• ६ पुस २०८१, शनिबार

एनपिएलका उत्कृष्टले पाए कारदेखि आकर्षक नगद पुरस्कार

blog

कार पाएपछि त्रिवि मैदानमा कुदाउने तरखर गर्दै दीपेन्द्रसिंह ऐरी ।

काठमाडौँ, पुस ६ गते । नेपाली खेलकुदकै महत्वकांक्षी प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर बोल्ट्सलाई उपाधि सुम्पँदै सकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि जितेको हो । 

जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ पुरस्कार पाएको छ । यो पुरस्कार नेपाली खेलकुदकै सर्वाधिक ठूलो धन राशीको पुरस्कार हो । यस्तै उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त बुझायो ।

प्लेअफमा पुगेको कर्णाली याक्स तेस्रो र चितवन राइनोज चौथो भयो । कर्णालीले २५ लाख र चितवनले १५ लाख रुपियाँ पुरस्कार पायो । 

यसैगरी व्यक्तिगत पुरस्कारमा कार पाउने भाग्यमानी खेलाडी उपविजेता सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी बन्नुभयो । दीपेन्द्रले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको ईभी कार पुरस्कार पाउनुभएको हो ।

उहाँले करिब ६२ लाख रुपियाँ बराबरको कार पाएपछि त्रिवि मैदानमै कार कुदाएर सर्मथकबिच खुसी साट्नुभयो । दीपेन्द्रले प्रतियोगिताभर कूल दुई सय २७ रन बनाउनुभयो । टोलीलाई फाइनल यात्रासम्म लग्न महत्त्वपूर्ण भूमिका निभाउनुभएका ऐरीले बलिङमा नौ विकेट लिनुभएको थियो ।


यस्तै उत्कृष्ट बलर बन्दै विजेता टोलीका ललित राजवंशीले मोटर साइकल पुरस्कार हात पार्नुभयो । ललितले प्रतियोगिताभर १७ विकेट लिनुभएको थियो । एनपिएलको सर्वोत्कृष्ट  खेलाडीको पुरस्कार सुदूरपश्चिम रोयल्सका सईफ जैवले पाउनुभयो । उहाँले पाँच लाख रुपियाँ हात पार्नुभयो । 

यसैगरी कर्णाली याक्सका विपिन शर्माले ‘इमर्जिङ प्लेयर’ घोषित हुनुभयो । उहाँलाई ५० हजार रुपियाँ र एक लाख बराबरको छात्रवृत्ति प्रदान गरियो । ‘इनर्जेटिक प्लेयर अफ दि एनपिएल’ को उपाधि जनकपुरका जेम्स निसमले पाउनुभयो । उहाँलाई दुई लाख रुपियाँ प्रदान गरियो । 

सर्वाधिक चौका हान्ने खेलाडीको पुरस्कार लाहिरु मिलान्थालाई प्रदान गरियो । यस्तै एनपिएलको ‘फेयर प्ले अवार्ड’ लुम्बिनी लायन्सले प्राप्त गरेको छ। विजेता टोली र खेलाडीलाई पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । 


मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा फाइनलसम्म ३२ खेल भए । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको एनपिएलका विभिन्न शहर र प्रदेशको प्रतिनिधित्व गर्ने आठ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । जसमा काठमाडौँ गुर्खाज, विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिए ।