• ८ वैशाख २०८२, सोमबार

घोराहीको विकटबस्ती चाक्लीघाटमा सञ्चार सेवा

blog

घोराही उपमहानगरपालिका–२ चाक्लीघाटमा सञ्चालनमा आएको नेपाल टेलिकमको टावर ।

लीलाधर ओली

घोराही, पुस २ गते। घोराही उपमहानगरपालिकाको विकटबस्तीका रुपमा रहेको चाक्लीघाटमा सञ्चार सेवा विस्तार भएको छ। घोराही उपमहानगरपालिका–२ स्थित चाक्लीघाट क्षेत्रमा मोवाईल सेवा (टावर) सञ्चालनमा आएको छ।

नेपाल टेलिकम र घोराही उपमहानगरपालिकाको संयुक्त लगानीमा वडा नम्बर २ को झुलेडाँडामा टावर स्थापना गरेपछि चाक्लीघाट क्षेत्रमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा सुरु भएको भएको हो। घोराही–लमही सडक खण्डको बेलदमारदेखि उत्तर पूर्वमा पर्ने चाक्लीघाट क्षेत्रमा फोन सेवा भरपर्दो नहुँदा नागरिकले सञ्चार सेवा उपभोग गर्न निकै समस्या हुने गरेको थियो।

नेपाल टेलिकमको ५० लाख र घोराही उपमहानगरपालिकाको १५ लाख रुपियाँ लगानी गरेर झुलेडाँडामा टावर स्थापना गरेपछि सञ्चारको सहजता भएको घोराही उपमहानगरपालिका–२ चाक्लीघाटस्थानीय विरबहादुर वलीले स्थानीय सरकार घोराही उपमहानगरपालिका र नेपाल टेलिकमले फोन सेवा सञ्चालन गरेर स्थानीयलाई सहजता भएको बताउनुभयो। पहिले फोन गर्नका लागि जंगलमा अग्लो स्थानमा उक्लनु पर्ने रहेकोमा टावर सञ्चालनसँगै त्यो बाध्यता हटेको बताउनुभयो। 


कार्यक्रममा घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले भूगोलका कारण अनेक समस्या भए पनि त्यसलाई पार लगाउदै सञ्चार सेवा प्रयोगमा नागरिकहरुलाई जोड्न सफल भएको बताउनुभयो। 

चाक्लीघाटबाट झुलेडाँडामा विद्युत विस्तारका लागि घोराही उपमहानगरपालिकाले १५ लाख रुपियाँ खर्च गरेको बताउनुभयो। विकट चाक्लीघाटलाई सुगमतासँग जोडन स्थानीय सरकारले अब बाटो तथा पुललाई प्राथमिकतामा राखेको बताउनुभयो। 

नेपाल टेलिकम काठमाडौंका वरिष्ठ अधिकृत केशबराज देवकोटाले  घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीसँग समन्वय गरेर चाक्लीघाटका स्थानीयलाई सञ्चार सेवामा जोड्नका लागि केही वर्ष पहिलेदेखि नै गर्दै आएको र अहिले संयुक्त रुपमा काम सम्पन्न भएको जानकारी दिनुभयो। 

नेपाल टेलिकम राष्ट्रनिर्माणको अभियानमा रहेको चर्चा गर्दै उहाँले आफूहरुको जिम्मेवारी अनुसार स्थानीय सरकारसँग मिलेर चाक्लीघाटका जनतालाई सञ्चारको पहुँचमा जोड्न सफल भएको बताउनुभयो। 

कार्यक्रममा नेपाल टेलिकम घोराहीका प्रमुख सुरेशकुमार शर्माले चाक्लीघाटमा फोन सेवासँगै स्थानीयलाई निःशुल्क नमस्तेको प्रिपेड सिम वितरण गरिएको बताउनुभएको छ।