गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १० गते । गृह मन्त्रालयले रिक्त पाँच अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी नायव महानिरीक्षकहरू उत्तमराज सुवेदी, अरूणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको समितिले कार्यसम्पादन मूल्याङ्कन, ज्येष्ठता र कार्यकुशलताका आधारमा बढुवा सिफारिस गरेको जनाएको छ । बढुवा सिफारिसविरुद्ध सात दिनभित्र उजुरी गर्न पाउने व्यवस्था प्रहरी नियमावलीमा छ । गृह मन्त्रालयको बढुवा सिफारिसको अनुमोदन मन्त्रिपरिषद् बैठकले गर्नुपर्ने हुन्छ । गृह मन्त्रालयको सिफारिस अनुमोदन भएमा पूजा सिंह नेपाल प्रहरीको जनपद समूहतर्फ पहिलो महिला अतिरिक्त महानिरीक्षक बन्नुहुनेछ ।