• १० माघ २०८१, बिहिबार

एनपिएल सबै नेपालीको खेल भएको छ

blog

चतुरबहादुर चन्द, अध्यक्ष– नेपाल क्रिकेट सङ्घ

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भएको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण सफलताका साथ सम्पन्न भएको छ । तीन हप्ता लामो घरेलु क्रिकेट लिगले जनकपुर बोल्ट्सका रूपमा पहिलो च्याम्पियन पाइसकेको छ । एनपिएल विश्व क्रिकेटकै नजरमा रह्यो । ठुलो सङ्ख्यामा सुपरस्टार विदेशी क्रिकेटरहरूको आगमन, करोडौँको लगानी, विश्वकै अग्रणी स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण, त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका साथ नेपालमा क्रिकेटको क्रेजले गर्दा एनपिएलले व्यापक चर्चा पाएको हो । यसको श्रेय नेपाली क्रिकेटको सर्वोच्च संस्था आयोजक क्यानलाई दिनु पर्छ । एनपिएललाई भव्य बनाउन क्यानले तयारीमा कुनै कमी गरेन । एनपिएल सफल हुनुमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई पनि श्रेय जान्छ । यसै सेरोफेरोमा केन्द्रित रहेर गोरखापत्रका प्रजित शाक्यले गर्नुभएको कुराकानी : 

एनपिएल आयोजनाको सोच कहाँबाट आयो  ?

सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गराएको निर्वाचनमार्फत पहिलो पटक वैधानिक रूपमा अध्यक्ष चुनिएपछि दोस्रो बैठकमै मैले नेपाल क्रिकेट सङ्घको आफ्नै फ्रेन्चाइ लिग हुनु पर्छ भन्दै एनपिएलको आयोजना गर्ने निर्णय गरेको थिएँ । सो समय सञ्चालनमा रहेका तीन फ्रेन्चाइ क्रिकेट एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगलाई क्षेत्रीय लिगका रूपमा मान्यता दिएँ । मेरो सुरुको एजेन्डा नै एनपिल गर्ने थियो । क्यानले सोही अवधारणामै नेपाल टी–२० लिगको आयोजना गरेको थियो तर नेपाल टी–२० लिग नराम्रो सपना नै भयो । त्यसबेला केही गलत निर्णय गलत भए । कसैको खासै समर्थन पनि थिएन । सो समय माहोल नै बन्न सकेन तर त्यसलाई सिकाइका रूपमा लियौँ । अहिले मेरै कार्यकालमा गरेको निर्णय सफल भएकोे छ । 

एनपिएल सफल पार्न कस्तो तयारी गर्नुभयो  ?

एक वर्षअघि नै क्यानका सचिव पारस खड्कालाई संयोजक तोकेर अधिकार सम्पन्न तीन सदस्यीय संयोजक कमिटी बनायौँ । उहाँहरूको काममा केही हस्तक्षेप भएन । सो कमिटीले पनि निकै मेहनत गर्‍यो । उहाँहरूमा नै एनपिएलको सफलताको धेरै श्रेय जान्छ । यसबाहेक एनपिएलका लागि आइसिसीसँग समन्वय गर्‍यौँ । सरोकारवाला, विज्ञसँग छलफल गर्‍यौँ । स्ट्राटेपजक एन्ड कमर्सियल राइट्स राम्रोलाई दियौँ । जसले एनपिएलको लोकप्रियतालाई बढाउन महत्वपूर्ण भूमकिा खेल्यो । सो कम्पनीले एनपिएलको हाइट बनायो । ठुलै रकम खर्चेर विश्वको अग्रणी खेल च्यानल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण गर्‍यौँ । 

अहिले एनपिएलले ठुलो चर्चा कमाएको छ ? तपाईंलाई चाहिँ आफ्नो कार्यकालमा कुन ठुलो सफलता जस्तो लाग्छ ?

