• ६ पुस २०८१, शनिबार

सडकमा धान दाइ गर्दा जोखिम

blog

हुलाकी राजमार्ग अन्तर्गत बमनहर सडकखण्डमा थ्रेसरले धान दाइ गर्दा किसान ।तस्बिर : सञ्जय कुमार मिश्र

सञ्जयकुमार मिश्र 

गौर,पुस ६ गते। रौतहट जिल्लाको विभिन्न सडकखण्डमा किसानले सडकमै धान मेसिनले दाइ गरेका कारण आवतजावत गर्ने सर्वसाधारण मारमा परेका छन् ।

जिल्लाको ग्रामीण भेगदेखि मुख्य सडकमा नै किसानले धानको पराल थुपारेर चाँग लगाउने तथा बिच सडकमै  ट्रयाक्टर सहितको थ्रेसर मेसिनले धान दाइ (दौनी) गर्ने गरेका कारण सो सडक भएर आवतजावत गर्ने यात्रु चरम मारमा परेका हुन् ।

गौर पिपरा, समनपुर, समनपुर गरुडा, गौर राजदेवी, कटहरिया पुल, बमनहर बंकुल सडक खण्डलगायत अन्य सडक खण्डमा किसानले धान दाइ गर्न खलिहानको अभावमा बिच सडकमै धान दाइ गर्दा धुलोले यात्रुलाई चरम मार खेप्नु परेको बाध्यता रहेको छ।

किसानले सडकमै पराल, धानको भारी थुपारेर राख्दा तथा धानको धुलो आँखामा लागेपछि अनियन्त्रित भएर सावधानी पूर्वक सवारी साधन नगुडाए कुनैपनि बेला पनि दुर्घटना भएर ठूलो मानवीय क्षति हुनसक्ने अवस्था रहेको स्थानीय भुषण झाले बताउनुभयो।

किसानले धान थ्रेसर बाटोमै लगाइदिने बाटोमै धान र पराल थुपार्ने गरेका कारण सवारी साधनलाई समस्या हुने गरेको अर्का मोटरसाइकल चालक  चंचल कुमारले बताउनुभयो।