• २० पुस २०८१, शनिबार

शहीद क्याम्पसमा धार्मिक महोत्सव सुरु

blog

इमान सिं राना
रामपुर (पाल्पा), पुस १७ गते ।
पाल्पाको रामपुर नगरपालिका–७, स्थित शहीद बहुमुखी क्याम्पसमा धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ । क्याम्पसमा छात्रावास निर्माण, सङ्काय थप र सिपमुलक शिक्षा सञ्चालन गर्ने उद्देश्यले मङ्गलबारदेखि महायज्ञ सुरु भएको हो ।

महायज्ञको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उट्घाटन गर्नुहुँदै विकासका लागि जनप्रतिनिधिहरु साझा भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले जनतालाई केन्द्रमा राखेर बढ्नु पर्नेमा जोड दिनुभएको हो । यो दल त्यो दल नभनी समाज परिवर्तन र आवश्यक विकासका लागि जनप्रतिनिधिहरु छलफल र समन्वय गरेर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

“आवश्यक विकास निर्माणका काममा जनप्रतिनिधिहरुले यो दल त्यो दल नभनी सबै जनतालाई केन्द्र विन्दुमा राखेर समाज परिवर्तनका लागि साझा रुपमा लाग्नु पर्छ ।” उहाँले भन्नुभयो । समाज र विकास सल्लाह र समन्वयको गरेर अघि बढेमा गति दिन सकिने बताउनुभयो ।

आध्यात्मिक ज्ञान लिएर कार्यान्वयन गर्न सकियो भने जीवनलाई थप सार्थक बनाउन सकिने बताउनुभयो । साथै समाजमा रहेका विकृति हटाउन महायज्ञले ठुलो योगदान दिने बताउनुभयो । उहाँले तीन तहको सरकारसँग छलफल र समन्वय गरेर क्याम्पसको लक्ष्य अनुसार पूर्वाधार निर्माण गर्नका लागि लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

रामपुर उपत्यका सम्भावना बोकेको स्थान भएको उल्लेख गर्नुहुँदै आधुनिक नमुना शहरको रुपमा विकास गर्न जनप्रतिनिधिहरु सँग आवश्यक समन्वय गरी योजनाबद्ध रुपमा अघि बढाउन पहल गर्ने बताउनुभयो । प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले समन्वय र सहकार्य गर्दै अघि बढ्न सकेमा क्याम्पसलाई थप गति दिन सकिने बताउनुभयो । क्याम्पसमा समय सापेक्ष सुविधासँगै स्तरीय शिक्षा प्रदानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले देशको विकासको अवस्था शिक्षाले निर्धारण गर्ने बताउनुभयो । महायज्ञलाई सफल बनाउन सबैको साथ र सहयोथको खाँचो रहने बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शहीद बहुमुखी क्याम्पस कालीगण्डकी उपत्यकाको शैक्षिक धरोहर रहेको बताउँदै लक्ष्य प्राप्तिका लागि रामपुर नगरले ५१ लाख ५१ हजार १५१ प्रदान गर्ने सबै प्रतिवद्धता जनाउनुभयो । उहाँ विचारलाई जोड्न आध्यात्मिक विचार महत्त्वपूर्ण रहने बताउनुभयो ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले टाढा बाट आउने विद्यार्थीका लागि छात्रावास निर्माण गर्न, व्यवहारिक शिक्षाको प्रारम्भसँगै आवश्यक सङ्काय थप गरी क्याम्पसलाई शैक्षिक हवको रुपमा विकास गर्न महायज्ञ सञ्चालन गरिएको जानकारी दिनुभयो ।

महायज्ञमा प्रवीण पण्डित दीनबन्धु पोखरेलबाट संगितमय शैलीमा प्रवचन भइरहेको छ । आगामी पुस २३ सम्म सञ्चालन हुने महायज्ञको पूर्व सन्ध्यामा विभिन्न समुह, विद्यायलय, संघ संस्थाको सहभागितामा झाँकी सहित शोभा कलशयात्रासहित नगर परिक्रमा गरिएको थियो ।