• २३ पुस २०८१, मङ्गलबार

जलवायु परिवर्तनको प्रभाव

blog

प्रदिप्नराज पन्त

मेलम्ची जस्तो अत्यधिक जलवायु परिवर्तनबाट प्रभाव पर्ने पिउने पानीको योजनाको विकल्प अहिले नै सोच्न जरुरी छ । उपत्यका आसपास बहने अन्य साना खोलाको पानी मेलम्चीको मूल प्रवाहमा जोड्न सकिएन भने सन् २०३० पछि पानीको हाहाकार हुने स्पष्ट छ । स्वच्छ जलको हाहाकार भयो भने त्यसले सम्पूर्ण क्षेत्रलाई नकारात्मक प्रभाव पार्छ ।  

जलवायु परिवर्तनको घातक परिणाम स्पष्ट रूपमा सर्वत्र देखिन थालेको छ । कृषिका केही क्षेत्रमा फसलको उत्पादन उल्लेख्य रूपमा घट्न थालेको छ भने पानीको मुहानहरू सुकेर अभाव महसुस गर्न थालिएको छ । भोकमरीको समस्याले कैयौँ मुलुक आव्रmान्त छन । मानव अस्थिर हुने सबैभन्दा प्रमुख कारण भोक र स्वास्थ्यको समस्याले गर्दा हो । भोकलाई प्रजातन्त्रको स्थायित्वसँग पनि जोडेर हेरिन्छ । हुन पनि जलवायु परिवर्तनको व्रmम अहिलेकै दरमा रह्यो भने सन् २०३० देखि २०५० सम्ममा कृषि उत्पादन भयङ्कर कमी आउने छ र संसारका एक तिहाइ मानिस भोकै हुने छन् । मानिस भोको भएपछि अस्थिर हुन्छ र आफ्नो थातथलोलाई छोडेर पलायन हुन बाध्य हुन्छ । त्यस्तो प्रवासनको अन्तिम परिणाम भूराजनीतिक रूपमा विश्लेषण गर्दा अझ जटिल हुन्छ । जलवायु परिवर्तनको कारण हुने प्रवासनले वैश्विक रूपमा नै तनाव सिर्जना गर्छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनको कारणले कालान्तरमा राजनीतिक अस्थिरता र आतङ्कवादको समस्या सिर्जना हुन्छ, जसले गर्दा सम्पूर्ण मानवजातिको सुख शान्ति हराउने छ र मानव विकासव्रmम नै अवरुद्ध हुन जान्छ । यस कारण जलवायु परिवर्तन सम्पूर्ण क्षेत्रसँग जोडिएको हुन्छ र यो अन्तरसम्बन्धलाई वैश्विक जोखिम रिपोर्ट सन् २०२३ मा स्पष्ट देखाइएको छ । 

जलवायु परिवर्तनबाट उत्पन्न समस्या

जलवायु परिवर्तन भनेको औसत मौसम प्याटर्नमा एक दीर्घकालीन परिवर्तन हो जो पृथ्वीको स्थानीय, क्षेत्रीय र वैश्विक जलवायुलाई परिभाषित गर्ने गर्छ । जलवायु परिवर्तन भनेको जलवायु परिवर्तनको कारणले देखिने नकारात्मक प्रभावको एउटा विस्तृत शृङ्खलाको पर्याय पनि हो । बिसौँ शताब्दीको मध्यदेखि पृथ्वीको जलवायुमा देखिएको परिवर्तन मानवीय गतिविधि विशेष गरेर जीवाश्म इन्धनबाट प्रेरित भएको हो । जीवाश्म इन्धनलाई जथाभाबी अत्यधिक प्रयोग गर्दा पृथ्वीको वायुमण्डलको ताप रोधक ग्रिन हाउस ग्यासको स्तर बढ्न जान्छ, जसको कारण पृथ्वीको औसत तापमान पनि बढ्छ । यसको साथै केही अन्य प्राकृतिक प्रव्रिmया जो मानवीय गतिविधिले अभिभूत भएको हुन्छ, त्यसले जलवायु परिवर्तनमा योगदान दिने गर्छ । जस्तो कि प्रशान्त महासागरको दोलन, चव्रmीय महासागर प्याटर्न, बाहिरी दबाब जस्तो कि ज्वालामुखीको गतिविधिमा परिवर्तन, सूर्यको ऊर्जा उत्पादन र पृथ्वीको कक्षमा भिन्नता आदि । यी सबै गतिविधि प्रकृतिको नियम अनुसार भए प्रकृतिले आफैँ सन्तुलन गर्छ, मानवका लागि हानिकारक हुँदैन किनभने प्रकृतिमा यस्ता प्रकोपको समाधान आफैँ गर्न सक्ने अर्थात् आफैँ सन्तुलन गर्ने क्षमता (होमियोस्टयासिस) हुन्छ तर आफ्नो स्वार्थका लागि प्राकृतिक स्रोतको जथाभाबी प्रयोग गर्नाले मौसमको प्याटर्नमा दीर्घकालीन प्रभाव पर्छ र त्यसले विनाश निम्त्याउँछ । यस कारण प्राकृतिक प्रकोपलगायतका विपत् दैवीय गतिविधिबाट सिर्जना भएको नभई मानव निर्मित हो । प्रकृतिलाई कसरी बुझ्ने भनेर महान् वैज्ञानिक स्टेफेन हकिङले आफ्नो किताब ‘ब्रिफ आन्सर्स टु दि बिग कोइसन्स’ भन्ने किताबको चौथो भाग ‘डज गड एक्जिस्ट’ मा सम्झाइएको छ । यसको ज्वलन्त उदाहरण सिरिया र अफ्रिकाबाट दिन सकिन्छ । 

