै क्षतिको खबर आएको छैन ।

मङ्गलबारको भूकम्प पछिल्लो पाँच वर्षमा २०० किलोमिटर (१२४ माइल)को परिधिभित्र रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली रहेको सिइएनसीले बताएको छ ।

सन् २०२३ को डिसेम्बरमा उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको भूकम्पमा १४८ जनाको मृत्यु भएको थियो भने हजारौँ विस्थापित भएका थिए ।

यो सन् २०१४ पछि चीनको सबैभन्दा घातक भूकम्प थियो । सन् २०१४ मा आएको भूकम्पमा परी दक्षिण–पश्चिमी युनान प्रान्तमा छ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । रासस/एएफपी