• १४ पुस २०८१, आइतबार

खेल पर्यटनको मियो एनपिएल

blog

कीर्तिपुरस्थित त्रिवि मैदानमा देखिएको दर्शकको उत्साह । तस्बिर सौजन्य : क्यान

काठमाडौँ, पुस १३ गते । ‘‘विश्व प्रख्यात आइपिएलदेखि संसारको सबै खाले फ्रेन्चाइज लिग खेलेँ, तर नेपालको जस्तो दर्शक र आतिथ्यता कहीँ भेटिन । भौतिक संरचनामा सुधार भए नेपाली क्रिकेट धेरै माथि जानेछ ।’’  यो भनाइ न्युजिल्यान्डका चर्चित क्रिकेटर जिमी निसमले नेपाल प्रिमियर लिग (एनपिएल) खेलेपछि राख्नुभएको हो । जिमीको भनाइले एनपिएल नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय ब्रान्ड भएको अनुमान लगाउन सकिन्छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) आफैले आयोजना गरेको एनपिएलको पहिलो संस्करण सकिएको एक साता मात्र पुगेको छ । तर, यसको चर्चा झनै चुलिँदो छ । ‘फेस्टिबल अफ हिमालय’ अर्थात् हिमालको चाडपर्व नाम दिइएको एनपिएल नेपाली खेलकुदकै महत्त्वाकांक्षी र सर्वाधिक धन राशीको क्रिकेट प्रतियोगिता हो । 

एनपिएलले पहिलो विजेताको रूपमा जनकपुर बोल्ट्लाई पायो । रोमाञ्चक फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि चुम्यो । विश्वका विभिन्न १५ देशका ४० भन्दाबढी चर्चित क्रिकेटर एनपिएल खेल्न आए । एनपिएलमा सहभागी सबै खेलाडीलाई नेपाली क्रिकेट समर्थक, नेपालको संस्कृति र आतिथ्यताले लोभ्यायो । 


लिग चरणदेखि प्लेअफ, क्वालिफायर र फाइनलसम्मका सबै खेल उत्तिकै रोमाञ्चक रहे । क्यानको आग्रहमा एनपिएलका आठवटै फ्रेन्चाइज टिमले मन खोलेर आर्थिक लगानी गरे । 

उद्घाटनदेखि समापनसम्म हजारौँ दर्शकको उत्साहजनक सहभागितासँगै देशलाई क्रिकेटमय बनायो । एनपिएलको आयोजनाले युवा खेलाडीलाई खेलकुदमै भविष्य खोज्न उत्प्रेरित मात्र गरेन नेपालमा खेल पर्यटनप्रति भरोसा समेत जगाएको छ । 

एनपिएलका लागि निजी क्षेत्र र कर्पोरेट हाउसको सय करोड (एक अर्ब) रुपियाँ भन्दाबढी लगानी हुनु सुस्त रहेको नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने अर्को आधार बनेको छ । केही भएन भनेर नैराश्यता बढेको नेपाली जनमानसमा गरे हुँदो रहेछ भन्ने आशा पलाएको छ । 

एनपिएलका संयोजक एवं क्यानका सचिव पारस खड्का एनपिएलको आयोजना सोचेभन्दा बढी सफल भएको बताउनुहुन्छ । ‘‘क्यानले एनपिएल आफै आयोजना गर्ने भनेर प्रक्रिया अगाडि बडाउँदा निकै चुनौती थियो । तर सुरुमै फ्रेन्चाइज लिनका लागि १६ वटा टिमले इच्छा देखाए । जुन नेपाली क्रिकटले धान्ने थिएन । हामीले १६ बाट घटाएर सहर र प्रदेशको समेत प्रतिनिधित्व हुनेगरी आठ टिम बनायौँ । टिम लिन व्यावसायिक व्यक्तिबिच ठुलै प्रतिस्पर्धा चल्यो । बोलकबोलमा बढी रकम प्रस्ताव गर्ने आठ टिमले फ्रेन्चाइज पाए । एनपिएलका लागि फ्रेन्चाइज टिमले सुरुमै अग्रसरता देखाएर पहिलो संस्करणमै मन खोलेर लगानी गर्नु नेपाली क्रिकेटका लागि सुखद क्षण हो । फ्रेन्चाइज टिमले तत्काल मुनाफा लिन सक्दैनन् । तर पनि भविष्यमा सबै मिलेर जाँदा राम्रो हुने सङ्केत देखिएको छ,’’ पारस भन्नुहुन्छ । 

