काठमाडौँ, पुस ११ गते । ग्रासरुट फुटबल कार्यक्रम सञ्चालनका लागि ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा र प्याब्सन बुढानीलकण्ठबिच सम्झौता भएको छ ।
सम्झौता पत्रमा बिहीबार क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्याब्सन बुढानीलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार बुढानिलकण्ठ नगरपालिकाभित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
यसबाट स्थानीय प्रतिभालाई पहिचान गर्दै उनीको खेलकुद कौशललाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । सम्झौता अनुसार हिमालयन शेर्पा क्लबले अनुभवी प्रशिक्षक उपलब्ध गराउनुका सथै स्थानीय प्रशिक्षकको क्षमता बृद्धिका लागि सहयोग गर्नेछ ।
यसैगरी प्याब्सन बुढानीलकण्ठले नगरपालिकाभित्रका विद्यालयमा कार्यक्रम सञ्चालन गर्न समन्वय र बालबालिकाको खेलस्तर वृद्धि गर्न विभिन्न प्रतिस्पर्धा र विकासमूलक गतिविधिको सञ्चालन गर्नेछ । शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पाले यो कार्यक्रमबाट युवा खेलाडी पहिचान गर्दै उनीहरूको क्षमता बृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।
प्याब्सन बुढानिलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले सम्झौताले बालबालिकालाई फुटबल खेलका आकर्षित गर्नुका साथै स्वस्थ नागरिक उत्पादनका सहयोग पुग्ने बताउनुभयो ।