सिरिया गृहयुद्धको प्रमुख कारण जलवायु परिवर्तनको परिणाम हो भन्ने गरिएको छ । सिरियामा विद्रोह हुनुभन्दा धेरैअघि किसान र गोठालाले गाउँ छोडेर सहर पसेका थिए । जलवायु परिवर्तनको प्रभावले गाउँ कृषि कर्मको उपयुक्त स्थान बन्न सकेन । गाउँले, गोठालाले घरपालुवा जनावरहरूलाई सामान्य खाना मात्र होइन पानीसमेत उपलब्ध गराउन सकेनन्, जसको कारण उनीहरू गाउँबाट सहर प्रवेश गर्न बाध्य  भए । जब ठुलो सङ्ख्यामा गाउँबाट सहर मानिस प्रवेश गरे तब एक साथ सहरका मानिसहरूले अशान्ति महसुस गरे । सहरी मानिसका अशान्तिको कारण नै सिरिया लामो गृहयुद्धको कारण बन्यो । असदको पतनपछि पनि सिरियामा हत्याको शृङ्खला रोकिएको छैन । 

अफ्रिकामा जहाँ भोजन र पानीको कमी भएको छ त्यहाँ आतङ्कवादीहरूले अनावश्यक फाइदा उठाएका छन् र सरकारको उपस्थिति प्रायः शून्य छ । यसको मतलब त्यहाँको सरकार जलवायु परिवर्तनबाट सिर्जना हुने नकारात्मक परिणामप्रति संवेदनहीन छ भन्न खोजेको होइन, संवेदनशील हुँदाहुँदै सरकार असफल  भयो । सुडान, इथियोपियालगायतका अफ्रिकी मुलुकको समस्या के रह्यो भने त्यहाँ सुकेको पानीको स्रोतको मुहान बचाउन सरकारले सकेन । कृषि कर्म गर्न मानिस असमर्थ भए र भोकमरिको समस्या भयावह हुन पुग्यो । यदि जलवायु समस्या समाधानका लागि ठोस कदम चालिएन भने यस्तो समस्या अफ्रिकामा मात्रै होइन सन् २०३० देखि सर्वत्र हुने छ । यसैले अहिलेको जलवायु परिवर्तनको समस्या विश्वभरकै पर्यावरणीय खतरा हो । यही पर्यावरणीय खतरा नै कालान्तरमा सुरक्षा खतरा बन्ने निश्चित छ ।  

जलवायु परिवर्तनको कारणले अहिलेसम्म सुरक्षामा गरिएको सबै अनुसन्धानको नतिजालाई समेत चुनौती दिएको छ । अतीतमा कुनै पनि दुई देश जो एक अर्कामा निर्भर छन् या मजबुत दौत्य सम्बन्ध कायम भएको छ तिनीहरू एकआपसमा युद्ध गर्दैनन् भन्ने निष्कर्ष विज्ञको थियो । अर्को अनुसन्धानको नतिजा अनुसार जसको संस्कृति परिवेश उस्तै छ उनीहरू पनि युद्ध गर्दैनन् भन्ने थियो । परिस्थितिक रूपले एकआपसमा निर्भर भयो भने सुरक्षा पनि त्यही परिस्थितिक परस्पर निर्भर हुन्छ भन्ने गरिएको थियो तर जलवायु परिवर्तनको कारणले प्रकृतिमा आउन सक्ने नकारात्मक परिवर्तनले मानवीय एकजुटताको बन्धनमा खलल पुग्ने देखाएको छ । वैज्ञानिकहरूका अनुसार सन् २०३० देखि २०५० सम्म जलवायु परिवर्तनका कारण प्रतिवर्ष दुई लाख ५० हजार मानिसले ज्यान गुमाउने छन् । यसको साथै स्वास्थ्यमा विश्वले प्रत्यक्ष क्षति चार अर्ब डलर थप प्रतिवर्ष खर्च गर्नुपर्ने हुन्छ । नेपालको ठ्याक्कै यति हानि हुन्छ भन्ने बारेमा अध्ययन भएको छैन तर कहीँ अत्यधिक गर्मी, भारी वर्षा, बाढी या सुक्खा पहिरो, पानीको कमी आउने निश्चित छ । जलवायु परिवर्तनले हाम्रो देशमा कैयौँ जीव र वनस्पतिको प्रजातिहरूको जीवन सङ्कटमा छ र सचेतनामूलक कार्यव्रmम सुरु ग्रिएन भने कैयौँ प्रजाति नष्ट हुने निश्चित छ । जब स्रोतसाधन सीमित हुन्छ त्यसपछि प्रतिस्पर्धा तीव्र हुन्छ र अस्थिरता सिर्जना हुन्छ । 

