• १० पुस २०८१, बुधबार

कलहले बिथोलिँदै परिवार

blog

 काठमाडौँ, पुस १० गते । काम नगर्ने भन्दै सासूले ‘करकर’ गरेपछि मण्डनदेउपुर नगरपालिका–१, नगरकोट घिसिङ टोलमा ज्वाइँले नै सासूको प्राण लिएका छन् । मण्डनदेउपुर नगरपालिका–२ का २८ वर्षका ज्वाइँ सुकबहादुर तामाङले ५२ वर्षीय सासू तीनमाया तामाङको जीवन समाप्त गरेको स्वीकार गरिसकेका छन् । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मीनबहादुर घलेका अनुसार मङ्सिर ३० गते आफ्नै घरको भान्सामा मृत अवस्थामा फेला परेपछि ५२ वर्षीय तीनमायाको हत्यामा उहाँकै ज्वाइँको संलग्नता पाइएको हो । 

मण्डनदेउपुर नगरपालिका–२ का सुकबहादुर (ज्वाइँ) ले सासूले काम नगरेको भन्दै सधैँ गाली गर्ने गरेको र हत्या गरेको दिन पनि गाली गरेपछि रिस सहन नसकेर प्रतिवाद गरेको बयान दिएको प्रवक्ता घलेले उल्लेख गर्नुभयो । ज्वाइँले सासूको मात्रै होइन, काभ्रेपलाञ्चोकमा दुई महिनाको बिचमा छोराले बुवाको र छोराले नै आमाको समेत हत्या गरेका छन् । रोशी गाउँपालिका–३ स्थित भञ्ज्याङगाउँमा लोहोरो प्रहार गरी छोराले आमाको हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार कात्तिक १६ गते अपराह्न ६९ वर्षीय माइली लामालाई उहाँकै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामाले हत्या गरेको खुलेको छ ।

फुर्साङले आमाको हत्या गरी आमाको सुनको गहना र नगदसमेत लिई घटनास्थलबाट फरार भएको दुई दिनपछि प्रहरीले पक्राउ गरेको थियो । नमोबुद्ध नगरपालिका–७ मा अंश नदिएको निहुँमा छोराले बुवाको हत्या गरेका छन् । 

नमोबुद्ध नगरपालिका–७, धारापानी पुजारीथुम्काका ४४ वर्षीय रामलाल श्रेष्ठलाई प्रहरीले सार्वजनिक गरेको हो । रामलालले अंश नदिएको निहुँमा विवाद बढेपछि कात्तिक ८ गते राति ७४ वर्षीय बुवा बलबहादुर श्रेष्ठको हत्या गरेका थिए । 

तीन वर्षअघि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–४ घर भएकी २५ वर्षीय सरिता दुलाललाई मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीय सुदीप दुलालले हत्या गरेका थिए । यी घटना प्रतिनिधि मात्रै हुन् । काभ्रेपलाञ्चोकमा पछिल्लो समय नजिकका आफन्तबाट हत्या हुने क्रम बढेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी वसुन्धरा खड्काले बताउनुभयो । उहाँले स्थानीय तह, नागरिक समाज मिलेर सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 

पछिल्लो समय नजिकका आफन्तबाट नै हत्या जस्तो जघन्य अपराध बढेको प्रहरीले निष्कर्ष निकालेको छ । विगत पाँच वर्षमा नजिकका आफन्तबाट भएका हत्या, लुटपाटका घटनालाई नजिकबाट विश्लेषण गरेर योजना बनाउने तयारीमा जिल्ला प्रहरी कार्यालय अघि बढ्ने एसपी खड्काले भन्नुभयो । मानिस क्षणिक रिस सहने नसक्ने बन्न थालेपछि यस्ता घटनामा वृद्धि भएको हुन सक्ने अधिकारकर्मी भोजराज तिमल्सिनाले बताउनुभयो । उहाँले सरकारी संयन्त्र, प्रहरी, मानव अधिकारकर्मी, सञ्चारकर्मीको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।