• १० पुस २०८१, बुधबार

क्षितिज र शोभाको जोडी क्वाटरफाइनलमा

blog

मङ्गलबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, पुस ९ गते । क्षितिज खनाल र शोभा गौचनको जोडी काठमाडौँमा जारी योनेक्स सनराईल नेपाल ईन्टरनेसनल च्यालेन्ज–२०२४ अन्तर्गत मिक्स युगलको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । 

राखेप कभर्डहलमा मङ्गलबार भएको खेलमा खनाल र गौचनको जोडीले श्रीलङ्काका थुलिथ पल्लियागुरु र पान्चाली अधिकारीको जोडीलाई १८–२१, २४–२२, २४–२२ ले हराउनुभयो । क्वाटरफाइनलमा खनाल र गौचनको भेट ओलम्पियन प्रिन्स दाहाल र रसिला महर्जनको जोडीसँग हुने भएको छ । 

नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा जारी च्यालेन्जमा मङ्गलबार अन्य नेपाली खेलाडीले निराशाजनक प्रदर्शन गरेका छन् । मिक्स युगलतर्फ देव राना र शेष्ना सिर्पालीको जोडी थाइल्यान्डका नोन्ताकोर्न थोङ्ग–अन र कोडचापोर्न चाईछानाको जोडीसँग २१–९, २१–१४, भोजबहादुर गुरुङ र अन्जना राईको जोडी युएसएका प्याट्रिक ची र नाताली चीको जोडीसँग २१–११, २१–८ ले पराजित हुनुभयो । 

यस्तै अमन महर्जन र निता लम्सालको जोडी भारतका मोहित जगलान र लक्षिता जगलानको जोडीसँग २१–१०, २१–१२ तथा सुनिल जोशी र एलिना सुनारको जोडी थाइल्यान्डका अपिचासित थिराविवत र पन्नवी पोलियामको जोडीसँग २१–८, २१–६ ले पराजित हुनुभएको छ ।