पारसले एनपिएललाई विश्वकै चर्चितमध्येको लिग बनाउने उद्देश्यका साथ क्यान लागेको बताउनुभयो । उहाँको अनुसार भौतिक संरचना निमार्णमा सरकारले चासो देखाएकोले आगामी संस्करणसम्म फ्लड लाइट सहितको सुविधासम्पन्न मैदानमा एनपिएल आयोजना हुनेछ । 

विश्वका अझै ठुला र चर्चित खेलाडीलाई नेपाल ल्याइने छ । विस्तारै देशका अन्य सहरमा होम एन्ड अवे प्रणालीका आधारमा लिग हुनेछन् । क्यानको लक्ष्य एनपिएललाई क्रिकेट संस्कृति, पर्यटन र खेल उद्योगको रूपका विकास गर्ने हो । जसले गर्दा खेलकुदले पनि अर्थतन्त्रको ठुलो हिस्सा ओगट्न सक्नेछ । 


सय करोडको कारोबार

क्यानले एनपिएलको आर्थिक आम्दानी, खर्च र लगानी तथा दर्शक टिकटबाट प्राप्त रकम लगायतको एकिन हरहिसाब सार्वजनिक गरिसकेको त छैन । तर क्यानले यसको अनुमानित कारोबार सय करोड माथि भएको जनाएको छ । 

एनपिएलको टिम खरिद गर्न फ्रेन्चाइजी टिमबिच होडबाजी नै भयो । एउटा फ्रेन्चाइजीले टिम लिनमात्र तीन करोड ५७ लाख रुपियाँसम्म खर्च गरे । 

यस्तै एनपिएल र फ्रेन्चाइजीलाई प्रायोजन गर्न कर्पोरेट हाउस पनि खुलेर अघि सरे । सिद्धार्थ बैँकले मात्र एनपिएलको मुख्य प्रायोजकको रूपमा क्यानलाई वार्षिक चार करोड रुपियाँ दिनेगरी पाँच वर्षका लागि २० करोड रुपियाँ लगानी सुनिश्चित सहितको सम्झौता गरेको खुलेको छ । 

एनपिएलमा एनसेल, नेपाल टेलिकम, अन्य बैंक तथा वित्तिय संस्था, अटोलगायत सङ्घ संस्थाको प्रायोजन हिस्सा पनि ठुलो रहेको छ । एपपिएलमा फ्रेन्चाइजी टिमबाट मात्र क्यानले १६ करोड ८८ लाख ९३ हजार रुपियाँ कमायो । क्यानले एनपिएलको स्ट्राटेजिक एन्ड कमर्सियल राइट्सको अधिकार ब्रान्ड डिजिटललाई बोलकबोल मार्फत पाँच करोड ९२ लाख रुपियाँमा बेचेको थियो । 

यस्तै एउटा फ्रेन्चाइज टिमले खेलाडीलाई दिने पारिश्रमिक, होटल र बसोबास, खेलका लागि तयारी पोशाकलगायत व्यवस्थापन गर्न सातदेखि १० करोड रुपियाँसम्म खर्च गरे । 

एनपिएलमा टिम लिन सर्वाधिक रकम खर्च गर्नेमा पोखरा एभेन्जर्स अगाडि थियो । सुवोद त्रिपाठी मालिक रहेको पोखराले फ्रेन्चाइज लिनमात्र तीन करोड ५७ लाख रुपियाँ खर्चिएको थियो । 

यस्तै दोस्रोमा उपेन्द्र महतो, अरुण सर्राफ र कैलाश शिराेहियाको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजका लागि तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपियाँ, तेस्रोमा अमित श्रेष्ठको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सका लागि दुई करोड पाँच लाख र चौथोमा ईश्वर जिसीको स्वामित्वमा रहेको लुम्बिनी लायन्सलाई एक करोड ८६ लाख रुपियाँ खर्च गरेको थियो । 

