• ८ पुस २०८१, सोमबार

‘कृषि, शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता’

blog

सिराहाको अर्नमा गाउँपालिका साबिकको महनौर, गौरीपुर र कृष्णपुर गाउँ विकास समिति समेटिएर बनेको गाउँपालिका हो । यो गाउँपालिका ३७.७६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पाँच वटा वडा रहेको यस गाउँपालिकामा २८ हजार १३७ जनसङ्ख्या रहेको छ । यस गाउँपालिकाको उत्तरमा गोलबजार नगरपालिका, पूर्वमा सुखीपुर नगरपालिका दक्षिण र पश्चिममा नरहा, विष्णुपुर गाउँपालिका र सिराहा नगरपालिका रहेको छ । २०७९ सालको निर्वाचनमा जनता समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित अशोककुमार यादवसँग गोरखापत्र लहान समाचारदाता जीवछ यादवले गर्नुभएको कुराकानी : 

स्थानीय चुनावअघि यहाँका मतदातासँग गर्नुभएको प्रतिबद्धता के कति पूरा गर्दै हुनुहुन्छ ? 

म दोस्रो पटकको प्रयासमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको हुँ । निर्वाचित भएपछि गाउँपालिकाको मतदातासँग गरेका हरेक प्रतिबद्धता पूरा गर्न प्रयासरत छु । प्राप्त बजेटलाई कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायको प्रत्याभूति दिलाउन अधिकतम प्रयास गरिरहेका छौँ । यसले हामीलाई आत्मसन्तुष्टि  पनि मिलिरहेको छ । अझै धेरै काम गर्न बाँकी नै रहेको छ । हाम्रा लागि पहिलो वर्ष सिकाइको वर्ष, दोस्रो वर्ष अनुभवको वर्ष रह्यो अब भने कहीँ कतै अलमल नगरी काम अगाडि बढाइन्छ । 

नब्बे प्रतिशतभन्दा बढी कृषक रहेका यस पालिकामा कृषकका लागि के कस्तो सहुलियत दिइरहनुभएको छ ? 

हो, यहाँ कृषकको बाहुल्य छ । कृषिलाई उन्नत र वैज्ञानिक बनाउने हाम्रो प्रतिबद्धता पनि रहेको छ । सोही अनुसार सिँचाइको अभावमा  कतै पनि जमिन खाली नराख्न सिँचाइका लागि छ सय विद्युत् मोटर निःशुल्कमा वितरण गरेका छौंँ । दुई पटक धान बाली र एक पटक गहँु, तरकारी र उखु खेतीलाई बढावा दिन प्रत्येक वर्ष डेढ करोड रुपियाँ बजेट विनियोजन गरेका छौँ । कृषि विद्युतीकरणका लागि यस वर्ष पनि डेढ करोड विनियोजन गरेका छौँ । पाँच वटै वडाका किसानको विद्युत् महसुल प्रत्येक वर्ष तीस लाख रुपियाँ गाउँपालिकाबाट तिरिरहेका छौँ । मैनावती नदीले कटान गरिरहेको कृषियोग्य जमिन जोगाउन तटबन्धका लागि पाँच करोड रुपियाँ बजेट ल्याएर काम गरिरहेका छौँ । मल र बिउमा समेत सहुलियत हुने गरी अनुदानको व्यवस्था मिलाएका छौँ । एक वडा कृषि सडकको अवधारणालाई कार्यान्वयन गर्ने गरी काम भइरहेको छ । तीन वटा डिप बोरिङ जडान गरेपछि किसानका लागि राहत महसुस भएको छ । यस पालिकामा कृषि हाटबजार चार ठाउँमा लगाउन समेत बजेट विनियोजन गरिएको छ । 

शिक्षा क्षेत्रको विकासका लागि भइरहेका कार्यक्रम के के छन् ? 

यस गाउँपालिकामा १४ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये पाँच वटा माध्यमिक विद्यालय र बाँकी आधारभूत विद्यालय छन् । प्रत्येक महिना शिक्षा शाखाले नियमित विद्यालय अनुगमन गरिरहेको छ भने प्रत्येक तीन महिनामा शिक्षा संयोजकको हिसाबले आफू पनि अनुगमनलाई निरन्तरता दिइरहेको छु । चार वटा विद्यालयमा चार कोठे भवन निर्माण सम्पन्न भएको छ । विद्यालयमा रहेको शिक्षक अभावलाई पूर्ति गर्न २४ जना स्वयंसेवक शिक्षक भर्ना गरेका छौँ । पुणेलाल मदनलाल माध्यमिक विद्यालयलाई व्यवस्थित गर्न अढाइ बिघा जमिन खरिद गरेर आठ करोड रुपियाँको लागतमा विद्यालय भवन निर्माण अगाडि बढाएका छौँ । दलित र विपन्न समुदायका बालबालिकालाई शिक्षा दिन छात्रवृत्ति कार्यक्रम ल्याएका छौँ । 

स्वास्थ्य सेवाका लागि के प्रबन्ध मिलाउनुभएको छ ? 

पाँच वटै वडाका स्वास्थ्य चौकीलाई व्यवस्थित मात्रै होइन, आवश्यक औषधीसमेत गाउँपालिकाबाट आपूर्ति भइरहेको छ । १५ शøयाको आधारभूत अस्पताल निर्माण द्रुत गतिमा चलिरहेको छ । अर्नमा महनौर र गौरीपुरमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएका छौँ । अस्पतालमा दुई जना एमबिबिएस, स्टाफ नर्स र एम्बुलेन्सको व्यवस्था गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रयास गरिरहेका छौंँ । विपन्न समुदायका गर्भवती र प्रसूति गराएकालाई पोषणतìव उपलब्ध गराउने पनि थालेका छौंँ ।

विपन्न दलित समुदायको आवासको समस्या समाधान गर्न के गरिरहनुभएको छ ? 

गाउँपालिकामा विपन्न दलितको सङ्ख्या बढी नै छ । महरा, कुसहर, खत्वे, तत्मा, पासवान र डुम समुदायको बस्ती व्यववस्थापनका लागि ३५० वटा जनता आवास कार्यव्रmम अन्तर्गत भवन निर्माण भइसकेको छ । अझै निकै सङ्ख्यामा दलित बस्तीलाई व्यवस्थित गर्न आवश्यक छ । त्यसका लागि मधेश प्रदेश र सङ्घ सरकारबाट समेत लागिपरेका छौँ । गाउँपालिकाबाट समेत बजेट थपेर बस्ती व्यवस्थितका लागि योजना बनाइरहेका छौँ । बजेटको अभावमा सोचे अनुसारको कार्य प्रगति नभए पनि प्रयास जारी राखेका छौँ । 

सेवा प्रवाहमा अपेक्षाकृत प्रगति हुन नसकिरहेको अवस्थामा के अनुभव गरिरहनुभएको छ ? 

गाउँपालिका अध्यक्ष भएपछि अभिभावकीय भूमिका निर्वाह गर्नका लागि हरेक राजनीति दलसँग समन्वय गरेर अगाडि बढिरहेको छु । सहमति, सहकार्य र एकताका लागि थालेको प्रयास सकारात्मक दिशामा गइरहेकाले खुसीसमेत लागेको छ । यहाँ अवरोध गर्ने, अनावश्यक विरोध गर्ने प्रवृत्ति निरुत्साहित भएको छ । सबैको सहयोग र साथ पाएर अगाडि बढ्दा अल्पमत बहुमत जस्ता समस्या रहेको छैन । 

न्यायिक समितिले कसरी काम गरिरहेको छ ? 

न्यायिक समितिले गरेको कार्य पनि सन्तोषजनक नै छ । यस वर्ष आएका करिब तीन दर्जन उजुरीमाथि फैसला भएको छ । न्यायिक समितिलाई प्रभावकारी रूपमा काम गर्न महिला अधिकार, मानव अधिकार र सामाजिक न्यायको विषयमा प्रशिक्षण तालिम लिए पनि कानुनी र सामाजिक विषयमा व्यावहारिक पक्षलाई समेत ध्यानमा राखेर काम भइरहेको छ । 

विभिन्न पालिकामा समयमा गाउँ सभा नहुने, बजेट फ्रिज भएर जाने जस्ता समस्या देखिन्छ । यस पालिकामा सुशासनको प्रत्याभूति हुने गरी के के काम अगाडि बढेका छन् ? 

यस पालिकामा अनियमितता र भ्रष्टाचारलाई शून्यमा झार्न प्रयासरत रहेका छौँ । सुशासनको प्रत्याभूति गरेका छौँ । माथिल्लो निकायबाट आउने निर्देशनलाई पालना गर्दै कर्मचारीको मनोबल उच्च बनाएर काम गर्न अनुकूल वातावरण सिर्जना गर्ने प्रयास गरेका छौँ । नियमले मिल्ने कार्यमा कुनै पनि ढिलासुस्ती हुँदैन । नियम र ऐन कानुनले नमिल्ने कार्य गर्नु पनि हुँदैन भन्ने विषयमा जनप्रतिनिधि र कर्मचारीका बिचमा समझदारी भएको छ । यसरी काम हुँदा विपक्षीहरूको समेत राम्रो सहयोग मिलिरहेको छ । 

 शीतलहर चल्ने समय आइसकेको छ । यस्तो अवस्थामा ज्येष्ठ नागरिकको सुरक्षाका लागि पनि कुनै योजना बनाउनुभएको छ कि ?

शीतलहरबाट जोगिन ज्येष्ठ नागरिकका लागि तीन/चार वर्षसम्म टिक्ने बाक्लो कम्बल वितरण गरिसकेका छौँ । प्रत्येक वर्ष ज्येष्ठ नागरिकलाई सम्मान र शीतलहर छल्न कम्बल वितरण गर्दै आइरहेका छौँ । यस वर्ष पनि यो कार्यक्रमले निरन्तरता पाउने छ । ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर पनि विभिन्न कार्यक्रम चलिरहेको छ ।