नेपालले दुई पटक विश्वकप टी–२० क्रिकेट खेल्यो । जुन राष्ट्रिय गौरवको कुरा हो । जसको तुलना हुनै सक्दैन । त्यसैले एकदिवसीय मान्यता जोगाउन, एसिया कप खेल्नु पनि अन्य ठुला उपलब्धि हुन् । एनपिएलले नेपाली घरेलु क्रिकेटलाई लोकप्रियताको शिखरमा पुर्‍याउने काम गरेको छ । त्यसैले सबैलाई मेरो कार्यकालको फरक फरक सफलताका रूपमा लिएको छु । 

नेपालको महिला क्रिकेटले विश्व क्रिकेटमा राम्रो गरिरहेको छ । महिला एनपिएलको आयोजना गर्ने योजना चाहिँ छ कि छैन ?

अहिले हाम्रो ध्यान नेपाललाई महिला विश्वकप छनोट गराउनेमा रहेको छ । जसका लागि हामी तयारीमा छौँ । महिला विश्वकप छनोटको तयारीमा क्यानले कुनै कसर बाँकी राख्दैन । त्यसपछि क्यानले महिला एनपिएलको पनि तयारी गर्छ । भविष्यमा महिला एनपिएल आयोजना गर्ने छौँ ।

एनपिएल यति धेरै सफल हुन्छ जस्तो लागेको थियो ? 

इमानदारितापूर्वक भन्नुपर्दा एनपिएल राम्रै हुन्छ भन्ने थियो तर यो समग्र नेपालीकै खेल हुन्छ भन्ने लागेको थिएन । यसका लागि म सबै सरोकारवालालाई धन्यवाद पनि दिन चाहन्छु । एनपिएल सफल हुनुमा व्यवस्थापकीय पक्ष एक कारण त छँदै छ । यसबाहेक प्रायोजकले राम्रो साथ दिए । दर्शकले आफ्नोपन देखाए । त्रिवि रङ्गशालमा प्रत्येक खेलमा दर्शक ओइरिए । स्टार स्पोर्ट्स प्रत्यक्ष प्रसारण हुँदा एनपिएल अझ व्यापक भयो । सरकार र राजनीतिक दलले पनि उत्तिकै सहजीकरण गरे । यसपालि हामी भौतिक पूवार्धारकै कारण दर्शक व्यवस्थापनमा भने केही चुक्यौँ कि जस्तो लाग्छ । 

त्रिवि रङ्गशाला स्तरोन्नति गरिएकै थियो ? त्यो अपुग भएको हो  ?

क्यानले एनपिएलका लागि त्रिवि क्रिकेट रङ्गशालाको स्तरोन्नति गरी नयाँ नै बनाएको थियो । मैदान र पिचको स्तरोन्नति गरियो । स्टार स्पोर्ट्समा प्रसारण हुने भएकाले टेलिजिभनमा एनपिएल प्राविधिक रूपमा अहिलेसम्मकै उत्कृष्ट भयो नै यसबाहेक रङ्गशालामा पनि उच्चतम प्रविधि प्रयोग गरियो । डिजिटल स्कोर बोर्डले नेपाली क्रिकेटलाई नयाँपन दियो तर पनि अझ सुविधासम्पन्न रङ्गशालाको आवश्यकता महसुस भएको छ । खासगरी त्रिवि अन्तर्राष्टिय क्रिकेट रङ्गशाला ५० हजार दर्शक क्षमताको बनाउनुपर्ने जरुरी भइसकेको छ । यसै गरी २०–२५ हजार दर्शक क्षमता भएको अन्य केही रङ्गशाला पनि आवश्यक बनेको छ । यसपालि साढे सात करोडले एनपिएल हेरेको भन्ने तथ्याङ्क आएको छ । आइसिसी पनि नेपालसँग धेरै खुसी बनेको छ । अर्को अनिवार्य आवश्यकता हो फ्लड लाइट्स । मलाई लाग्छ आगामी पाँच महिनाभित्रै त्रिवि रङ्गशालामा यो जडान हुन्छ ।

तपाईंले फ्रेन्चाइ टिमलाई सुरुका केही वर्ष घाटा र त्यसपछि मात्र लगानीको प्रतिफल आउँछ भन्नुभएको थियो नि ? 

एनपिएलमा एक अर्ब रुपियाँको कारोबार भएको छ । आठ वटा टिमले लगानी अनुसार प्रायोजक पाएका छैन । सबै टिमले छ, सात करोड खर्च गर्नुभएको छ । तीन, साढे तीन करोड रिटर्न पाउनुभयो होला । धेरै खर्च छ । यद्यपि आम्दानी हेर्ने हो भने टिकटबाट पाउने ५० प्रतिशत पनि कमै छ तर भविष्यमा राम्रो स्टेडियम बने भने टिकट बिक्रीबाटै पनि प्रतिफल दिइने छ । यसै गरी यस पटकको सफलताले टिमको ब्रान्ड भ्यालु पक्कै बढ्छ जस्तो लाग्छ ।

 एनपिएलले खेललाई व्यावसायिक बनाउन सक्छ भन्ने उदारहण बनेको छ । यस्तो गर्न के के पक्षमा ध्यान दिनुपर्ने रहेछ ?

यसका लागि पहिले खेल संस्थाको टिम नै राम्रो हुनु पर्छ । बाहिरी सहयोग र सरकारको पनि उत्तिकै साथ चाहिन्छ । मेरो अनुभवमा नेपालमा विदेशी लगानी भित्र्याउन गाह्रो छ । त्यसले खेल व्यवसायीकरणमा बाधा पारिरहेको छ । यसपालि केही टिममा विदेशी लगानी थिए तर नेपाली कानुन अनुसार विदेशी लगानी भिœयाउन कठिन भयो । खेलाडीलाई श्रम स्वीकृति पनि सहज छैन । अधिकतम चार हप्ता मात्र खेल्ने खेलाडीलाई श्रम स्वीकृतिबिना खेल्न दिने र कर मात्र लिने गर्नु पर्छ । यसो गरेमा अझ ठुला खेलाडी आउने छन् । श्रम स्वीकृतिको झन्झटले ठुला विदेशी खेलाडीलाई ल्याउन सकिनँ । यसै गरी पूर्वाधारको कुरामा पनि ध्यान दिनु पर्छ । 

राष्ट्रको विकासमै ठुलो प्रभाव पार्न सक्छ भन्ने एनपिएलले देखायो भन्दा हुन्छ ?

एनपिएलले देशको पहिचान गराएको छ । देशभरका होटेल चलायमान भए, यातायात व्यस्त बने । यसले खेल पर्यटनलाई बलियो बनाए देशकै अर्थ व्यवस्थामा ठुलो टेवा दिन्छ जस्तो लाग्छ । क्रिकेटका हस्ती ब्रायन लारा नेपालमा आएपछि नेपालका बारेमा विश्वकै चासो बढ्यो । 

एनपिएलले नेपाली क्रिकेटरलाई के फाइदा पुग्यो ?

नेपाली क्रिकेटरले ६३ लाखको कार पाए । मोटसाइकल पाए तर समग्रमा पनि एक/दुई महिना क्रिकेट खेलेर सबै क्रिकेटरले लाखभन्दामाथि कमाए । विदेशी खेलाडीसँगको सामीप्यता बढ्यो । तिनीहरूसँग अनुभव साट्न पाए । क्यानले पनि खेलाडी चिन्ने मौका पायो । राम्रो टिम बनाउने अवसर मिल्यो । एनपिएलले गर्दा विश्व क्रिकेटमै पनि नेपाली क्रिकेटले धेरै राम्रो अवसर पाउँछ जस्तो लागेको छ । एनपिएलमा विश्व क्रिकेटको नजर रहेको हुनाले अन्य देशको फ्रेन्चाइ लिगमा अब नेपाली खेलाडी अझ धेरै जाने छन् । हामी पनि लबिङ गर्ने छौँ ।