पाँचौँमा रहेको हरीशचन्द्र न्यौपाने र आयुष न्यौपानको स्वामित्वमा रहेको चितवन राइनोजका लागि एक करोड ७६ लाख एक हजार, छैटौँमा स्वतन्त्रप्रताप शाहको स्वामित्वमा रहेको सुदूरपश्चिम रोयल्सका लागि एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ र सातौँमा पारस लुनियाको स्वामित्वमा रहेको विराटनगर किङ्ग्सका लागि एक करोड ५१ लाख खर्चियो । 

यस्तै आठौँमा झनकदत्त खनाल र गृहेन्द्र घिमिरेको स्वामित्वमा रहेको कर्णाली याक्सका लागि एक करोड ११ लाख ७० हजार रुपियाँ खर्चिएको थियो । फ्रेन्चाइज लिनका लागि करोडौँ लगानीको प्रतिस्पर्धाले पनि एनपिएलको माहोललाई सुरुदेखि तताएको थियो । 


टिम बनाउन करोड लगानी

एनपिएलका लागि प्रत्येक फ्रेन्चाइज टिमले एक करोड भन्दा बढी खर्च गरे । आठ टिमले सुरुमा अक्सन (बोलकबोल) बाट ८० खेलाडीका ६ करोड रुपियाँभन्दा बढी खर्च गरेका थिए । 

सुरुमा क्यानले आठ टिमका प्रत्येक मार्की खेलाडीका लागि टिम मालिकले जनही २० लाख रुपियाँ पारिश्रमिक दिने नियम बनाएको थियो । त्यसपछि अक्सनमा रहेका ८० खेलाडीका लागि प्रत्येक टिमले ‘ए’ श्रेणीका खेलाडीलाई १० देखि १५ लाख, ‘बी’ लाई पाँचदेखि १० लाख, ‘सी’ श्रेणीले दुईदेखि पाँच लाख र ट्यालेन्ट हन्टबाट आएकालाई दुई लाखदेखि माथि रुपियाँ पारिश्रमिक दिए । 

त्यो बाहेक विदेशी खेलाडीलाई अनुबन्धको गरिएको मुल्यबारे टिम मालिकहरूले खुलाएका छैन् । कर्णाली याक्सले भारतीय क्रिकेटर शिखर धवनलाई एउटा खेल खेलेको ३० हजार अमेरिकी डलर दिएको उल्लेख गरेको थियो । धवन कर्णालीका लागि चार खेल खेलेर स्वदेश फर्किनुभएको थियो । 

नेपाली खेलकुदकै सर्वाधिक पुरस्कार राशी

लगानी जस्तै एनपिएलका विजेता टिम र खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिएको छ । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले सगरमाथाको कालापत्थरबाट ल्याइएको ढुङ्गाजडिड रनिङ ट्रफीसँगै एक करोड १० लाख रुपियाँ पायो । 

यो नेपालको टिम गेममा हालसम्मकै सर्वाधिक रासीको पुरस्कार हो । यस्तै उपविजेता सुदूरपश्चिमले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो बनेको चितवन राइनोजले १५ लाख रुपियाँ पायो । 


क्यानले पहिलो पटक एनपिएलको सर्वोत्कृष्ट नेपाली खेलाडीलाई ‘आमोडा एन्ड जेईको’ कम्पनीको करिब ६२ लाख रुपियाँ बराबरको  इभी कार पुरस्कार प्रदान गरेको छ । 

कार पाउने सौभाग्य सुदूरपश्चिमका कप्तान एवं राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मिल्यो । उत्कृष्ट बलर बन्दै जनकपुरका ललित राजवंशीले नौ लाख रुपियाँ पर्ने मोटर साइकल पाउनुभयो । ललितले सर्वाधिक १७ विकेट लिनुभएको थियो । 

एनपिएलको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार बापत सुदूरपश्चिमका सैफ जैवले पाँच लाख रुपियाँ पाउनुभयो । कर्णालीका विपिन शर्माले ‘इमर्जिङ प्लेयर’ बन्दै ५० हजार र एक लाख बराबरको छात्रवृत्ति हात पार्नुभयो ।  

यस्तै जनकपुरका जिमीनिसमले ‘इनर्जेटिक प्लेयर अफ दि एनपिएल’ को उपाधिसहित दुई लाख रुपियाँ पाउनुभयो । ‘फेयर प्ले अवार्ड’ लुम्बिनी र सर्वाधिक चौका हान्ने खेलाडीको पुरस्कार लाहिरु मिलान्थालाई प्रदान गरिएको थियो । 

तीन साता चलेको एनपिएलमा फाइनलसम्म ३२ खेल भए । काठमाडौँ गुर्खाज, विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिएका थिए । 

अर्को पटक झनै शसक्त हुनेछौँ : शाह

एनपिएलमा सुदूरपश्चिमले उपाधि मुखमा पुगेर हार खेप्यो । प्लेअफमा ७२ रन र पहिलो क्वालिफायरमा आठ विकेटले पराजित भएको जनकपुरलाई फाइनलमा पनि हाराउने सुदूरपश्चिमको योजना सफल भएन । फाइनलमा घाइते बाघ जस्तो देखिएको जनकपुरले बेजोड प्रदर्शन गर्दै उपाधि उचाल्यो । 

सुदूरपश्चिमका मालिक स्वतन्त्रप्रताव शाह खेलमा हारजित स्वभाविक भएकोले अर्को पटक सुदूरपश्चिम थप शसक्त भएर आउने बताउनुहुन्छ । 

‘‘हार र जित खेलको नियम हो । एनपिएलमार्फत नेपाली क्रिकेटमा राम्रो कार्यको थालनी भएको छ । सामान्य तया हाम्रो देशमा खेलकुद टाइमपासको रूपमा लिइन्छ । खेलेरै आफ्नो करिअर बनाउछु भन्दा साँच्चिकै गाह्रो छ । एनपिएल एउटा यस्तो सोच हो । जहाँ खेलकुदमै लागेर भवष्यि बनाउँछु, जीवन स्थापति गर्छु र एउटा पेसा बनाउँछु भन्ने सोच राख्नेका लागि राम्रो प्लेटफर्म भएको छ । हामी त्यसैमा खुसी छौँ । नेपाली क्रिकेटको विकासका लागि हामीले एउटा इँटा थप्ने प्रयास गरेका हौँ,’’ शाहले भन्नुभयो । 


शाहले क्यानले एनपिएलको कन्सेप्ट वर्षौ वर्षसम्म अगाडि लिएर जानेमा आफूहरू विस्वस्थ रहेको पनि बताउनुभयो । एनपिएल फ्रेन्चाइजी लिन होइन केही दिन आएका हुन् । यस मार्फत धेरै राम्रा खेलाडी जन्मिउन् देशका लागि खेलुन भन्ने हो । पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरूको आगमनले एनपिएलको महत्त्व बढाएको छ । यो हामीले अपेक्षा गरेभन्दा धेरै राम्रो भएको छ । हामी जस्तो देशका लागि केही गरौँ भन्नेहरूका लागि लगानी गर्न थप उत्साहित बनाएको छ । भविष्यमा यसको चार्म र भ्यालु अझै माथि जानेछ,’’ शाहले भन्नुभयो । 

दुई दशकदेखि अस्ट्रेलियामा रहँदै आउनुभएका शाहले त्यहाँ पनि क्रिकेट क्लब सञ्चालन गर्नुभएको छ । अस्ट्रेलियामा जागेको क्रिकेट क्रेजले नै आफूलाई एनपिएलसम्म ल्याएको शाहको भनाइ छ । 

‘‘खेल क्षेत्रमा केही गरौँ भन्ने थियो, यही क्रममा क्यानले एनपिएल टिमको बोलकबोल आह्वान गर्यो । नेपाली क्रिकेटसँग आबद्ध हुने यही अवसर बन्यो,’’ शाहले भन्नुभयो । शाहलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले २०७९ सालमा अस्ट्रेलियाका लागि पर्यटन दूतको जिम्मेवारी दिएको थियो । 

शाह सन् २०२१ मा स्थापना भएको अन्तर्राष्ट्रिय युवा उद्यमी महासङ्घको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । महासङ्घको सञ्जाल अहिले विश्वका विभिन्न १२ देशमा फैलिएको छ ।

पर्यटन प्रवर्द्धन गरेको छ : पछाईं 

एनपिएल जस्ता खेल गतिविधिले देशमा पर्यटन प्रवर्द्धनसँगै रोजगारीको नयाँ ढोका खोल्ने युवा व्यवसायी एवं कान्तिपुर टेलिभिजन नेटवर्क र रेडियो कान्तिपुरमा प्रमुख कार्यकारी अधिकृत शिशिर पछाईं बताउनुहुन्छ । 

