• १२ साउन २०८१, शनिबार

११ उपमहानगरपालिका : कहाँ कसको अग्रता ?

blog

काठमाडौं, जेठ ६ गते। वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणनासँगै मतपरिणाम घोषणा गर्नेक्रम जारी छ। कतिपय स्थानीय तहमा नव निर्वाचित जनप्रतिनिधिको गोपनीयताको शपथ ग्रहण गर्दै पदभार सम्हाल्नुभएको छ। देशैभरमा ११ उपमहानगरपालिकामध्ये  प्रमुखमा गठबन्धनका तर्फबाट मधेस प्रदेशको जीतपुर सिमरा र लुम्बिनी प्रदेशको नेपालगञ्ज गरी दुई उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भइसकेको छ। 

नेकपा (एमाले) ले घोराही उपमहानगरमा जीत हासिल गरेको छ। निर्वाचन आयोगको शुक्रबार दिउँसो ५ बजेसम्मको मतपरिणाम अनुसार इटहरी, हेटौंडा, बुटवल र तुल्सीपुर गरेर चार उपमहानगर प्रमुखमा गठबन्धनको अग्रता छ। धरान, जनकपुरधाम र धनगढी गरी तीन उपमहानगरमा स्वतन्त्र उम्मेदवारले राजनीतिक दललाई चुनौती दिएका छन्। 

प्रदेश १ : इटहरीमा कांग्रेस र धरानमा स्वतन्त्र उम्मेदवारको अग्रता

सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन भएको छ। प्रमुखमा कांग्रेसका हेम कर्ण पौडेल २० हजार ५६ मतसहित अग्र स्थानमा हुनुहुन्छ। उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का यामकुमार चुङ्गवाङ सुब्बाको मत १७ हजार १९२ रहेको छ। 

उपमहानगरको उपप्रमुखमा एमालेकी संगीता कुमारी चौधरीले १९ हजार ५९० मतसहित अग्रता लिनुभएको छ। गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का केशव कुमार विष्टले ११ हजार ४५९ मत ल्याउनुभएको छ। 

यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार सोही प्रदेश अन्तर्गतको धरान उपमहानगरपालिका प्रमुखमा निर्वाचन चिह्न “लौरो” भएका हर्कराज राई ९ हजार ६८३ मतसहित अग्रस्थानमा हुनुहुन्छ। कांग्रेसका किशोर राईले आठ हजार ९६३ र एमालेका मञ्जु भण्डारी सुवेदीले सात हजार ५१६ मत ल्याउनुभएको छ। 

उपप्रमुखमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा १० हजार २१० मतसहित पहिलो स्थानमा हुनुहुन्छ। एमालेका पदमप्रसाद लिम्बुको मत नौ हजार ९७५, निर्वाचन चिह्न “लौरो” का स्वतन्त्र उम्मेदवार दत्तकुमार लिम्बुको मत एक हजार ६८४ रहेको छ। 

मधेस प्रदेश: जीतपुर सिमरामा माओवादी विजयी

बाराको जीतपुर सिमरा उपमहानगरपालिका प्रमुखमा माओवादी केन्द्रका राजन पौडेल १८ हजार ७४३ मतसहित विजयी हुनुभएको छ। पौडेलका निकटतम प्रतिद्वन्द्वी एमालेका सरस्वतीदेवी चौधरीले १७ हजार ७७९ मत ल्याउनुभयो। लोसपाका सञ्जयकुमार साहले भने पाँच हजार ३८२ मत ल्याउनुभएको छ। 

जीतपुर सिमराको उपप्रमुखमा एमालेका भोलाप्रसाद अधिकारी १७ हजार ४९२ मतसहित विजयी हुनुभयो। उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मेघा शाहीले १५ हजार ८४२ प्राप्त गर्नुभयो।

कलैयामा एमालेको अग्रता  

बाराको कलैया उपमहानगरपालिका प्रमुखमा एमालेका विनोदप्रसाद साह १८ हजार ५८६ मतसहित पहिलो र कांग्रेसका राजेशराय यादव १३ हजार ४३७ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ। सो उपमहानगर उपप्रमुखमा एमालेका रौशन परविनको १४ हजार ८४१, जसपाको प्रमोदप्रसाद गुप्ताको १४ हजार ७३३ मत रहेको छ।

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता

यसैगरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा निर्वाचन चिह्न “घण्टाघर” भएका स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सात हजार २६९ मतसहित पहिलो स्थानमा हुनुहुन्छ। उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका शिवशंकर साहले पाँच हजार ३१ मत ल्याउनुभयो। लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले २ हजार ७६५, जसपाका लालकिशोर साहले एक हजार ९५० र निर्वाचन चिह्न “आँप” रहेका स्वतन्त्र उम्मेदवार बलराम महतोले दुई हजार २९८ मत ल्याउनुभएको छ। 

