• ११ पुस २०८१, बिहिबार

काबेली खोलामा बेपत्ता बुढाथोकीको शव फेला

blog

ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित काबेली खोलामा नुहाउने क्रममा बेपत्ता हुनुभएको राजेन्द्र बुढाथोकिको शव निकाल्दै सशस्त्र प्रहरी । तस्बिर : सशस्त्र प्रहरी

ताप्लेजुङ, मङ्सिर २५ गते । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा बेपत्ता हुनुभएका राजेन्द्र बुढाथोकीको शव फेला परेको छ ।

सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापा काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता बुढाथोकीको शव सशस्त्र प्रहरीको गोताखोरले घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराइबाट निकालेको जानकारी दिनुभयो ।

सोही गाउँपालिकाको पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी यही मङ्सिर १९ गते नुहाउने क्रममा बेपत्ता हुनुभएको थियो । उहाँको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मङ्गलबार फेला पारेको हो ।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षा फौज मङ्सिर १९ गते नै उहाँको खोजीकार्यमा निरन्तर खटिएको थियो ।