• ११ माघ २०८१, शुक्रबार

सामुदायिक वन उद्यमशील बन्दा उपभोक्तालाई लाभ

blog

नवलपुर, मङ्सिर २६ गते । नवलपुरका सामुदायिक वनहरू उद्यमशील बन्दा त्यसका उपभोक्ताले आर्थिक लाभ लिन थालेका छन् । सामुदायिक वनहरूले हस्तकला, जडीबुटी, दुनाटपरी, जैविक मललगायतका सामग्री उत्पादन गर्न थालेपछि उपभोक्ताले लाभ लिन पाएका हुन् । यहाँ रहेका १२ वटा सामुदायिक वनले उद्यम थालेको सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घका सचिव सुशील पौडेलले जानकारी दिनुभयो । प्रवर्धन गर्न नसक्दा व्यक्तिले गरेको जसरी समूहले गरेको काम फस्टाउन नसकेको र बजार र मूल्य पाउन पनि समस्या भएको उहाँको भनाइ छ । सामुदायिक वनसँग जोडिएका धेरै व्यक्तिले लाभ लिन पाएको पौडेलले बताउनुभयो । 

विनयी त्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वन उपभोक्ता समूहका सचिव चन्द्रा मल्लले जङ्गलको अनावश्यक झाडी सङ्कलन गरेर जैविक मल उत्पादन गरिएको बताउनुभयो । यसरी झाडी सङ्कलन गर्ने काममा ६०/६५ जनाभन्दा बढी महिला संलग्न भई आर्थिक लाभ लिएको उहाँले बताउनुभयो । “दिनभर घरमा मोबाइल चलाएर दिन बिताउने दिदीबहिनी हामीसँग मिलेर काम गरी आर्थिक लाभ लिइरहनुभएको छ,” सचिव मल्लले भन्नुभयो, “उहाँहरूले जङ्गलमा गएर झाडी सङ्कलन गर्नुहुन्छ । हामी जङ्गलमै गएर एक किलो झाडी दुई रुपियाँमा किन्छौँ ।” उहाँका अनुसार एक जनाले एक दिनमा चार क्विन्टलसम्म सङ्कलन गरी दैनिक न्यूनतम आठ सय रुपियाँसम्म कमाइ गर्छन् । यसरी सङ्कलन गरिएको झाडीलाई छाँटी काटिन्छ, त्यसलाई एक महिनासम्म प्लास्टिकले छोपेर राखिन्छ, त्यसलाई पत्र पत्र बनाइन्छ र ९० दिनमा जैविक मल तयार हुन्छ । यसरी तयार भएको मललाई आफ्नो पालिकाभित्र प्रतिकिलो २० रुपियाँ र पालिकाबाहिरका ग्राहकलाई प्रतिकिलो २५ रुपियाँमा बिक्री गरिन्छ ।

गैँडाकोट नगरपालिकाको सुन्दरी सामुदायिक वन उपभोक्ता समूहले वनमा रहेका हर्रो, बर्रो र अमलाको उद्यम सञ्चालन गरेको छ । यी जडीबुटीलाई प्रशोधन गरी औषधीका रूपमा बेच्ने र यसले कब्जियत र ग्यास्ट्रिकको समस्या हल गर्ने उक्त वनकी सचिव प्रीति नेपालीले बताउनुभयो । 

“दैनिक आठ सय ज्याला पाउने गरी स्थानीय उपभोक्ताले वनमा गएर हर्रो, बर्रो र अमला टिपेर ल्याउनुहुन्छ, त्यसलाई प्रशोधन गरी औषधी बनाइन्छ र कावासोती, गैँडाकोट, नारायणगढलगायतका बजारमा बिक्री गरिन्छ,” सचिव नेपालीले भन्नुभयो । यो वनमा दुई हजार छ सय उपभोक्ता छन् ।

देवचुली नगरपालिकाको नमुना महिला सामुदायिक वनले दुई वटा समूह बनाएर थाकल र कुचोका सामग्री उत्पादन गरिरहेको छ । थाकलबाट झोला, टोपी, टेबल म्याट, फूलदानीलगायतका सामग्री बनाएर बेच्ने काम गएिको थाकल समूहकी अध्यक्ष कोपिला रायमाझीले बताउनुभयो । सामुदायिक वनमा लागेर महिलामा नेतृत्व विकास हुनु अर्को महत्वपूर्ण उपलब्धि भएको रायमाझीको भनाइ छ । यी उद्योगमध्ये जिल्लामा सबैभन्दा फस्टाएको छ दुनाटपरी उद्योग । गैँडाकोटको शङ्खादेवी सामुदायिक वनले महिला दुनाटपरी उद्योग सञ्चालन गरेको छ । पात टिप्न, लाफा बनाउन महिलाले काम पाएका छन् र आर्थिक लाभ पनि । संस्थाकी सचिव सायम सारूमगरले विवाह, व्रतबन्ध, काजकिरियालगायतका सामाजिक काम गर्दा दुनाटपरीको अधिक माग हुने गरेको र आवश्यकता अनुसार पूर्ति गरिएको बताउनुभयो । 

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।