एनपिएलका कारण काठमाडौँका पाँच तारे होटलसहित साना गेस्टहाउस महिनाभर खचाखच भए । आठ वटा टोलीमा अनुबन्ध भएका नेपाली क्रिकेट खेलाडीले दुई लाखदेखि २० लाख रुपियाँसम्म आकर्षक पारिश्रमिक पाउनु अर्को सुखद् पक्ष रह्यो । 

खेलाडी व्यवस्थापनमा हुने खर्चबाट होटल, पोशाक कम्पनी र अन्य व्यावसायीले पनि आय आर्जन गर्न सके । यस्तै कतिपय टिम मालिकले प्रायोजक र विज्ञापनबाट राम्रो आम्दानी गरेका छन् । 


पछाईका अनुसार एनपिएल क्रिकेट आगामी वर्षमा यो भन्दा धेरै माथि जान्छ । उहाँ भन्नुहुन्छ, ‘‘क्रिकेटमा मुख्य कुरा दर्शक हो । नेपालको जस्तो ग्रासरुट दर्शक विश्वमा कहीँ कतै छैन । यो खेलकुदको सम्पित्ति हो । दर्शकको उत्साहमै खेलकुदको व्यापार हुने हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली क्रिकेटलाई महत्त्व दिएको दर्शकका कारण हो । अब विस्तारै नेपाललाई सगरमाथा र बुद्धको देश भनेजस्तै एनपिएलले पनि आकर्षण गर्नेछ । यसपटक चार दर्जन राम्रा खेलाडी आए । अर्को वर्ष झनै विदेशी खेलाडीको चार्म बढ्नेछ । एनएिएलमा लगानी गर्न विदेशी लगानी कर्ता आउने पक्का छ ।’’

नेपाल सरकारले एनपिएल जस्ता खेलकुदको मूल्याङ्कन गरेर लगानीको वातावरण तय गर्नुपर्ने पछाईंको सुझाव छ । ‘‘खेलकुदको भौतिक संरचना निर्माणमा ध्यान दिन सकियो भने खेलकुद नेपालको पर्यटन र राम्रो राजगारीको आधार बन्नेछ ।" पछाईंले एनपिएल जस्तो खेलकुदले निरन्तरता पाउँदा नेपालको खेल पर्यटनले फड्को मार्ने विश्वास गर्नुभयो । ‘‘पहिलो संस्करणमै नेपाली क्रिकेटमा विश्व क्रिकेटकै हस्ती वेस्ट इन्डिजका ब्रायन लारा, भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गुप्टिल र जिमी निसम, अस्ट्रेलियाका वेन कटिङ र विलियम बास्टिटो, पाकिस्तानका साहेल तन्विर, हङकङका बाबर हायत र युएईका रोहन मुस्तफा जस्ता खेलाडीको आगमन चानचुने होइन । 

लाखौँ फ्यान फलोअर्स भएका लारा र धवन सगरमाथा आधार शिविरमा पुगेर जानु नेपालको पर्यटन प्रवर्द्धनका लागि अर्को खुसीको विषय हो । यसले नेपाली क्रिकेटलाई विश्वव्यापी बनाएको पछाईंको बुझाई छ । 

एनपिएलको स्टार टेलिभिजनबाट लाइभ हुनु अर्को सुखद् पक्ष रहेको पछाईंले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘स्टार टेलिभिजनबाट संसारले नेपालको क्रिकेट देख्यो । यसले नेपालको खेल पर्यटनको सम्भावनालाई थप उजागर गरेको छ । नेपाली दर्शक र समर्थकको उपस्थितिले पनि एनपिएलको उचाई बढेको छ ।’’

पछाईंका अनुसार एनपिएलमा सहभागी खेलाडी, प्रशिक्षक, अफिसियल, रेफ्री, कमेन्टेटर र समर्थकले गर्दा होटल व्यवसायमा अर्को उत्साह थपेको छ । अब नेपालले अन्तर्राष्ट्रिय स्तरका ठुला क्रिकेट प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने सन्देश फैलिएको छ ।