यसैगरी, उपप्रमुखमा कांग्रेसका किशोरी साह आठ हजार ५०८ मतसहित पहिलो, एमालेकी रुणा देवी झा पाँच हजार ७६० मतसहित दोस्रो र लोसपाकी रिताकुमारी मिश्र दुई हजार ७५८ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। 

बागमती प्रदेश: गठबन्धनको अग्रता

मकवानपुरको हेटौंडा उपमहानगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मीनाकुमारी लामा १६ हजार ४०० मतसहित अग्रस्थानमा हुनुहुन्छ। एमालेका अनन्तप्रसाद पौडेलको १६ हजार १७२ र राप्रपाका दीपकबहादुर सिंहको १५ हजार ३५० मत रहेको छ। 

उपप्रमुखमा कांग्रेसका राजेश बानियाँ २४ हजार ९९२ मतसहित पहिलो, एमालेकी सुमित्रा काफ्ले १८ हजार ४६९ मतसहित दोस्रो, राप्रपाकी इन्दिरा न्यौपानेको तीन हजार ८०६ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।

लुम्बिनी प्रदेश: बुटवल र तुल्सीपुरमा कांग्रेसको अग्रता

बुटवल उपमहानगरपालिकामा कांग्रेसका खेलराज पाण्डे २३ हजार ४७५ मतसहित अग्र स्थानमा हुनुहुन्छ। एमालेका बाबुराम भट्टराई १७ हजार ५२ मतसहित दोस्रो र राप्रपाका मृगेन्द्रकुमार शेरचन तीन हजार ५५७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।

उपप्रमुखमा एमालेका सावित्रादेवी अर्याल १८ हजार ९०९ मतसहित पहिलो, एकीकृत समाजवादीका चीनबहादुर गुरुङका १३ हजार ४५५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ। राप्रपाकी भगवती पाण्डेले हालसम्म पाँच हजार २८४ मत ल्याउनुभएको छ।

तुल्सीपुर उपमहानगरपालिका प्रमुखमा कांग्रेसका गेहेन्द्र गिरीको अग्रता छ। उहाँको पाँच हजार ७२५ मत रहेको छ। एमालेका टीकाराम खड्काको पाँच हजार ९० र जसपाका टोपबहादुर महतराको ७४ मत रहेको छ।

उपप्रमुखमा एमालेका स्यानी चौधरी चार हजार ७४१ मतसहित पहिलो हुनुहुन्छ। एकीकृत समाजवादीका जोगबहादुर राना मगरको मत चार हजार ३९३ रहेको छ। 

घोराहीमा एमाले, नेपालगञ्जमा कांग्रेस विजयी

घोराही उपमहानगरपालिका प्रमुखमा एमालेका नरुलाल चौधरी ३१ हजार ७२८ मतसहित विजयी हुनुभयो। चौधरीका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले २६ हजार ३६८ मत ल्याउनुभयो। एकीकृत समाजवादीका रामप्रसाद चौधरीले एक हजार १४३ मत प्राप्त गर्नुभयो।

उपमहानगरको उपप्रमुखमा हुमाकुमारी डीसी ३० हजार ४०३ मतसहित विजयी हुनुभयो। कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीको ३० हजार ३५४, राप्रपाका विभु बुढाथोकीले तीन हजार ५२१, नेकपा एसकी शोभाकुमारी शाह एक हजार १५८ मत ल्याउनुभयो।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुखमा कांग्रेसका प्रशान्त विष्ट २३ हजार ४६० मतसहित विजयी हुनुभयो। उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका पशुपति दयाल मिश्र ११ हजार ६८५ मतले पराजित हुनुभयो।  

उपप्रमुखमा जसपाका कमरुद्दीन राई १७ हजार ९५० मतसहित विजयी हुनुभयो। उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तिदेवी ढकालले दश हजार ९१५ मत ल्याउनुभयो। राप्रपाका बिन्दु चर्ति मगरले दश हजार १३५ र लोसपाका ममता बानियाँले ६२२ मत प्राप्त गर्नुभयो।  

सुदूरपश्चिम  प्रदेश : स्वतन्त्र उम्मेदवारको अग्रता

धनगढी उपमहानगरपालिका प्रमुखमा निर्वाचन चिन्ह “आँप” रहेका स्वतन्त्र उम्मेदवार गोपाल हमाल एक हजार ९६४ मतसहित पहिलो स्थानमा हुनुहुन्छ। कांग्रेसका नृपबहादुर वडको एक हजार १६० मतसहित दोस्रो, एमालेका रणबहादुर चन्द २०६ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। 

सो उपमहानगर उपप्रमुखमा माओवादी केन्द्रका शान्तिकुमारी अधिकारी क्षेत्रीको ९८४ मतसहित पहिलो, आँप निर्वाचन चिह्न भएका स्वतन्त्र प्रभाकर भण्डारी ६६८ मतसहित दोस्रो, एमालेका कन्दकला कुमारी रानाको ५४५ मतसहित तेस्रो र राप्रपाका दुर्गा दत्त पन्त  २२२ मतसहित चौथो स्थानमा हुनुहुन्छ। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।