धनगढी समाचारदाता
धनगढी, असार ४ गते । सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादनमा सामान्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आव २०८१/८२ मा कुल गार्हस्थ उत्पादन सामान्य बढेको हो ।
आव २०८०/८१ मा कुल गार्हस्थ उत्पादन चार खर्ब छ अर्ब ७५ करोड रुपियाँ रहेको थियो । चालु आवमा कुल गार्हस्थ उत्पादन चार खर्ब २९ अर्ब ६२ करोड पुगेर सामान्य वृद्धि भएको छ । प्रदेशको चालु आवको कुल गार्हस्थ उत्पादन राष्ट्रिय कुल गार्हस्थ उत्पादनको ७.०३ प्रतिशत रहेको छ । प्रदेशको आर्थिक सर्वेक्षण अनुसार आव २०८१/८२ को कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रको योगदान ३४.९५ प्रतिशत, द्वितीय क्षेत्रको १२.३० प्रतिशत र तृतीय क्षेत्रको ५२.७५ प्रतिशत योगदान रहेको छ । गत आव २०८०/८१ मा यस्तो योगदान क्रमशः ३३.८९ प्रतिशत, १२.४१ प्रतिशत र ५३.७० रहेको थियो । चालु आवमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको वृद्धिदर क्रमशः २.७८, २.०४ र २.८९ प्रतिशत रहने अनुमान छ ।
प्रदेशको उपरोक्त परिसूचकको सामान्य वृद्धि सकारात्मक रहेको आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बताउनुभयो । चालु आवमा प्रदेशको आर्थिक वृद्धिदर झिनो अन्तरले बढ्ने अनुमान छ । चालु आवमा आर्थिक वृद्धिदर ३.३२ प्रतिशत हुने जनाइएको छ । जबकि गत आव २०८०/८१ मा आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहेको थियो । प्रतिव्यक्ति आयमा २.७६ प्रतिशतले वृद्धि भई एक हजार १५३ अमेरिकी डलर पुगेको छ ।