सन्तोष राउत
सोलुखुम्बु,पुस २३ गते । तिब्बत र नेपालको सिमानामा पर्ने मङ्गलवार बिहानै गएको शक्तिशाली भूकम्पबाट सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्र तथा जिल्ला भरी कडा झट्का महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दु दिङ्गेबाट ९० किमी दूरीमा रहेको नेपालको लबुचेमा सबैभन्दा धेरै हल्लाएको बताइको छ ।
ठुलो झट्काबाट क्षतिको अनुमान गरिए पनि हालसम्म भौतिक तथा मानवीय क्षतिको विवरण प्राप्त नभएको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, भौगोलिक विकटता र यातायात नपुगेको स्थान भएकाले पनि सबै जानकारी आएको छैन । शक्तिशाली भूकम्पपछि स्थानीयवासी त्रासमा रहेको उहाँको भनाइ छ । भूकम्पको केन्द्रबिन्दु दिङ्गे र नेपालतर्फ लबुचेको दूरी ९० किमी मात्र छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेकार अनुसार भूकम्पबाट क्षतिको जानकारी लिने काम भइरहेको भए पनि हालसम्म प्राप्त भएको छैन । सम्भावित क्षतिको विवरण सङ्कलन भइरहेको र विभिन्न ग्रामीण क्षेत्रहरूबाट विवरण आउन बाँकी रहेको छ । स्थानीय प्रहरी प्रशासनले भूकम्पपछिको अवस्था निरीक्षण गर्न टोली खटाएको छ भने सुरक्षा संयन्त्रलाई सतर्क अवस्थामा राखिएको जनाएको छ ।
बिहान ६ बजेर ५० मिनेट आसपास गएको भूकम्पबाट सोलुखुम्बु जिल्लाका विभिन्न भागमा मानिसहरू घरबाहिर निस्केर सुरक्षित स्थानतर्फ भागेका थिए। “२०७२ साल याद आउने गरी हल्लायो, सबै डराएर बाहिर भाग्यौँ,” स्थानीय वासीहरूको भनाइ छ ।