गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २६ गते । अर्जुन सुवेदीले नयाँ चलचित्र ‘सोल्टिनी’ बनाउने घोषणा गर्नुभएको छ । परिचयात्मक भिडियोमार्फत चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो । घोषणा भिडियोमा साइग्रेस पोखरेलको मार्मिक कथावाचनले चलचित्रको भाव व्यक्त गरेको छ । वाचनमा उहाँले भन्नुभयो, “मानिसबाट मानिसलाई हुने छि छि दुर दुर, अमानवीय र जातीय भेदभाव मेटाउन कसैले त कलम अगाडि बढाउनै पर्छ, कि त पैताला जलाउनै पर्छ ।” चलचित्रले समाजमा विद्यमान अमानवीय र जातीय भेदभावलाई उजागर गर्दै यसविरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने सङ्केत गरेको छ ।
चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बूलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ । अभिनेता सपुतले ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्दै भन्नुभएको छ, “सोल्टिनी आयौ, अन्तिम पटक भेट्ने मौका दियौ । तिम्रो अनुहार हेर्न नपाई डोली चढ्छौ जस्तो लागेको थियो ।” चलचित्र पुस १५ गते बाट छायाङ्कन गर्ने निर्माण पक्षले जनाएको छ । हाल चलचित्रका कलाकार र प्राविधिक टोलीको कार्यशाला चलिरहेको छ ।