समाधानका उपाय 

जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट छुटकारा पाउनु एक वैश्विक प्राथमिकता हो । जलवायु परिवर्तनको नकारात्मक प्रभावको परिणाम कम गर्न नेपालसँग थप स्रोतसाधनको आवश्यकता देखिन्छ । यसको साथै संयुक्त राष्ट्रसङ्घको सतत विकास लक्ष्य (एसडिजी) हासिल गर्नका लागि नेपालले तुरुन्तै केही कार्य योजना कार्यान्वयन गर्नुपर्ने हुन्छ । यसका लागि सबभन्दा पहिला अन्तर्राष्ट्रिय साझेदार संस्था र मित्रसँग सहकार्य गर्नुका साथै सुरक्षित जलवायुमैत्री जल र स्वच्छता सेवा सुनिश्चित गर्नु पर्छ । छ हजारभन्दा बढी खोला नाला छन् भनेर ढुक्क हुने अवस्था छैन किनभने अबको केही वर्षमा अर्थात् सन् २०३० देखि २०५० को अन्तरालमा पिउने पानीको स्रोतहरू घटने छन् र पानीको हाहाकार हुने छ । आइसल्यान्ड यस्तो देश हो, जसले आफ्नो नागरिक र पर्यावरणीय सन्तुलनका लागि पानीलगायतका प्राकृतिक संसाधनको सुरक्षाको मामिलामा मानक स्थापित गरेको छ । नेपालले पनि त्यस्तो पानी संरक्षण गर्ने योजना तुरुन्त ल्याउनुपर्ने छ । मेलम्ची जस्तो अत्यधिक जलवायु परिवर्तनबाट प्रभाव पर्ने पिउने पानीको योजनाको विकल्प अहिले नै सोच्न जरुरी छ । उपत्यका आसपास बहने अन्य साना खोलाको पानी मेलम्चीको मूल प्रवाहमा जोडन सकिएन भने सन् २०३० पछि पानीको हाहाकार हुने स्पष्ट छ । स्वच्छ जलको हाहाकार भयो भने त्यसले सम्पूर्ण क्षेत्रलाई नकारात्मक प्रभाव पार्छ ।  

बिर्सन नहुने कुरा के छ भने हामी र हाम्रो छिमेकीबिच एउटा मौलिक साझा सांस्कृतिक बन्धन छ । हामी सबै प्रकारको जोखिम सम्झन र बुझ्न सक्छाँै । समाजको क्षमतालाई कसरी संरक्षित बनाउन सकिन्छ, विभिन्न पारिस्थितिक जोखिम र व्यवधानबाट कसरी बचाउन सकिन्छ र समृद्ध बन्न सकिन्छ भन्ने बारेमा समझदार छौँ । आवश्यक परे जोखिम लिन सक्छौँ तर जलवायु परिवर्तनको बारेमा हुन सक्ने जोखिमको बारेमा हाम्रो समझदारीलाई अझ बढाउन जरुरी छ । यसैले पानीको उपभोग गर्ने सिलसिलामा पानीसम्बन्धी सम्झौता गर्दा हरेक पक्षबाट सावधानी अपनाउन जरुरी हुन्छ । सन् २०३० देखि २०५० सम्म यही दरमा छिमेकीलगायत मित्र राष्ट्रमा जीवाश्म इन्धनको प्रयोग बढ्यो र कृषि कर्ममा आधुनिकता भएन भने पानी भएको स्थानमा मानिसहरूको जनघनत्व थामिनसक्नु हुने छ र त्यसको प्रभावबाट नेपाल ज्यादै प्रभावित हुने निश्चित छ । 

छिमेकीसँग मात्र होइन हामी अहिले एक आपसमा अन्तरसम्बन्ध भएको वैश्विक युगमा छौँ । यस कारण एउटा समुदायमा भएको खाद्य सङ्कट अर्को समुदायका लागि प्रवासन सङ्कट बन्न जान्छ र तेस्रो समुदायका लागि सुरक्षा सम्बन्धित सङ्कट उत्पन्न हुन्छ । सुरक्षा सङ्कट विश्वव्यापी चिन्ताको कारण हो,   यसको भूराजनीतिक प्रभाव गहिरो हुन्छ । यस कारण नेपालले जलवायु परिवर्तनप्रति सजग भई लचिलो जल र स्वच्छता नीति तथा सेवा निर्माण गरी विश्वलाई वातावरणको क्षेत्रमा नवीन समाधान प्रस्तुत गर्न सक्नु पर्छ । पानीको व्यवस्थापनमा मानक स्थापना गर्न सकियो भने त्यसले कालान्तरमा वैश्विक उत्प्रेरकको कार्य गर्ने गर्छ ।